
बेलायत बसेर तीन दशकदेखि कविता, कथा, निबन्ध लेखनमा परिचय बनाएका लेखक केदार सङ्केतको कथासंग्रह ‘अन्तिम साँझ’ प्रकाशित भएको छ । मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको संयोजनमा ललितपुरमा भएको कार्यक्रममा लेखक श्रीओम श्रेष्ठ ‘रोदन’, प्रगति राई, सन्तोष श्रेष्ठ लगायतले अन्तिम साँझ पुस्तक लोकार्पण गरे । लेखक सङ्केत भने युकेबाटै अनलाइनमार्फत कार्यक्रममा जोडिएका थिए ।
लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ले पुरस्कार, प्रतियोगिता र प्रचारका भरमा स्थापित हुने चाहना राख्ने सर्जकहरूको भिडमा केदार संकेत फरक देखिएको बताए । प्रयोगवादी शैली, विषयवस्तुको विविधता र कथानकको गम्भीरताले गर्दा राम्रो कृतिले समयसँगै आफैं मूल्यांकन पाउँदै चर्चा प्राप्त गर्ने रोदनले बताए । कृतिमाथि समीक्षा गर्दै साहित्यकार प्रगति राईले केदार संकेतका कथाहरू फरक धारमा आएको उल्लेख गर्दै यथार्थवाद र प्रयोगवादलाई प्रश्रय दिएको उल्लेख गरिन् ।
संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठले ‘सन्तान जन्मिनु र कृति जन्मिनु उस्तै भएको बताउँदै आकर्षक कलेवर र साजसज्जामा आएको पुस्तकमा मूर्धन्य साहित्यकारको भूमिका रहनुले कृतिको स्तरीयता पुष्टि हुने’ बताए । उनले केदार संकेतका कलात्मक प्रस्तुति र कथाहरू नेपाली साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान हुने विश्वास राखे ।
एक दर्जन पुस्तकका लेखक सङ्केतको ‘एथेन्सको झरी’, ‘अफगानी रणमैदान’, ‘अफिम फुल्ने देश’मा लगायत पुस्तक चर्चित छन् । उनी बेलायतमा हरेक वर्ष हुने काव्य—सन्ध्या नामक कविता वाचन कार्यक्रमको संयोजकसमेत हुन् । कथासङ्ग्रह अन्तिम साँझलाई युकेमा Nepal Craft And Book, www.nepalcraftandbook ले बिक्रि गरिरहेको छ ।



