नेपाल विशेषसमाचार

दक्षिण एसियामा कानुनी रूपमा समलिङ्गी विवाह गर्ने पहिलो जोडी बने नेपालका माया गुरुङ र सुरेन्द्र पाण्डे

गौरव पोखरेल र हन्नाअ एलिस पिटरसन

228views

नेपालमा मंसिर १३ गते बुधबार समलिङ्गी महिला माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको कानुनी प्रमाण-पत्र प्रदान गरिएको छ । योसँगै दक्षिण एसियाली मुलुकमा नेपाल समलिङ्गी वा फरक लैङ्गिक क्षमता भएकाहरूको विवाहलाई कानुनी मान्यता दिने पहिलो देश बनेको छ । नेपालको लमजुङ जिल्ला दोर्दी गाँउपालिकाको वडा कार्यालयले ३८ वर्षीय माया गुरुङ र २७ वर्षीय सुरेन्द्र पाण्डेलाई विवाहको कानुनी प्रमाणपत्र दिएसँगै तेस्रोलिङ्गी एवं फरक लैङ्गिक क्षमता भएकाहरूको विवाह कानुनी रुपबाटै सुरु भएको छ ।

विवाह दर्तापछि माया गुरुङले भने, ‘अहिले म कति खुसी छु भन्न सक्ने अवस्थामा छैन । हामीले लामो समयसम्म यसैको लागि लडिरहेका थियौं। दुई दशकभन्दा बढीको सङ्घर्षमा सबैको साथ र सहयोगले यो सफल भयो ।’ उनले थपे, ‘समाजले अब हामीलाई स्वीकार गर्ने छ र यसले हामीजस्ता धेरैका लागि विवाहको ढोका खोलिदिएको छ ।’

यता पाण्डे पनि उत्तिकै हर्षित छन् । ‘हामीले जित्यौं ! हामीले ठूलो युद्ध जित्यौं। म अब चर्को स्वरले हामी पति र पत्नी हौं भन्न सक्छु । यसबाट समाज पनि परिवर्तन हुनेछ भन्ने आशा मलाई लागेको छ’, उनले खुसी साट्दै भने ।

गुरुङ र पाण्डे आठ वर्षअघि एक रेस्टुराँमा भेटिएका थिए । त्यहाँ उनीहरूमाथि कुटपिट भएको थियो । पछि उनीहरू नारायणी नदीको किनारमा सँगै डुल्न जाँदा आफ्नो जीवन र आमा-बाबुको बारेमा कुरा गर्न थाले र आपसमा प्रेम सम्बन्ध गाँसे । दुवैले बाल्यकालमा नै आमा-बाबु गुमाएका थिए ।

छ वर्ष पहिले उनीहरूले हिन्दू संस्कारअनुसार धार्मिक विवाह समारोह आयोजना गरे पनि कानुनअनुसार उनीहरूको विवाहलाई मान्यता दिइएको थिएन । यसले गर्दा माया र सुरेन्द्रल व्यवहारिक जीवनमा धेरै कठिनाइ भोग्नुपरेको थियो । उनीहरूले अब सँगै बैंक खाता खोल्न वा सँगै जग्गा किन्न पाउनेसमेत भएका छन् । साथै कानुनले श्रीमान्- श्रीमतिको रूपमा भोगचलन गर्न प्रदान गरेका सबै अधिकार उनीहरूले पनि उपयोग गर्न पाउने भएका छन् ।

गत असार १३ मा सर्वोच्च अदालतले गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गर्न आदेश दिएको थियो। तर काठमाडौं जिल्ला अदालतले कानुनमा केही अस्पष्टता रहेको आधारमा उनीहरूको विवाह दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनीहरुले लमजुङमा गएर विवाह दर्ता गराएका हुन् ।

पारलैंगिहरूको हक अधिकारको लागि स्थापित नेपालको पहिलो संस्था ‘ब्लु डायमण्ड सोसाइटी’का संस्थापक सुनिलबाबु पन्तले गत असारमा समलिङ्गी विवाहको मुद्दा सर्वोच्च अदालतमा दर्ता गराए । उनले फैसला जितेको दिनसँगै बुधबार माया र सुरेन्द्रको विवाह भएको दिनलाई ‘ऐतिहासिक दिन’को रूपमा वर्णन गरे। ‘मलाई लाग्छ अब यस्ता धेरै जोडीहरू अगाडि आउनेछन्,” अधिकारकर्मी पन्तले भने।

विश्वमा समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो देश नेदरल्याण्ड हो । अमेरिका, क्यानडा, अष्ट्रेलिया, जर्मनीलगायत ३४ देशले समलिङ्गी विवाहलाई मान्यता दिएका छन् । भारतमा अझै पनि समलिंगी तथा फरक यौन क्षमता भएकाहरूको विवाहलाई कानुनी रूपमा सदर गरिएको छैन ।

(गौरव पोखरेल काठमाडौंस्थित अनलाइनखबरमा कार्यरत पत्रकार हुन् । यस्तै हन्नाअ एलिस पिटरसन ‘दी गार्जियन’को लागि दक्षिण एसियाकेन्द्रीत पत्रकारिता गर्छिन् ।)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.