
हिमाको बोलिचाली, लुगा लगाई हामी गाउँलेको भन्दा अलि भिन्नै थियो । सायद विदेशमा बसेकी भएर होला। एकदिन नयाँ ठाउँ, कोहीसँग चिनजान छैन भन्दै उनी हाम्रो घरमा परिचय गर्न आइन् ।
हिमा निकै फरासिली रहिछिन् । उमेरले मभन्दा अलि पाकोजस्तो देखिएकोले मैले उनलाई हिमा दिदी भनेर सम्बोधन गर्न थालेँ । हामीले एक अर्कोमा परिचय गर्यौं । हिमा दिदी र उनका श्रीमान भर्खरै बसाइ सरेर हाम्रो छिमेकी बन्न आएका थिए । उनका श्रीमान् बीस वर्ष हङकङ बसेर आर्मीको जागिरबाट रिटायर्ड भएपछि अब नेपालमै बस्ने निर्णय गरेर फर्केका रहेछन्। हिमा दिदिका कुरा सुन्दै मैले चिया बनाएँ ।
चिया तयार भइसकेपछि हामी चिया पिउँदै गफ गर्दै थियौं । त्यसै बेलामा राना कान्छा पनि चिया पिउन मन लाग्यो दिदी भन्दै आइपुग्यो। मैले उसलाई पनि चिया बनाएर दिएँ। हिमा दिदीसँग राना कान्छाको परिचय गराए। हामी सबैले चिया पिउँदै तिहारको कुरा गर्यौं । गत वर्षको तिहारमा देउसी भैलो खेलेर रमाइलो भएको र यस वर्ष त हिमा दिदीहरू पनि भएपछि त झनै रमाइलो हुने कुरा गर्यौं। चिया पिएर राना कान्छा बिदा भयो।
हिमा दिदीलाई राना कान्छाको बारेमा अलि बुझ्न मन लागेछ। उसलाई कतै चिनेजस्तै लाग्यो रे । त्यसैले मैले पनि उसको बारेमा जाने जति भन्दै गएँ ।
‘आजभन्दा तीस वर्ष अगाडि एक साँझ झट्ट हेर्दा पन्ध्र सोह्र वर्षजस्तो देखिने केटो हाम्रो गाउँको सिरान घरमा बास माग्न आएछ । ऊ को हो ? घर कहाँ हो भनेर सोधिखोजी गर्दा उसले सबै कुरा भन्दै गएछ । उसको घर पाँचथर हो रे । सानैमा उसको बा आमा बिते । दाजु भाउजुले हेला गरेपछि सानैमा घर छोडेर भागेछ । भौतारिँदै जाँदा हाम्रो छिमेकिको घरमा आइपुगेछ। आफ्नो बेलिबिस्तार लगाएर काम खोज्दै हिंडेको भनेपछि उनीहरूले दया गरेर उसलाई सहयोगीको रूपमा आस्रय दिएछन् । नाम के हो भनेर सोध्धा उसले कान्छा राना भनेछ। त्यसपछि सबैले उसलाई राना कान्छा भनेर बोलाउन थाले। उसलाई आफ्नो नामै थाहा नभएको त होइन तर किन हो कुन्नी अरूले उसलाई नामले बोलाँउदा असाध्दै लाज लाग्दो रहेछ। त्यसैले ऊ आफ्नो नाम कसैलाई नबताउँदो रहेछ।’
झन्डै चार फिट उचाइ भएको कान्छो हँसिलो र फुर्तिलो थियो। उसका केही अनौठा बानी थिए । जुत्ता कहिल्यै नलगाउने, बस नचढ्ने अनि जसले जे भने पनि विश्वास गर्ने। त्यही विश्वास गर्ने बानीले गर्दा उसले जीवनमा धेरै धोका पनि पायो। यहाँ आएपछि ऊ अन्त कतै गएन। त्यही परिवारको एक सदस्य भएर बसेको छ। सबैले उसलाई कान्छा भाइ वा कान्छा दाई भनेर सम्बोधन गर्छन् । सबैले माया गर्छन्। ऊ सबै गाउँलेको पनि प्यारो भएर बसेको छ ।
