विचार/ब्लग

मदन राजमार्गको घुम्तीमा भेटिएका कमरेडहरू

191views

अघिल्लो महिना मात्रै निधन भएका प्रख्यात भारतीय गजलकार बसिर बद्रको एक कालजयी चोटिलो शेरले यसो भन्छ–

मुसाफिर हैं हम भी, मुसाफिर हो तुम भी
किसी मोड़ पर फिर मुलाकात होगी

विगत केही वर्षयता पानी बाराबारको अवस्थामा रहेका नेपालका कम्युनिस्ट पार्टीका नेताहरू यही गजलले भनेझैँ एउटै मोडमा ठोकिन आइपुगेका छन् । र यो डरलाग्दो मोड मदन भण्डारी राजमार्गमा पर्छ ।

आइतबार एकै मञ्चमा कुम जोडेर बस्दा नेताहरूबीच बोलचाल त खुल्यो तर अनुहार रंगविहीन देखिन्थ्यो । हिजो एकले अर्काको नाम लिँदा ‘मुख कुल्ला गर्छु’ भन्ने तहमा पुगिसकेका उनीहरू हस्तमिलन गर्ने अवस्थामा पुगे । संवादहीनताको अवस्थाबाट एउटै कार्यक्रममा शिर्ष नेतृत्व अकस्मात् भेला भएको देख्दा हलमा बसेका कार्यकर्तामा कतै हर्ष त कतै तीव्र अलमल भइरहेजस्तो देखिन्थ्यो ।

जननेता मदन भण्डारीको ७५ औं जन्म–जयन्तीको अवसरमा काठमाडौंको सभागृहमा आयोजित एक समारोहले यो अवसर जुराइदिएको हो । पूर्व राष्ट्रपति एंव मदन–पत्नी विध्यादेवी भण्डारीको प्रमुख आतिथि रहेको सभामा चार पूर्व प्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनाललगायत मन्चमा एकै लहरमा आसिन थिए ।

पछिल्लो बदलिएको राजनीतिक परिवेशले गर्दा टुटफुटमा अल्मलिएका बामपन्थी दललाई समयले ठूलो चुनौती र सबक दिएकै छ । त्यही भएर होला सबै नेताहरूको सम्बोधनमा ‘एकता’ र ‘सहकार्य’ जस्ता शब्दको एकोहोरो रटान लागिरहेकै थियो । कोही आजै एकता गरौं भनिरहेका थिए त कोही साझा मुद्दामा सहकार्यको सुरुवात तत्कालै गरौं भनिरहेका थिए । रमाइलो त के भने, कार्यक्रमका सबैजसो वक्ताहरू मदनलाई सम्झिने भन्दा आ–आफ्ना पुरानै कुरालाई सही सावित गर्न जोडजोडले कराइरहेका थिए ।

तत्कालै एकता र सहकार्यको लागि प्रचण्ड बढी नै तयार देखिन्थे । सम्बोधनका क्रममा उनले मदन भण्डारीको विचारलाई मनैबाट सम्मान गर्ने हो भने मदनकै जसरी गतिशील सोच राख्नुपर्छ भन्नेमा जोड दिए । एकता र सहकार्य गर्न ढिला भए गम्भीर क्षति भोग्न तयार रहनुस् भन्दै आफ्नै पुरानो शैलीमा प्रचण्ड कुर्लिरहेको देख्दा कार्यकर्तामा केही उत्साह सञ्चार भएको भान हुन्थ्यो । अलि बढि एकता र एकिकरणका पक्षमा देखिएका प्रचण्ड घुमाउरो तरिकाले अन्य नेतालाई एकताका लागि दबाब सृजना गरिरहे झैं देखिन्थ्यो ।

त्यसो त आफू सत्तामा कमजोर हुनेबित्तिकै ‘देश गम्भीर दुर्घटनामा जाने खतरा बढ्यो’ भन्ने पर्मानेन्ट भनाइ प्रचण्डबाट यो कार्यक्रममा पनि दोहोरियो । उनले आफू गतिशील रहेको र निरन्तरतामा क्रम भङ्गता गरेकै कारण आज जनयुद्ध देखि शान्तिप्रकृया हुँदै संविधान जारी भएको हो भनिरहेका थिए ।

तर उनको पालोभन्दा अगाडि भाषण गर्न पुगेका माधव नेपाल भने प्रचण्डको भनाई विपरित ‘पार्टी एकता अहिल्यै हुन्छ, आजै हुन्छ भनेर हतार गर्न नसकिने’ कुरामा अडिग देखिन्थे । सो कुराको प्रष्ट संकेत उनले आफ्नो सम्बोधनका क्रममा व्यक्त विचारले गरिरहेको थियो । आफ्ना स्वार्थका लागि जतिखेर जे पनि गरिहाल्न सक्ने पात्रहरू प्रचण्ड र ओली मिलि हाल्छन् कि भन्ने अनौठो त्रास नेता नेपालको सम्वोधनमा देखिन्थ्यो ।

