
१. अतृप्त पत्थर
एउटा भड्किएको साँझ
सहरमा बत्तीहरू निभ्छन्
एउटा भत्किएको महल
तानपुरा एकोहोरो रोइरहन्छ
एउटा चर्किएको भित्ता
चिच्याउँदै भागिरहन्छ छाया
रगतै रगतले लतपतिएर रातो गुलाफ
उम्रेको छ कालो इतिहासको चिहानमा
तर अझै पनि एउटा अतृप्त पत्थर
खोजिरहेछ समयको उही पुरानो अतृप्त बासना ।
२. घाइते लोकतन्त्र
मेरा पुर्खाले
बगाएको एक-एक बुँद पसिनाको
मूल्य तिरिदेऊ सरकार
आफैँले जोतेको जमिनमाथि
आफ्नो एक बित्ता पनि हक नभएको
म अनागरिक हलिया
मेरा पुर्खाले
बगाएको एकएक थोपा आँशुको
क्षतिपूर्ति तिरिदेऊ सरकार
आफैंले बगाएको पसिनामाथि
आफ्नो एक पाइला पनि स्वामित्व नभएको
म भूमिहीन किसान
मेरा पुर्खाले
चढाएको एक-एक थोपा रगतको
रगत फिर्ता गरिदेऊ सरकार
सहादतले ल्याएको संविधानमाथि
आफ्नो एक मुठ्ठी पनि अधिकार नभएको
म अधिकारहीन मजदुर
म
पखेटा
काटिएको
घाइते पक्षी—— लोकतन्त्र ।
३. आँखाको हिसाब
ए ! महापुरुष सुन्नुहोस्—
मेरो निर्लज्जतामाथि आक्षेपको
औंला ठडाउनअघि
यती चैँ याद राख्नुहोस् !
हजुरको गिद्धे नजरले लुछेका
आँखाको एक-एक पारदर्शी हिसाब
मेरो पेटीकोटको बहीखातामा सुरक्षित छन् ।
०००
कवि परिचय : खुपेन सुनुवार कविता, गीत र सङ्गीत तीनवटै विधामा सक्रिय छन् । यीमध्ये सबैभन्दा मुखर र प्रष्ट उनी कवितामा देखिएका छन् । चलिरहेको भन्दा भिन्न सोच्नु र लेख्नु अनि विसङ्गत चिन्तनलाई कवितामा मिसाउनु उनको विशेषता हो । विश्वमा चलिरहेका विभिन्न धार्मिक—सांस्कृतिक तथा विज्ञानका दर्शनलाई पनि उनका कविताले समेटेको हुन्छ । हाल युकेस्थित लण्डनमा बसोबास गर्ने खुपेन सुनुवारको ‘ब्लु नोट’ कवितासङ्ग्रह (सन् २०२१) प्रकाशित छ भने अहिले उनी नयाँ कविताकृति प्रकाशनको तयारीमा रहेका छन् ।