उसले आएको केही दिनपछि घरको काममा सहयोग गर्न सुरु गर्यो। उसले गर्ने काम भनेको गाइबस्तु हेर्ने र सागसब्जी गोड्मेल गर्ने हुन्थ्यो। ऊ काममा धेरै मेहनेती पनि छ । उसले गोडेको सागसब्जी साह्रै सप्रन्छन् । त्यसैले गाउँले सबैले उसको बिदा हुँदा उसलाई गोड्मेल गर्न लगाउन मन पराउँछन्। त्यस बापत उसलाई खाना र अलिकति गोजी खर्चको पनि व्यवस्था गरिदिन्छन्। त्यसमा ऊ निकै खुशी हुन्छ।
उसले छुट्टी लिएर जाने भनेको ठाउँ यही कुनै एक छिमेकीको घरमा हो। उसको आफ्नै बेडिङ छ, त्यही लिएर हिंड्ने गर्छ। त्यहाँ गएर खाने बस्ने गरे बापत घरको काममा मद्दत् गर्छ । यसरी ऊ आफ्नो बिदा मनाउँछ। केही समयपछि फेरी पुरानै घरमा फर्किन्छ । यसरी कान्छा रानाले उसको जीवनको लगभग चार दशक बिताइसक्यो।
भावनाको नाता पनि जन्मको नाताजस्तै प्यारो हुन्छ भनेझैं आफूलाई परेको बेलामा शरण दिएको घर परिवारलाई नै आफ्नो घर परिवार सम्झ्यो। आनन्दसँग बस्यो। कसैले उसको विगत सोध्यो भने हरेक पटक भक्कानिएर आफ्नो कहानी सुनाउँथ्यो। त्यसैले ऊप्रति सबैको सहानुभुति राख्थे ।
कान्छा रानाले भनेको सबै कुरा माने पनि एउटा कुरा चाहिँ कहिल्यै मानेन । त्यो थियो ‘नचिनेको मान्छेको विश्वास गर्नु।’ ऊ जसलाई पनि विश्वास गर्दथ्यो। त्यसकारण धेरै उसले नचिनेका मान्छेले उसलाई विवाह गर्ने केटी खोजिदिने र धेरै ब्याज दिने लोभ देखाएर उसले धेरै मेहेनतले कमाएको निकै पैसा खाइदिए। रक्सी भनेपछि ऊ अलि धेरै लोभिन्छ त्यसैले कति मान्छेले त उसलाई रक्सी खुवाएर पनि पैसा लुटिदिए।
कान्छा रानाले जीवनभर विवाह गरेन। त्यसो त उसलाई विवाह गर्ने रहर नै नभएको त होइन तर उसले चाहेजस्तो केटी कहिल्यै पनि पाएन। कहिले कही त निराश भएर भन्ने पनि गर्छ, अब यो जुनिमा त मेरो विवाह होलाजस्तो छैन। उसको कुरा सुन्नेहरूले उसलाई सम्झाउने गर्छन् ; ‘निधारमा लेखेको कुरा कहीँ जान्न कान्छा । धेरै चिन्ता नगर। एक न एक दिन तिमीले भने जस्तै केटी भेट्नेछौ।’ ऊ पनि गम्भीर भएर मुन्टो हल्लाउँदै ‘होला त नि’ भन्छ।
एकदिनको कुरा हो, भर्खरै चिनो चलचित्र आएको थियो, चलचित्रमा मुख्य पात्रको नाम ‘बिर्खे’ थियो। त्यो नाम एकदमै लोकप्रिय भयो। गाउँघरका केटाकेटीले केटाहरूलाई ‘बिर्खे’ नामले बोलाएर मजाक गर्न थाले । यो कुरा राना कान्छाले सुन्यो भने साह्रै रिसाएर केटाकेटीलाई झम्टेर पिट्न जान्थ्यो। त्यो थाहा पाएपछि त केटाकेटी झन ‘बिर्खे’ भनीभनी दौडन्थे। ऊ रिसाउने कारण कसैलाई थाहा थिएन ।
एकदिन राना कान्छा अचानक बिरामी पर्यो । डाक्टरकोमा जानुपर्ने भयो। उसको नामथर चाहिने भयो त्यस बेला उसले लजाउदै आफ्नो नामथर बताएछ- ‘बिर्खबहादुर राना’। अनि बल्ल थाहा भएछ राना कान्छा रिसाउने रहस्य। अनि त सबैले थाहा पाए राना कान्छाको नाम पनि ।
मेरो सबै कुरा सुनी सकेपछि हिमा दिदिको अनुहारमा आश्चर्य र खुशी एकैचोटी देखियो। उनी केही बोल्न खोज्दै थिइन् तर बोली काँपेको सुनियो । केहीछिनमा आँशु झार्दै भनिन्, ‘हे भगवान् ! यो त तीस वर्षअघि हराएको मेरो कान्छो भाइ पो रहेछ। हेर विचरा मेरो भाइ यस्तो पो भएछ ।’
