साहित्य

कुशल न्यौपानेका ३ कविता

1.6kviews

१. बाटो तिम्रो सम्झनामा रून्छ

बाटो प्रतिक्षामा बसेको हुन सक्छ एउटा यात्रीको
जो वर्षौंअगाडि यही बाटो भएर गएको थियो ।

अनेकले सुनाएका किस्सा होलान्
आफ्ना पीर-व्यथा होलान्
ऊ गएदेखि यो ठाउँमा के-के भयो नालीबेली होलान्
ऊ फर्किँदासम्म याद रहला/नरहला
या फिक्का भैजालान् सुनाउनुपर्ने कुराहरू ।

बाटोले जोसँग आत्मियता राख्छ उनीहरू छुट्टिनुपर्छ
छुट्टिनु यात्रीको सफलता हो ।

बाटो आफू यात्रा गर्छ गर्दैन ?
कुनैबेला तिमीले सोधेकी थियौ—
कहाँ जान्छ यो बाटो ?

बाटोले पक्कै बुझेको छ: गन्तव्य भ्रम हो
सिकाउनुपर्छ नि कम्तिमा यात्रीहरूलाई
दौडेर कहीँ पुगिँदैन ।

के बाटो छिचोलेर जानेहरू अर्को बाटो बनेर बस्छन् ?

तिमी पनि फर्किन्छु भनेर गएकी थियौ
तिमीलाई सुनाउन के-के साँचेर राखेको छु
बाटोलाई सुनाएर बसेको छु
भन्छन् सबै एकदिन त फर्कनैपर्छ ।

म भइनँ भनेँ बाटोले सुनाए हुन्थ्यो, मेरो कथा तिमीलाई
एउटा आशावादी प्रेमीको प्रतिक्षाको कथा
तिमी पो बरू बाटोसँग बात मार्न जानौली/नजानौली ?

बाटो भन्छ— यो बाटो भएर गएकाहरू फेरिन्छन्
म तिमीलाई चिन्न नसकुँला
तिमी मलाई नचिनौली
अथवा मेरै समिपबाट गयौ भने
तिमीलाई बोलाउन नसकुँला
आफूलाई चिनाउन नसकुँला ।

अब त म पनि सायद बाटो भैसकेँ
तिमी पनि अन्तै कतै बाटो भएर बसेकी छौ कि !

—*—

२.फिर्ता

केही उपहार छन् दराजमाथि
टिलिक्क टल्काएर राखिएका
केही छन् केवल बेलाबेला
हेरेर मात्र थन्क्याउनका लागि
तिनको काम केवल
उनीहरूको सम्झना दिलाउनु मात्र हो
कण्ठस्त छ
क-कसले दिएका हुन् कुनकुन ।

ती फिर्ता दिन मन लागेको थियो
ती फिर्ता लिन आउलान् जस्तो पनि लागेको थियो
धेरै काल बितिसक्यो
उनीहरूलाई पनि केही काम लाग्ने रहेनछ जस्तो छ
मलाई पनि केही कामलाग्ने छैनन्
कस्ता नचाहिँदा उपहार दिएछन् ।

फर्केर माग्थे भने पनि के भन्थेँ होला र म
मलाई फिर्ता माग्दैनौ ?
सम्झना फिर्ता माग्दैनौ ?
ती सब वाहियात प्रश्न हुन् ।

अब म पनि काम नलाग्ने भैसकेको छु
उनीहरू पनि मलाई के काम र
निस्सारता
निराशा
विवशता
र रित्तोपनबाहेक के छ मसँग दिन ?

अब सुम्सुम्याउने रहर छैन
सम्हालिराख्ने जाँगर छैन
डेरा सरेपिच्छे बोकेर हिँडिरहनुपर्ने
नासोजस्तो
घाँडोजस्तो
दूर-दूर उडिगएका चङ्गा अड्किएको
गाँठोजस्तो ।

धन्य मेरा पूर्वप्रेमिकाहरू
छाडियौ र ठीकै भयो
दिएका उपहारलाई त आफ्नो बनाउन नसक्नेले
तिमीहरूलाई के आफ्नो बनाउन सक्थेँ !

