तीनसय वर्ष अघिसम्म नेपाली साहित्यको खासै सतह थिएन भन्दा अनर्थ ठहरिँदैन । नेपाल एकीकरणअघि सुरु भएको सिंजा उपत्यकाको बोलिचालीको भाषा परिमार्जित हुँदै आजको नेपाली भाषा बनेको हो । अधिकांश मानिसले बोल्ने, लेख्ने, पढ्ने र पढाउने यही भाषालाई नै ‘नेपाली भाषा’ भनिन्छ ।
हालको जुम्ला जिल्लाको ‘सिंजा उपत्यका’मा उत्पन्न भाषा कस्तो थियो होला ? यो कौतुहलतालाई अहिले पनि त्यहाँका मानिसले बोल्ने नेपाली र अहिले सारा नेपालमा बोलिने भाषाबीचको सुक्ष्म अध्ययनले के बताउँछ भने, नेपाली भाषाले परिवर्तनलाई समयअनुसार स्वीकार गर्दै गएको छ । भानुभक्त आचार्यले ‘रामायण’मा उतारेका त्यसबेलाको भाषा र अहिलेको नेपाली भाषामा उत्ति तालमेल मिल्दैन । यति हुँदाहुँदै पनि भानुभक्तले सुरु गरेको भाषा र अहिलेको भाषामा आएको वंशानुगत एकताले एक सिंगो पहिचान र अस्तित्वको भाषा हुन पुगेको छ । कम्तिमा व्याकरणका केही आधारभूत कुराबाहेक भाषिक मिजासका साथ शुद्धाशुद्धि र लवज, पहिचान र शब्द–व्यञ्जन तथा शैली आदिले हाम्रो भाषा गतिशील देखाउँछ ।
केही परिवर्तन आए, फेरबदल भए । परिवर्तन र फेरबदल आउनु समयको खेल हो । भाषा प्रयोगकर्ताको पनि दोष होइन यो । यदि हो नै भने यसलाई केवल समयको खेल मानौं र स्वागत गरौं । किनकि अझै कत्ति र कसरी फेरिने हो त्यो समयकै लिला हुनजान सक्ला । त्यसमा हामी प्रतिक्षारत रहनु नै उत्तम हुनेछ ।
नेपालमा भाषाभाषिका र भाषिक शक्तिलाई मजबुत बनाउने मूख्य भाषा संस्कृत भाषा नै हो भनिए त्यो यतिखेर आएर हेर्दा पूर्ण सत्य होइन । किनकि नेपालमा नेपालीबाहेक अन्य दर्जनौं र अरू अरू भाषा पनि बोलिन्छन्, प्रयोगमा ल्याइन्छन्, ध्वनिकृत गरिन्छन् । मान्छे–मान्छेबीच सम्बन्धसेतु बनाइएको र त्यसले त्यस एक जातिको संस्कृति र जातीयलाई बचाएकोले त्यस एक भाषालाई अतिस्त्वमा राखिनुपर्छ पनि भनिन्छ । तर दूभागर््य यसमा पनि खासै तात्विक वैज्ञानिक प्रमाण यथेष्ठ छैनन् । किनकि यसका यथेष्ठ मानवीय कारणहरू खोज्न नेपालका तराईमा गएर त्यहाँको सामाजिक र सांस्कृतिक महत्त्वलाई शुक्ष्म तरिकाले अध्ययन गरियो भने यिनका यथेष्ठ प्रमाण भेटिन्छन् ।
अर्को दुभाग्र्य नेपालमा नेपाली साहित्यको प्रभावललाई विश्व साहित्यसँग दाँजेर हेर्दा हाम्रो साहित्यले बामे मात्रै सर्न सकेका छन् । यिनका धेरै केही कारणमध्ये एक प्रमुख हो–यति सानो देशमा अधिक भाषाभाषी व्याप्त हुनु र तिनमा बेमेल, विभक्ती आउनु हो ।
भाषिक रूपमा एकआपसमा आकर्षित, एकठ्ठ र आशक्त हुनुका सट्टा त्यसको ठीक विरित– विकर्षित, वेमल, कमजोर र विभक्त छौं हामी ।
