
नेपाल र बेलायतबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक शताब्दी पूरा भएको अवसरमा सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा एक विशेष समारोहको आयोजना गरियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे ।
उनले आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बेलायतमा बिभिन्न पेशा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। यस्तै कार्यक्रममा जीवा लामिछाने मनिषा कोइराला पनि सहभागी थिए ।