सानैमा हराएको र लामो समय बेखबर भएकोले सुरुमा हिमा दिदीलाई अलि विश्वास लागेको थिएन। अब भने उनलाई आफ्न भाइ भन्ने पक्का भयो ।
कान्छाले घर छाडेपछिको खबर हिमा दिदीले सुनाइन्-
कान्छाले घर छोडेकै साल दाजुभाउजू पनि बस दुर्घटनामा मरे । कान्छो भाइले घर छोडेदेखि अहिलेसम्म कुनै पत्तो थिएन। धेरै खोज-खबर गर्यौं केही पत्तो लागेको थिएन। यसरी भेट होला भन्ने त मैले कहिल्यै सोचेकै थिएन । मलाई त यो ठाउँमा भगवानले मेरो भाईसँग भेट गराउन पो ल्याएका रहेछन। धन्य छ इश्वरलाई ।
दाजुको दुर्घटनामा मृत्यु भयो, भाइ हरायो। त्यस पछिका मेरा तीसवटा तिहारहरू खाली हात बिते । यसपाली त आफ्नै भाइको निधार सजाउन पाउने भगवानको कृपा मिलेको छ मलाई। संयोग पनि कति आनन्ददायी। भोलि भाइटिका आज हराएको भाइ भेटिनु । मेरो जीवनमा यहाँभन्दा ठुलो खुशी अरू के हुन सक्ला र ?
हिमा दिदीले यति खुशी व्यक्त गरिसकेपछि राना कान्छा कता बस्छ भनेर सोधिन् । मैले जहाँ बसे पनि यही गाउँमा कसै न कसैको घरमा हुन्छ भनेँ । यसपछि मैले साइँला दाजुको घरमा कान्छा छ होला भन्ने सोचेर दिदीलाई पनि सँगै लिएर गएँ । संयोगले राना कान्छा पनि घरमै रहेछ। मैले उसलाई हिमा दिदीले भन्नु भएको सबै कुरा भने । ऊ आश्चर्यचकित भयो। एकैछिन निकै भावुक भएर दिदीको अनुहारमा हेर्यो। त्यसपछि दिदीभाइ अंगालो हालेर रून थाले। उनीहरूका आँखाबाट झरेका ताता आसुँका थोपाहरूले लामो बिछोडको घाऊलाई धोएर सन्चो बनाए । मैले साँइल्दाजुलाई पनि सबैकुरा सुनाए। उहाँले पनि आश्चर्यचकित हुँदै खुशी व्यक्त गर्नु भयो।

यो हल्ला एकैछिनमा गाउँभरी फैलियो। सबै गाउँले जम्मा भएर ती दिदी भाइको मिलनको हर्सोउल्लास गरे।आजदेखि हिमा दिदीले राना कान्छालाई आफ्नै घरमा लाने निर्णय गरिन्। आजसम्म आफ्नो भाइलाई माया गरेर परिवारको सदस्य जस्तै गरेर राख्ने गाउँका सबै दयालु परिवारलाई हृदय देखि नै कृतज्ञता व्यक्त गरिन् र भाइसहित आफ्नो घरतिर लागिन् ।
ती दिदी भाइको मिलनको खुशीमा साँइल्दाजु परिवार पनि धेरै खुशी भए बेलाबेलामा भेट गर्न आउनु माया नमार्नु है कान्छा भन्दै बिदा दिए। यति लामो समयसम्म एउटै परिवारको सदस्य जस्तै भएर बसेको घर छोडेर जानु पर्दा राना कान्छा निकै रोयो ।
भोलिपल्ट भाइटिकाको दिन हिमा दिदिले तीस वर्षदेखि माया मारेको भाइलाई भेटेर भगवान प्रति आस्थाको शिर झुकाउँदै भाइको खुशी र लामो आयुको कामना गर्दै टिका लगाइदिइन् ।
(कथाकार निर्मला प्रसाईं सापकोटा बेलायत बस्नुहुन्छ)




तिहारको अवसरमा मेरो कथा ’हराएको भाई’ प्रकाशित गरिदिनु भएकोमा ‘नेपाली न्युज यूके’ लाई धेरै धेरै धन्यवाद। 🙏😊