
नलगाड नगरपालिका वडा नं २, जाजरकोट स्थायी घर भई हाल फोक्सटोन, केन्टमा बसोबास गरेका बेदराज खत्रीको शव नेपाल पठाउन फोक्सटोन नेपाली समाजले सहयोग संकलन अभियान शुरु गरेको छ। खत्रीकी पूर्वश्रीमती आफ्नी तीन वर्षीय छोरीसहित फोक्सटोनमै बस्छिन् भने खत्रीका बाबा-आमा नेपालमै हुनुहुन्छ।
३१ वर्षीय खत्रीको गत ३० मार्च २०२४ का दिन विलियम हार्भे हस्पिटल, आशफोर्डमा निधन भएको थियो । उनको निधन के कारणले भयो भन्ने बारे कोरोनरको अन्तिम रिपोर्ट आउन अझै बाकी छ।
गत वर्ष नोभेम्वर महिनामा पश्चिम नेपालमा आएको भूकम्पबाट प्रभावित खत्रीको परिवारमाथि अर्को चोट परेको छ। उनका वृद्ध बाबुआमाले आफ्नो जेठो छोरा, बेद खत्री, को अनुहार हेर्न साथै अन्तिम दर्शन तथा दाह संस्कारका लागि नेपाल पठाइ दिन आग्रह गरेका छन्। उनको शव नेपाल पठाउन झन्डै पाँच हजार पाउन्ड खर्च लाग्ने अनुमान गरिएको छ।
“बेद खत्रीका परिवारजनले अनुरोध गर्नु भएकाले हामीले स्वर्गीय खत्रीको शव नेपाल पठाउन सहयोग संकलन अभियान शुरु गरेका छौं। यो मानवीय कार्यमा सक्दो सहयोग गरीदिनु हुन हामी बेलायतस्थित नेपाली संघसंस्था तथा सबै सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं,” फोक्सटोन नेपाली समाजका अध्यक्ष सेवानिवृत्त क्याप्टेन रामबहादुर पुनले भने। उनले उठेको सबै रकमको हिसाबकिताब सार्वजनिक गरिने पनि बताए ।
यो खातामा सक्दो सहयोग जम्मा गर्न समाजले आग्रह गरेको छ। रकम जम्मा गर्दा जम्मा गर्ने व्यक्ति वा संस्थाको नाम तथा रेफरेन्समा स्वर्गीय खत्रीको नाम उल्लेख गर्न पनि समाजले अनुरोध गरेको छ।
Name: FNC
Sort Code: 52-41-42
Account No: 47138327
Reference: Late Bed Khatri



