
युकेमा हुँदै आएको लोकप्रिय सांस्कृतिक कार्यक्रम ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण, २०२६ अगस्ट १६ गते आइतबार लन्डन प्लम्स्टिडमा हुने भएको छ । यो कार्यक्रमको सुरुवात केही वर्षअघि साना बालबालिका तथा युवापुस्तामा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने तथा विदेशमा नेपाली भाषा संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले गरिएको हो ।
कार्यक्रममा नेपालबाहेक विश्वका विभिन्न देशबाट सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । बाल प्रतिभा नक्षत्र (बालबालिका) र युथ प्रतिभा नक्षत्र (युवा) गरेर दुई समूहमा प्रतिस्पर्धा गराइनेछ । दुवै समूहका सहभागीहरूले आफ्नै मौलिक सांस्कृतिक वा परम्परागत पोसाकमा कुनै पनि प्रकारको प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । अर्थात् नृत्य, गायन, चित्रकला, अभिनय वा कुनै पनि कला प्रस्तुत गर्न सक्नेछन् ।
सहभागीहरूले प्रतिभा नक्षत्रको आधिकारिक वेबसाइट वा फेसबुक पेजमार्फत् अनलाइन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । अथवा फोनबाट पनि बालबालिकाको नाम दर्ता गर्न सकिनेछ ।
बाल विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ४०० र ३०० पाउन्ड प्राप्त गर्नेछन् भने युथ विधातर्फ ७००, ६०० र ५०० पाउन्ड प्रदान गरिनेछ । यसका साथै सबै विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा उपहार सामग्रीसमेत प्रदान गरिने छ ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा ‘प्रतिभा नक्षत्र सांस्कृतिक गाउँ’ निर्माण गरिने आयोजक राजेन्द्र खस बताउँछन् । खसका अनुसार विभिन्न समुदायहरूले आफ्ना परम्परागत पहिरनसहित सांस्कृतिक पहिचान प्रस्तुत गर्न सक्नेछन् । सांस्कृतिक गाउँभित्र साहित्य घर (किताब जात्रा), भान्सा घर, कला तथा हस्तकला घर, स्वास्थ्य तथा वातावरण घर र बिक्री तथा प्रवर्द्धन घरजस्ता विभिन्न संरचनाहरू रहनेछन् ।
‘साहित्य घर’मा पुस्तक प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतिहरू राखिनेछ भने ‘भान्सा घर’मार्फत परम्परागत खानाका परिकार तयार पारेर बिक्री गरिनेछ । त्यस्तै, हस्तकला घरमा प्रदर्शनी, बिक्री तथा प्रत्यक्ष सिर्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन् ।
आयोजकका तर्फबाट युकेभरिका सबै नेपालीलाई प्रतिभा नक्षत्रमा आएर सहभागी हुन तथा आफ्ना बालकालिकालाई सहभागी गराई नेपालका सबै जात, भाषा र संस्कृतिको प्रवर्धन गर्न अपिल गरिएको छ ।



