
यतिबेला म सेक्सपियर ग्लोबमा छु । टेम्स नदीको दक्षिणी किनारमा पर्ने साउथर्याकमा यो थिएटर रहेको छ । महान् नाटककार सेक्सपियर र उनका साथीहरूद्वारा १६ औँ शताब्दीमा निर्मित ग्लोब थियटरकै झल्को दिने गरी यसलाई निर्माण गरिएको छ । सेक्सपियरीयन ग्लोबको वास्तविक अवस्थितिभन्दा करिब दुई सय मिटरमात्रै टाढाको दूरीमा रहेको यो थियटरमा मेरो छैठौँ प्रवेश थियो ।
म गएको बेला नै संयोगले सेक्सपियरकै नाटक परेछ– ट्विएल्भ्थ नाइट्स Twelfth Night । तर यो नाटकको दर्शन अघिल्लाभन्दा फरक किन थियो भने एलिजाबेथियन ‘न्यूनआयका दर्शकहरू’ ले जस्तै म पनि आँगनमा उभिएर नाटक हेरिरहेको थिएँ । उभिएर नाटक हेर्नुको मज्जा यो पनि हुँदोरहेछ– बगलमा उभिएका अरू दर्शकहरूसित पनि आत्मीयता गासिँदोरहेछ । एकअर्काको सुविधाको ख्याल गर्ने, हलुका र छोटा विचारहरू बीच–बीचमा आदान–प्रदान गर्ने त्यति नभए पनि बेलाबेलामा आपसमा मुस्कान छरिरहने ।
दाहिनेतिरका एकजोडी वृद्धवृद्धा, अगाडिपट्टिको एक अंग्रेज युवक र जापानी युवतीको जोडीका बीच छरछिमेकीको सम्बन्ध कायम भइसकेको छ । मेरो अर्कोपट्टि बगलमै तीनवटी किशोरी छन् । तीमध्ये कृष्णवर्णीचाहिँ अत्यन्तै चक्चके छे । जब ऊ नाटकमा माल्भोलियोको भूमिका गर्ने खिरिलो ज्यानको सानो कलाकार मञ्चमा देखापर्दछ, ऊ बेपत्तासित हास्ँदछे । केही क्षणअघि मैले सेल्फी खिच्दा मेरो पछिल्तिर आएर ऊ पो पोज दिइरहेकी थिई । हँसिलो अनुहारकी बूढी आमैचाहिँ नाटकका महत्वपूर्ण संवादमा आफैँले पनि बोली मिलाइरहेकी छिन् ।
उनीमात्रै किन धेरै दर्शकहरू कलाकार सँगसँगै संवाद दोहो¥याइरहेको पनि देखेँ– केटाकेटीमा हामीले फिल्मका डाइलग कलाकारसँगै बोलेजस्तो । तिनमा किशोर किशोरीको संख्या पनि ठूलो थियो । यति लामा लामा संवाद पनि कसरी सम्झिरहेका होलान् जस्तो हैरानी पनि लाग्ने । त्यसो त सेक्सपियरका नाटकहरू विद्यालय तहदेखि नै पढिँदै, मञ्चन गरिँदै आएका छन् पुस्तौँदेखि ।
सेक्सपियरको बारेमा लामो अध्ययन गरेका जोनाथन बेटको विश्वास छ –‘विलियम सेक्सपियर यी दुई शब्द र उत्कृष्ट साहित्यका पर्यायबाची शब्द हुन् ।’