नेपालमा मानिसहरू एक–आपसमा मनोवैज्ञानिक भाषिक अन्तरआत्माबाटै असमान वा अनेकतामा बाँच्नुपरेको छ । भाषा नै हो जसले मानवलाई मानवबीच परिचय र अन्तरसम्बन्धमा लान्छ र यसैले हो मानसिलाई आत्मबलबाट बलियो बनाउने । भाषा नै हो जसले मानिसबीच रचनात्मकताको आविष्कार गरी, मानिसमा जोडिएको र सम्बन्धीत भएको संरचनाको महसुस गराउँछ । अन्ततः यसले मानव–मानवलाई एकबद्ध बनाउँछ ।
कयौं भाषा¬–भाषिका भाषिक द्दैधता, भाषिक वैमन्यष्यता वा असमानताको कारणले विशक्तिकरणलाई उर्जा दिएको हँुदा नेपालमा एक जाति र अर्काे जातिबीच मानवबिच हुनुपर्ने अन्योन्याश्रीत सम्बन्ध मजबूत छैन । केवल भाषिक अनेकताका कारणले मात्र बिहेवारी, धर्मकर्म, भोज–भतेर र लवाइ–खवाइमा नेपाली आफूहरूबीच विभक्तिकरण र विच्छेदित बनेका छन् । भाषाकै कारणले पनि मानिसलाई एक–आपसमा अनेक र कमजोरजस्तो बनाइदिएको छ । यसले हरेक तप्कातप्काका मानिसहरूबीच नजाँनिदो तरिकाले असमान र बेमेल बनाएको छ । विविध भाषामा व्यस्तै र वेफुसर्दिला रहेजस्तो देखिए पनि मानिसहरू खासै शक्तिशाली, एकठ्ठ र मजबुत रहेका छैनन् ।
०००
नेपाली भाषा सबैले बोलिहाले पनि लाग्छ– नेपालमा भाषिक शक्तिको आधारमा समाजलाई हेर्दा मानिस आपस–आपसमा शक्तिशाली छैनन् । सायद यसै हुँदा हो कि, नेपालमा भाषाको क्षेत्रमा काम गर्ने सर्जक साहित्यकारहरू स्वयं पनि विश्व सामु झिनो–मसिनो रही आफूलाई कमजोर महसुस गर्नुपरेको छ ।
भाषाप्रति देखिएका अन्य विविध मसिना कारणले अन्ततः पाठक र लेखकबीच दरार उत्पन्न गराएका छन् भने त्यसपछि यसले प्रकाशन÷प्रकाशकलाई पनि घुमाउरो पाराले अप्ठेरोमा पारेकै छ । लेखक, प्रकाशक र पाठक आनन्दिला र सुखी हुननसक्नुका अन्य धेरै कारणमध्ये एक के हो भने भाषामा देखिएका यावत् विविधताले सबैलाई यसले कमजोर बनाएको छ । फलस्वरूप यहाँ न साहित्यकार नै त्यति जन्मन सकेका छन्, न पाठक नै ।
पुस्तक छापेर एक–एकप्रति आफ्ना साथी–भाइबीच बाँड्नु पर्ने बाध्यतामा लेखक, साहित्यकार र सर्जक पर्नु परेको छ । अर्कोतिर पाठक आखिर को हुन् या होइनन् भन्नेको यावत् दुविधाले पनि प्रकाशकीय क्षेत्र ग्रस्त बनेको छ । भाषिक मनोविज्ञानमा देखिएका अन्य समस्यालाई, ढाक–छोप गर्न तथा भाषा र साहित्यको वरपर रहेका कमजोरीलाई लुकाउन पो होला कि नेपालमा साहित्य सिर्जना गरेर खास गरी प्रकाशन गरेपछि आसन ग्रहण गर्दै, गराउँदै, आफ्नै साथीभाइ आदिलाई पनि जमघट गराउँदै पानसमा बत्ती बालेर, भाषणबाजी अनि भोजभतेर गरी पुस्तक आदिको लोकार्पण गराउने गरिन्छ । साहित्य संरचना र विकासका खूद कामहरूका निम्ति गर्ने गरिएका यी असाहित्यिक गतिविधिले भाषा र साहित्यलाई कसरी साहित्य हुन दिन्छ ?