आ–आफ्नो पार्टीमा पुर्नगठन र रुपान्तरणको चर्चा चलिरहेकै बिचमा एकाएक फेरि बाम एकतााको कुराले शिर्ष नेताहरु एकआपसमा सशंकीत देखिन्थे । उता आफ्नो मन्तव्यका क्रममा केपी ओली बेग्लै सुनिए । एमालेको दृष्टिकोण र बिचारको मामिलामा कुनै दुविधा नभएको र यसैको आधारमा सबै गोलबन्द भएर अघि बढ्नुपर्ने उनको जिकिर थियो । एकता र एकिकरणका नाममा आफ्ना बिचारको बिषयमा छलफल र बहस गर्न एमाले तयार छैन भन्दै उनी कड्किए । तुलनात्मक रुपमा अरु बक्ता भन्दा अधिकांस समय उनले सरकारको कार्यशैली र प्रधानमन्त्री बालेनको संसदबाट व्यक्त भएको पछिल्लो अभिव्यक्ति को आलोचनामा समय खर्चिएका थिए ।

आफू र आफ्नो सरकारको विद्ध जनता र युवाहरुमा भ्रम पैदा गरि बदनाम गराएर पछिल्लो निर्वाचन लाई प्रभावित गरिएको उनको दावी थियो । आफूहरूले कहीँ–कतै केही राष्ट्रहीत विपरित कुनै काम नगरेको तर एल्गोरिदमको साहारा लिएर आफुहरु बिरुद्ध भ्रम छरि बदनाम गरिएको दुखेसो पोखे । देश विकासमा आफू र पार्टीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै ओलीले देश समाजबादको यात्रामा जाने हो भने एमालेको नीति ‘समृद्ध नेपाल सुखी नेपाली’ को आधारमा अघि बढ्नु पर्ने बताए ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा अन्तयमा सम्बोधन गर्दै पुर्वराष्ट्रपति बिध्यादेवी भण्डारीले पछिल्लो समय जनचाहना अनुरुप नेता नेतृत्व र संगठनमा सृजनशिल परिवर्तन अपरिहार्य रहेको सान्दर्भिकता ‍औल्याइन् । जनतामा आएको वदलावलाई बुझ्न नसक्दा कम्युनिस्ट पार्टीलाई पछिल्लो समय जनताले कम रुचाउन थालेको कुरालाई नजरअन्दाज गर्नु नहुने उनले बताइन् ।

चुनाव मार्फत् भर्खरै आएको जनादेशकै आधारमा कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको र कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाली हाल्न हतार हुनेमा उनले जोड दिइन् । अन्य वक्ताहरूभन्दा भण्डारीको फरक सन्तुलित तरिकाको प्रस्तुतिमा उपस्थित नेता कार्यकर्ता सन्तुष्ट देखिन्थे ।

बालेन नेतृत्वको सरकारको पछिल्ला काम कारवाहीबाट असन्तुष्ट कम्युनिस्ट नेता र नेतृत्व एकाएक एकता र सहकार्यको रटान लिएर जमघट हुन थालेपछि अहिले नेपालको राजनितिक वृतमा तरङ्ग पैदा भएको सजिलै अनुमान लगाउन सकिन्छ । विशेष गरी नेपालका कम्युनिस्टहरू आफ्नै कारणले एकीकृत वा विभाजित हुन सक्दैनन् भन्ने स्थापित भाष्यलाई चरितार्थ गर्न होस् वा भित्रैबाट सद्धबुद्धि पलाएर किन नहोस्, गएको चुनावपछि शिथिल देखिएका कम्युनिस्ट पार्टीहरु एकाएक चलायमान देखिँदै गएका छन् ।

नेताका कुरा त उही नै हो । ‍औलामा गन्न सकिने केही हजार श्रमजीवि कार्यकर्ता जसले कम्युनिष्ट पार्टीमा जीवन समर्पित गरे तिनलाई केही राहत मिलेको छ । नेता जति नै बिग्रे पनि अझै समाजवाद र जनवादको सपना यिनमा जीवित छ ।

आफ्नो पार्टीको धुलोबाट उठिरहँदा यी सच्चा जोदाहा कार्यकताहरू जेठको उखरमाउलो गर्मी सानो अमलाको बोटको छहारी भेटिएजसरी खुसी हुन खोजिरहेका छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

श्रीकृष्ण उप्रेती
युके निवासी श्रीकृष्ण उप्रेती समाचार लेख तथा टिप्पणी लेखनमा सक्रिय छन् । उनलाई krishnashree002@gmail.com सम्पर्क गर्न सकिने छ ।