बेलायती जनजीवनमा सेक्सपियर हरेक क्षेत्रमा घुलिएर, मिसिएर आएको मैले आफैँ पनि महसुस गरेको छु । तर हरेकपटक म बिल्कुलै भिन्न-भिन्न अनुभूति गरेको थिएँ । पहिलो नाटक ‘किङ लियर’ हेर्दा मलाई यो रंगमञ्चको वास्तविक कालिगढी र संरचना सेक्सपियरकै पालाको हो भन्ने भ्रमले गजक्क पर्दैमा समय बितेको थियो । उसमाथि सेक्सपियरको जन्मस्थल स्टार्डफोर्ड अपन एभनको रोयल सेक्सपियर कम्पनी थियटरमा नाटक हेरे लगत्तै यता पस्दा त हो न हो अब सेक्सपियरको बारेमा त विद्वतै हासिल गरिसकेँजस्तो अनुभूतिले फुलेर नाटकको केही मज्जै भएन ।
पछिपछि पनि सिटको असजिलो बसाइले नाटकमा भन्दा आफ्नो असुविधामा ध्यान जानेगथ्र्यो । हुन पनि एलिजावेथियन झल्को दिनका लागि काठका असजिला बेन्चीहरूका कारण दर्शकले आलोचना पनि गर्ने गर्छन् । त्यसो त ओछ्याउनका लागि एक पाउन्ड तिरेर चकटी लिन पनि नपाइने होइन । तर अरू सुविधाजनक थियटर जाने बानी लागेकालाई सायद यो हैरानीको कुरा पनि हुनसक्छ । तर सस्तो टिकटमा सेक्सपियरका नाटक हेर्न पाइने र नाटकको सिङ्गो इतिहासलाई संकेत गर्ने भएकाले यो मेरा निम्ति भने सर्वाधिक प्रिय ठाउँ भइरह्यो ।
नेपालमा छँदा सचेत रूपमा गुरुकुलबाहेक कहीँ नाटक हेर्न पाइएन । प्रज्ञा प्रतिष्ठानमा बेलाबखत हेरिएका नाटकहरूमा मनले कहिल्यै अपनत्व महसुस गरेन । आरोहणको ‘आरूका फूलका सपना’को विशेष प्रदर्शनी पहिलेको राष्ट्रिय नाचघरमा छापामार शैलीमा हेरेको थिएँ, त्यसको आफ्नै रमाइलो कथा छ ।
काठका असजिला कुर्सीमा कक्रक्क परेर परबाट नाटक हेर्नुभन्दा यसरी स्टेजमै टाँसिएर नाटक हेर्नुको अर्कै मज्जा हुँदोरहेछ । टिकट पनि असाध्यै सस्तो । कलाकारकै अगाडि उभिएर तीसित गाँसिएर अभिनय गरिरहेछु जस्तो महसुस हुने । बेलाबेलामा जोडजोडले चिच्याउने कलाकारका मुखबाट उछिट्टिएको अमृत विन्दु दर्शकका शरीरलाई स्पर्श गर्न पनि आइपुग्ने ! उसमाथि कुनै कुनै चरित्रले सन्दर्भ मिलाएर दर्शकसितै कुरा गर्न समेत भ्याउने ।
थाहा छैन मलाई नाटकमा यो स्वतन्त्रता हुन्छ कि हुँदैन । तर उभिएर नाटक हेर्ने मजस्ता सैयौँ दर्शकलाई यो उभिनेहरूले पाएको बोनस वा उपहारजस्तो लागिरहेथ्यो मलाई । म आज अगाडिका कष्टकर बसाइ सम्झिरहेथेँ । नाटक हेर्नुको मज्जाभन्दा बढी ध्यानचाहिँ असजिलो बसाइमा जाने ! उसमाथि उभिँदाभन्दा सातआठ गुना महङ्गो टिकट । त्यो पनि हप्तादिन अगाडिदेखिको बुकिङ । थियटरको आधिकारिक जानकारीमा यहाँ ८ सय ५७ सिट छन् र बीचको आँगनमा ७ सय जनासम्म उभिन सक्छन् । जहिले जहिले म आएको छु सिटहरू त भरिभराउ हुन्छन् नै सँगसँगै उभिनेहरूको पनि घुइँचो हुन्छ ।