नेपालमा साहित्य र साहित्यकार छन् भने आजसम्म पनि यहाँ कसैले विश्वको स्थापित पुरस्कार किन जित्न सकेको छैन ? हुन त, नर्वे र स्वीडेन भन्ने देशमा स्थापित र त्यहाँबाट वितरण गरिने पुरस्कार नेपालीले नजित्दैमा कुनै एक नेपाली साहित्यकार नै हुन नसक्ने होइन । तर जबजब विशालता र प्रभावको कुरा गरिन्छ, आस्था र विश्वव्यापीपनको मतलव हुन्छ, कोही न कोही त अस्तित्वमा आउन सक्नुपर्छ । अस्तित्वमा आउन सक्नुको मूल विशेषतामा नै नआइकन वा त्यसको खातिर बलिदान नै पुर्याउन नसक्नुका कारण केवल साहित्यकार मित्रहरू स्वयं जिम्मेवार छैनन् तर अप्रत्यक्ष रूपमा भाषा र तिनका रचनाहरू र तिनका स्तरले नै साहित्यलाई प्रत्यक्ष रूपमा असर गरेको हुनसक्ने भन्नेको ज्वलन्त उदाहरण खोज्न विश्वमा कँही खोज्नु पर्याे भने सायद त्यही हुन सक्छ नेपाल र नेपाली भाषा ।
अर्को अर्थमा कोही आफ्नै भाषा जस्तोः नेपाली, नेवारी, मैथिली आदिमा दिलो ज्यान दिएर, त्यसैमा लागेर शक्तिशाली र स्वाभिमानी पनि बन्न सकेका होलान् । भाषामा योगदान दिएर एक–दुई जनाले त शक्ति, मान र शान पनि पाएका होलान् । तर त्यसैको कारण नेपालजस्तो यति थोरै जनसंख्या भएको देशमा मानिसहरूबीच पर्न गएको अनेकता र अशक्तताको असरले केवल भाषालाई भाषिकामा परिणत गरिदिएको छ । तिनीहरू अन्ततः कुनै एक विश्वविद्यालयका एक विद्यार्थीका लागि खोजीका कारण मात्र बन्न पुगेका छन् । त्यसले एक देश, उसको भाषा, र साहित्यप्रतिको अस्तित्व र मर्ममाथि पनि ठूलो प्रश्न चिन्ह खडा गर्न सक्छ । र प्रश्न उठ्छ– एक देश र उसको जनताको भाषा र साहित्यलाई विश्वव्यापी कसीमा केवल समुंद्रमा खस्नजाने केही थोपा पानी मात्र बनाउने कि, समुंद्रको एक ठूलै हिस्सा बन्न जानेमा पहल कदमी गर्ने ? छनौटको अन्तर यसैमा नीहित रहेको छ ।
यसैले भएको भाषाको सम्पूर्ण आधारलाई भाषाविज्ञानको दृष्टिले विश्लेषण गर्नु आजको प्रमुख आवश्यकता हो । भाषामाथि रहर गरेर वा माया भएर गरिने वकालत भन्दा विश्वव्यापी मान्यता र भाषिक सिद्धान्तलाई केन्द्रमा राख्नुपर्छ । त्यसपछि अगाडि सारिएको हाम्रो भाषाको संरचना, शैली र इतिहास विश्वले स्विकार गर्न सक्छ ।
०००
(परिवागको ‘याद हराएको मान्छे’ उपन्यास प्रकाशित छ ।)



