
१. आभास
अघि-अघि हिडौं भन्दा
पछाडि नै छुट्ने रै’छ पदचाप !
धर्ती नै होस् अङ्गालोमा
किन म छोऊँ आकाश ?
मलाई कुल्चेर दौडिनुपर्ने
तिमीलाई कस्तो हतार पर्यो ?
लडेको कथा, बसेर सुन्न मजा आउँछ
पर्ख, उठ्न देऊ मलाई !
कयौं रात पर्खेर पनि
हातमा कहिल्यै खस्ने होइन तारा
अङ्गालो के फिँजाउनु ?
आखिर अट्दैन संसार सारा ।
मेरो खुसी मै हुँ !
मै हुँ मेरो सहारा
एकपल्ट आफैँलाई भेट्न चाहन्छु
कतै पुग्नु छैन टाढा ।
मनले हाँस्छु भन्छ, उमेरले भन्छ नहाँस्
कसैको कुरा नसुन्ने मलाई,
यो दुनियाँले भनिदिन्छ– बदमास
यस्तै रै’छ यो जिन्दगी खास !
२. बुकि फूल
खस्यो होला
मैले सिउरिदिएको बुकि फूल
तिमी खस्दै खसेनौ
मेरो यो हृदयबाट !
बतासले उठाएको
त्यो तलाउको कम्पन
त्यही कम्पनबीच पनि,
धर्मर-धर्मर धर्मराउँदै थियो-
हाम्रो माया !
बसेन होला हाम्रो प्रिति
ढुङ्गामा लेऊ बसे जस्तरी
तर पनि त्यो जूनेली रात
खस्दै गरेको चिसो शीत
गाँठो परेका हाम्रा न्यानो हात
यो मनले सम्झिरहन्छ कस्तरी !
डुबुल्की मार्दा गहिराइसम्म
तिम्रो सासले जति सहन सक्छ
हो, त्यहाँबाट मेरो प्रीत सुरु हुन्छ
बाँच्दै जाँदा जिन्दगीको अर्थ जहाँ गाँठो पर्छ
हो, त्यहीँबाट मेरो साथ सुरु हुन्छ
तिमीले भूगोलको सबैभन्दा उच्चाइमा टेकेको बेला
तिमीले समुद्रको सबैभन्दा गहिराइ भेटेको बेला
तिमी भूगोलको अन्तिम विन्दुमा पुगेको बेला
म भने,
हामी छुट्टिएको त्यही ठाउँमा पर्खिरहेको हुनेछु ।

३. एक्लो
तिमीलाई थाहा छ ?
आज पनि झरी एक्लै पर्छ— हाम्रा यादहरू सँगै भिज्छन्
तिमी र म हिँड्ने गोरेटो बदलिए होलान्
तर हाम्रा यादहरू— आज पनि त्यही गोरेटो भएर भेटिन्छन् ।
तिमीलाई थाहा छ ?
त्यो क्याफेको कुनामा अझै पनि
हाम्रा यादहरू भेटिएर कफि चिसो भइन्जेल
एक-अर्कालाई हेरेर टोलाइरहन्छन् ।
आज पनि तिम्रो याद मेरो यादको अगाडि बसेर
उसरी नै चुपचाप आँसु खसाल्छ
आज पनि त्यहाँ पुगेको बेला फर्किएर हेर्यौ भने-
त्यो सिनेमा हलको कुनामा बसेर
मेरा यादको दाहिने हातले
तिम्रो यादको देब्रे गाला चिमोटिरहेको हुने छ ।
दिन उदास ढले पनि
हाम्रा यादहरूको संवादले साँझ रमाउँछ
तिमीलाई त थाहै छैन
अझै पनि सुनसान रात तिम्रो यादको हाँसोले ब्युँझिरहन्छ।
मेरो यादले तिम्रो यादलाई हँसाइरहन
अझै पनि दुनियाँ बिर्सेर चुट्किला रचिरहन्छ
‘आउँदिनँ’ भनेर तिम्रो यादले घुर्कि गरेकै दिन
सधैँ भेटिने चोकमा
मेरो यादभन्दा पहिल्यै पुगेर तिम्रो यादले पर्खिरहन्छ
बस चढेर बिदा भएपछि-
पर…पुग्दासम्म पनि मेरो यादले फर्किएर तिम्रो यादलाई नहेरेपछि
झ्यालबाहिर हेरेर आज पनि तिम्रो यादले आँसु खसालिरहन्छ
तर तिम्रा यादलाई थाहै छैन-
अक्सर आँसु लुकाउनेहरू फर्किएर हेर्दैनन् ।
केहि कदम पछाडि फर्किएर हेर त !
हरेक उकाली-ओराली, देउरालीभरि हाम्रा यादहरू
हात समाएर ओहोरदोहोर गरिरहेका हुनेछन्
बतास चल्दा, झरी पर्दा, हाम्रा यादहरू सँगै हुन्छन्
मध्यरातको सुनसानमा पनि हाम्रा यादहरू सँगै हाँस्छन्—सँगै रून्छन्
के अझै पनि तिमीलाई,
तिमी र म अलग भयौं भन्ने लाग्छ ?
०००
(पेन्टिङ : चिराग बाङ्देलबाट साभार)