दुनोट आकारको थियटरको बीचमा खुल्ला छानो छ । सिट र स्टेजलाई छानोले छहारी दिएपनि आँगनमा उभिएकाहरू भने बिल्कुलै खुल्ला आकासमुनि छौँ । पुरै प्राकृतिक– ओपन एअर थियटरजस्तो । गाउँले थियटरहरू सम्झन्छु । सानो बेलामा दाजुपुस्ताले दशैँतिहारमा देखाउने गरेका नाटकहरू सम्झन्छु । त्रिपाल टाँगिएर खाट र बेन्चीहरूमाथि उभिएको रंगमञ्च, दुईतिर मेन्टोल झुन्ड्याइएको, बीचमा रंगीचंगी कपडाको पर्दा । चिसो चौरमा बसेर उत्साहपूर्वक नाटक हेर्ने सैयौँ दर्शकहरूका भीडमा कतै कोचिएका हामी साना भुराभुरी । अनि अलिक ठूला भएपछि दाजुहरूलाई बिस्थापित गरेर उक्लिएको हाम्रो पुस्ता । वातावरण उस्तै, खालि मेन्टोलको ठाउँमा बिजुलीको चिमबाहेक । विषयवस्तुसमेत दाजुहरूले देखाउने नाटकभन्दा फरक हुन्थेन– उही शोषक र शोषितको प्रगतिशील फर्मूला ! त्यो मीठो विगतलाई सम्झिएर मुस्कुराएछु ।
हरेक सोच, विचार र शौखका मानिसहरूका तीर्खालाई तुष्टि दिनसक्ने विविधता हुनु नै लन्डन सहरको विशेषता लाग्छ मलाई । यहाँको बजारशास्त्रीय विशेषतालाई अलग्याएर हेर्दा मलाईचाहिँ यो थियटरको सहरजस्तो लाग्छ । लन्डन पस्दाका सुरूवाती दिनमा मलाई सबैभन्दा बढी आकर्षण गर्ने कुरा यही थियो । यहाँका मानिसहरूको थियटर संस्कृति देख्दा र सुन्दा मनै उचालिन्थ्यो । नेपालमा आफूहुन्जेल एउटै गुरूकूल थियो जहाँ सम्भवत केही मात्रै नाटक छुटाइयो होला । गुरकूलले नाटकको आदत बनाइदिएको थियो । त्यो आदत यहाँ आएपछि झनै जग्मगाएको थियो । तर यस सबालमा पनि उत्साही हुनेभन्दा खिस्रिक्क पर्ने ठाउँ धेरै निस्किए । राम्रा थियटरका टिकटहरू यति महङ्गा हुने कि (मेरो कमाइको सापेक्षतामा) आँट नै नआउने । उसमाथि राम्रा नाटकहरूका बुकिङ त महिनौँदेखि भइसक्ने । सुरु सुरुमा सस्ता टिकटहरूको खोजेर बेक्कारका नाटकहरू पनि हेरियो । भद्दा र वाक्कलाग्दा सेक्स कमेडी र क्लासिक्स उपन्यासहरूलाई नाटकीकरण गरिएका यस्ता प्रदर्शनले नाटक आस्वादनको मेरो तृष्णा पूरा भइरहेको थिएन ।
तर राम्रा नाटकहरूका प्रदर्शनीसम्म पुग्नका लागि धेरै कुराहरूले वाधा दिइरहन्थे । कहिलेकाहीँ त लाग्थ्यो ‘थियटर एलिटहरूको शौखको विषय हो ।’ त्यसो त बेलायतमा थियटरहरू धनीमानी, आफूलाई सुसंस्कृत मान्ने गोरा मानिसहरूको मात्रै पहुँचको विषय बनेको कुरालाई लिएर यहाँ बेलाबेलामा बहसहरू भएको पढेको र सुनेको पनि थिएँ । आफैँले भोगेपछि त यो पक्का पनि लाग्यो, पहुँचको कारणमात्रै होइन अक्सर क्लासिक्समा रमाउने यिनीहरूको रंगमञ्च देख्दा यो विश्वास अझै प्रबल छ ।
