
राष्ट्रिय सूचना आयोगले पत्रकार आदित्य दाहाललाई ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार- २०८१’ प्रदान गरेको छ । सूचनाको हकको क्षेत्रमा लामो समयदेखि क्रियाशील सिन्धुपाल्चोकका दाहालसहित चार जनालाई राष्ट्रिय सूचना आयोगले शनिबार पुरस्कारसहित सम्मान गरेको हो ।
आयोगको १७ औँ स्थापना दिवसको अवसरमा शितल निवासमा आयोजना भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कारसहित सम्मान गरेका हुन् । दाहालले सूचनाको हकको अधिकारमार्फत देशभरिका सार्वजनिक निकायहरूलाई पारदर्शी, जबाफदेही र उत्तरदायी बनाउन सूचना माग गरी वेथिती विरूद्ध आवाज उठाउँदै आएका छन् ।
‘लोकतन्त्रको अक्सिजनको रूपमा रहेको सूचनाको हकको प्रयोगले आफ्नो मात्रै नभई सार्वजनिक सरोकारको विषयहरू बाहिर ल्याउन मदत गर्छ, त्यसैले यस हकको प्रयोग गरी सार्वजनिक निकायलाई जबाफदेही बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्छ’, दाहालको भनाई थियो ।
सोही कार्यक्रमकाबिच उत्कृष्ट सूचना अधिकारी तथा आयोगका कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।