केही उपहार छन् मसँग
फिर्ता माग्न कोही आएन ।

पेन्टिङ : किरण मानन्धरबाट।

३. त्यो साँझ हामी सँगै यात्रामा थियौँ

भन्नेहरूले, त्यो ठाउँलाई उजाड भनिरहे
लेख्नेहरूले, त्यसको दृश्यलाई कुरूप बिम्ब बनाइरहे
तर हाम्रो लागि
संसारकै सुन्दर ठाउँ त्यही थियो
सबैभन्दा सुन्दर अनुभवहरू त्यही थिए
त्यो साँझ हामी सँगै यात्रामा थियौं ।

अनन्तसम्म बालुवा
सुख्खा खोलोमा पानीको डाम
मच्छड डुलिरहने काँसघारी
अरूलाई गाह्रो भयो होला
तर खोलामा पानी नभएरै
यो यात्रा सम्भव भयो
बालुवा भएरै
मुटुमा उम्लिएको नरमपना
खुट्टाले महसुस गर्न पायो
एकअर्कालाई टोक्न आउने मच्छड
बडो प्रेमले हम्किरह्यौं
यत्रो काँस काट्न पाए
हाम्रो पुरै बस्ती छाउन पुग्थ्यो
हामीले सोचिरह्यौं-
त्यो साँझ हामी सँगै यात्रामा थियौं ।

कालोपत्रे मोटरबाटोले
पैताला पटपटी फुटाउनेथ्यो
बयलगाडाका लिक थिए र पो
घरि म ऊभन्दा अग्लो भएँ
घरि ऊ मभन्दा अग्लो भई
हाम्रा औँलाहरू नजानिँदो गरी टाँसिए
हाम्रा गालाहरूमा राता घाम टाँसिए
कसरी-कसरी हामी दुवै
एकअर्काले गर्न चाहेकै गरिरहेका थियौँ ।

एकअर्कासँग बोल्न आवाजको जरुरत भएन
त्यस्तो शान्त/त्यस्तो सौम्य साँझ
फेरि कहिल्यै महसुस भएन
जुन साँझ हामी सँगै यात्रामा थियौं ।

उखरमाउलो गर्मी अरूलाई भयो होला
पसिनामाथि चलेका बतासले
हामीलाई मात्र शितल पारे
उसको निधार पसिनाका शीतले गुलुपझैँ टल्किए
जति ऊ पसिनाले भिज्दै गई
उति उसको गन्ध मसम्म आयो
अरूलाई एकअर्काका पसिना गन्हाए होला
हामीले एकअर्कालाई त्यति मिठोसँग कहिल्यै सुँघेकै थिएनौँ ।

सानो आकाशमा बानी परेकालाई
किन मन पर्थ्यो आकाशको विशालता
जहाँबाट आफ्नो अस्तित्व नगन्य देखियोस्
जहाँबाट आफ्नो अहंकार तुच्छ देखियोस्
डाँडोको सिमिततामा कैद नजरले
क्षितिज देखेकै हुँदैन ।

चाहेको भए उनीहरूले
अस्ताउँदो घामको सुन्दरता हेर्न सक्थे
तारापुञ्जमा लोभिन सक्थे
चाहेको भए तारा गनेर मन भुलाउन सक्थे
चाहेको भए गुनासो नगरिरहन सक्थे
तर हामी त यही सोचिरहेथ्यौँ कि
त्यत्रो घामजत्रो रोटीले
हाम्रो परिवारको एक छाकचाहिँ टर्ने थियो।

उनीहरूले न घामको रङ्ग याद गरे
न आकार
न रोटिको सपना नै देख्न भ्याए ।

भलै हाम्रो यात्रामा रात पर्यो, बिहान भयो
जुन खासै महत्वपूर्ण हैन
तर त्यो साँझ हामी सँगै यात्रामा थियौँ
र त्यो साँझ बहुत सुन्दर थियो ।
०००

सिन्धुलीका कुशल न्यौपाने एक दशकदेखि कविता लेखनमा सक्रिय छन् । जीवन भोगाइका सानासाना घटनामाथि केन्द्रीत भएर कविता लेख्ने हुनाले उनका कविताले हृदयमा गहिरो अनुभूति दिलाउँछ । कुशल अहिले सरकारी सेवामा कार्यरत छन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.