मलाई यसको सैद्धान्तिक यथार्थ अथवा बजार वा समाजशास्त्रीय अवस्थासित सरोकार भएर पनि सरोकार थिएन । मतलब यो मेरो पहुँचभन्दा बिल्कुलै बाहिरको कुरा भयो । म त एउटा नाटक हेर्न रहर गर्ने मान्छेमात्र थिएँ र त्यही रहर पूरा गर्न कल्पिरहन्थेँ । र, यही खोजीले मलाई सेक्सपियर्स ग्लोबसम्म ल्याइदिएको थियो । यो थियटरले मेरो रहरलाई केही हदसम्म पूरा गरिदिएको पनि थियो ।
तर मैले लामो समयसम्म नाटकको ‘इन्जोय’ गर्न सकिरहेको थिइनँ । एउटा त भाषा र ज्ञानगत कारण थियो । नाटकमा प्रयोग भएका धेरै किसिमका ‘ह्युमर’ अथवा कतिपय सामाजिक सांस्कृतिक एवम् इतिहासगत् सन्दर्भहरू समझमा नआउने एउटा समस्या थियो । अर्कोचाहिँ मेरो लघुताभास हो यो या नोस्टालजिया अरू केही नाम छन्– म आफ्नै अनौठो समस्याले ग्रसित थिएँ । सुरूसुरूमा म नाटकका पात्रहरूमा नेपाली कलाकारहरू आरोपित गरेर हेर्थेँ, आफूले हेरेका वा मनपराएका कलाकारहरू । नेपालमा छँदा सचेत रूपमा गुरुकुलबाहेक कहीँ नाटक हेर्न पाइएन । प्रज्ञाप्रतिष्ठानमा बेलाबखत हेरिएका नाटकहरूमा मनले कहिल्यै अपनत्व महसुस गरेन । आरोहणको ‘आरूका फूलका सपना’को विशेष प्रदर्शनी पहिलेको राष्ट्रिय नाचघरमा छापामार शैलीमा हेरेको थिएँ, त्यसको आफ्नै रमाइलो कथा छ । त्यसैले मैले गुरूकुल र त्यससित जोडिएकाभन्दा बाहिरका कलाकारका नाटकहरू मुस्किलले हेरेको छु । जब यहाँ नाटक हेर्छु, मेरा आँखामा गुरूकुल र तिनका कलाकारहरूका हाउभाउ, भागभंगी नाच्न थाल्छन् । सुरूसुरूका नाटकहरू मेरो समयचाहिँ यही तन्द्रामै बित्थ्यो । धेरै समय लाग्यो मलाई यो ह्याङबाट बाहिर निस्कन ।
मेरो विचारमा नाटकको दर्शक हुनु आफैँमा कलाकार हुनु हो । मञ्चमा कलाकारहरूको प्रस्तुति र संवादमा गाँसिएर दर्शक पनि उनीहरूसँग सँगै नाटक गरिरहेको हुन्छ । नाटक हेर्दा रंगमञ्चबाट आउने सानाभन्दा साना आवाज र क्रियाहरूले मेरा इन्द्रियहरूलाई बाँधेर राख्छन् । मलाई चाहिँ कलाकारका हातगोडाभन्दा तिनका आँखा र ओठका चालले बढी आकर्षित गर्ने गर्छन् । तिनलाई तिनका अभिनयमा नजिकबाट नियाल्दा मेरा रोमरोमपर्यन्तमा एउटा यस्तो तरङ्ग फिँजारिन्छ कि त्यसले अनौठो आनन्दको अनुभूति दिएर जान्छ । र, त्यो अनुभूति घरसम्मै आइपुग्छ । कलाकार र दर्शक बीचको बोलचालविनाकै एउटा सांकेतिक आत्मीयता हुन्छ । दर्शकका आँखा कलाकारमा र कलाकारका आँखा दर्शकमा एकाकार भएका हुन्छन् । कलाकारले आफ्नो भूमिकामार्फत् पोख्नुपर्ने संवेगलाई छरिरहेका हुन्छन् र तिनलाई टिपेर दर्शकले प्रत्युत्तर त्यही भाव र संवेगमा दिइरहेका हुन्छन् । मलाई नाटकको सबैभन्दा सुन्दरतम पक्ष यो लाग्दछ ।
बिरिर्र पानी पर्छ । यहाँको मौसम, अघिसम्म त उज्यालो थियो । सिटमा बस्नेहरू त सुरक्षित छन् । ‘हामी उभिनेको बिजोग हुन्छ कि क्या हो, जानु कि बस्नु ।’ सोच्दै थिएँ, तर कोही हलचल गर्ने मुडमा थिएन । टोपी भएका जम्पर ज्याकेट लगाउनेहरूले टाउको ढाके । कसैले झोला टाउकोमाथि पनि राखेको देखियो । मसितै उभिएकी आमैले आफ्नो रेनकोटको फस्नर बन्द गरिन् र टाउको छोपिन् । अनि मतिर फर्किन् र आफ्नो रोनकोटको बाहुला देखाएर इशारा गर्दै मलाई इख्याएझैँ ठट्टैमा मुस्कुराइन् । मैले ‘प्राक्टिकल’ भन्दै टाउको हल्लाइदिएँ । ‘चिन्ता नगर, यो त नाटककै एउटा दृश्य हो । एकैछिनमा अर्को दृश्य सुरू भइहाल्छ ।’
‘बाउ, कति मज्जाको कुरा ।’ संयोग पनि त्यस्तै नाटकमा ओरसिनोको प्रेम सन्देश लिएर ओलिवियाकहाँ पुगेर फर्किँरहेको सेजारियोको दुःखद अनुभूति छ । मानौँ त्यसलाई अझै दुखद बनाउन प्रकृतिले पनि साथ दिएजस्तो । कसरी एकाकार हुँदारहेछन् मानिसहरू नाटकसँग । मैले यसका परिकल्पनाकारलाई धन्यवाद दिएँ मनमनै । सिटमा बसेको भए यो किसिमको अलग्गै अनुभूति मिल्थ्यो त ?
सोह्रौँ शताब्दीको एलिजाबेथियन समयको झल्को दिने गरीे थियटरको छानो छ्वालीले छाइएको छ । यसमा काठ र कङ्क्रीटमात्रै प्रयोग गरिएको छ । स्टिल समेत प्रयोग गरिएको छैन । उतिबेलाका जस्तै फरक फरक लेबलहरू छन् भने यो उभिएर नाटक हेर्न मिल्ने संरचना पनि उही समयकै उपज हो रे । मतलब सेक्सपियरको समयमा कम पैसा हुनेहरू यसैगरी उभिएर नाटक हेर्ने गर्थे भन्ने पनि बुझियो ।
जे होस्, १६ औँ शताब्दीका एलिजाबेथियन थियटरहरूकै आभास लिन सकिँदोरहेछ उभिएर नाटक हेर्दा । अझ सबैभन्दा रमाइलो कुरा अर्धखुला आकासमुनि संवेदना र मुस्कानको मिश्रणले पैदा गर्ने अर्कै किसिमको गुन्जन दर्शकदीर्घामा प्रत्यक्ष महसुस गरिने रहेछ । झन् उभिँदा त एकअर्काको श्वासको गति एवम् संवेगको तीव्रता दुवैको महसुस हुनुले नाटकको वास्तविक अर्थलाई बल्ल बुझाइरहेको थियो मलाई । झन् यसमा एकै मिटर परतिरको दूरीमा कलाकारहरूले मन्चने विविध संवेगहरू पनि गासिँदा त सेक्सपियरीन ग्लोबको ढोकामा टाँगिएको ल्याटिन स्लोगन ‘द होल वल्र्ड इज प्ले हाउस’ नै जस्तो अनुभूति हुने !
आगलागीमा परेको थियो थिएटर
सेक्सपियरको ग्लोब थियटरसँगको किस्सा पनि बडो रमाइलो छ । एभन नदीको किनारमा उभिएको सानो सहरबाट उदाएका तन्नेरी सेक्सपियरको प्रतिभाले फराकिलो आकाश खोज्यो । उतिबेलाका प्रख्यात कवि एवम् नाटककार बेन जोन्सनको भाषामा ‘एभनको सुन्दर हाँस’ उनी लन्डन आइपुगे । विभिन्न थियटर ग्रुपसित मिलेर काम गरे । मुख्यरूपमा उनी त्यतिबेलाका उदाउँदा लेखक थिए र आवश्यक परेको खण्डमा कहिलेकाहीँ सानातिना भूमिकाहरूमा पनि देखा पर्दथे । उनी ‘कर्टन थियटर’सँग जोडिए । तर पछि त्यहाँ केही समस्या आयो । क्रिसमसको मौका पारेर सेक्सपियर र उनका साथीहरूले थियटर बेचिदिए र त्यहाँका काठपात निकाले ।
हिउँदमा टेम्स नदीमा यति ठाँटो जम्थ्यो कि मानिसहरू आफ्ना जुत्ताका तलुवामा जनावरका हड्डी टाँसेर त्यसमाथि हिँड्थे । काठपात पार गराउन सेक्सपियरहरूले नदीको बहावलाई कुर्नै पर्दथ्यो । जब नदी सफा हुँदै गयो उनीहरूले पानीमार्फत् त्यसलाई टेम्सको दक्षिणी किनार अर्थात् अहिलेको साउथवकमा सारे र टेम्सको यही किनारमा सात महिना लगाएर हजारौँ दर्शक अट्ने गरेर थियटरको निर्माण गरे जसलाई ग्लोब थियटर नाम दिइयो । पछि हेनरी सातौँको प्रदर्शनीका क्रममा आगलागी भएर ध्वस्त भयो । तर एकवर्षभित्र यसको पुर्ननिर्माण भएपछि सेक्सपियरको जीवनकालभरि यो सुचारू नै थियो । सेक्सपियरको मृत्यु भएको २६ वर्षपछि १६४० अरू थियटरहरूजस्तै यो पनि ‘प्युरिटन’हरूको शिकार भयो ।
भनिन्छ, यसलाई भत्काउन दुई घन्टा समय पनि लागेको थिएन । यसपछि लामो समयसम्म यसले फेरि उभिने सम्भावना नै रहेन । यसको ठ्याक्कै ३ सय वर्षपछि सन् १९४० मा त्यतिबेलाका चर्चित अमेरिकी रंगमञ्चकर्मी साम वानमेकर जब लन्डन आए र महान् नाटककारको नाममा एउटा स्मृति प्लेटमात्रै देखेपछि उनले फेरि टेम्सको किनारा सेक्सपियरको ग्लोब उभ्याउने निर्णय गरे । त्यही अठोटको उपजस्वरूप झन्डै ५७ वर्षपछि अर्थात् सन् १९९७ मा यसले साकाररूप लियो । तर स्वयम् वानमेकरले चाहिँ आफ्नो मेहेनतको साकारस्वरूप देख्न पाएनन् ।
सबै प्रतिभालाई आफ्नो समयले नचिन्न पनि सक्छ । प्रतिभाको नाम, सम्मान अथवा उसको सिर्जनाको अर्थ शासकको मुड र स्वार्थमा पनि भरपर्ने रहेछ । ‘प्युरिटन’ हरूको सिकार भएको सेक्सपियरको ग्लोब ३ शताब्दीसम्म गुमनाम हुनु यसैको उदाहरण हो । अझ गज्जबको कुरा त विश्व साहित्यका पर्याय बनिसकेका सेक्सपियरको ग्लोबलाई लन्डनले पछिसम्म पनि सम्झनु आवश्यक ठानेन । देशबाहिरका कुनै अर्कै रंगमञ्चकर्मीले यता आएर सम्झाइदिनुप¥यो– ल है तिमीहरूले गर्व गर्ने गरेका सेक्सपियरको नाममा थियटर यहाँ फेरि ठड्याउनुप¥यो भनेर ।
ग्लोब थियटर नष्ट गरिएको ठयाक्कै ३ सय वर्षपछि त्यतिबेलाका चर्चित अमेरिकी रंगमञ्चकर्मी वानमेकर जब लन्डन आए र उनले त्यति महान् नाटककारको नाममा एउटा स्मृति प्लेटमात्रै देखेपछि उनले फेरि टेम्सको किनारा सेक्सपियरको ग्लोब उभ्याउने निर्णय गरे । तर त्यो प्रक्रिया पनि कहाँ सहज थियो र, त्यसका निम्ति वानमेकरको परिश्रमको आफ्नै गाथा छ । करिब आधा शताब्दीको अनवरत प्रयासपछि यसले अहिलेको स्वरूप ग्रहण गरेको थियो ।



