
समयको आह्वानमा
कता हो कता हिँडेको छु
तर दास हुँ म !
सम्बोधन भएर आउने दिनहरूसँग
अब कुनै गीत गाउने छैन
कविता लेख्ने छैन
न त तिम्रो नाममा शरणार्थी नै हुनेछु ।
हाँसेका पहाडमा
रोएका जिन्दगीहरूसँग छायाङ्कन हुँदै गाउँ–घर भोगिरहेछु
क्षेत–विक्षत् ‘राङका बुर्तुक’ क्षेत-विक्षत् ‘लुइङ थामीडाँडा, गुरुङ गुम्बा
दु:खेको बुर्तुक गाउँहरू
हेपिएको गाउँ
छेउकिनार लागेका ती युवाहरू
परिवर्तनभित्र सिद्धान्तका लाशहरू
गनाएका छन् ।
म उभिएको जमिन मसँग छैन
म अन्तिम पङ्क्ति भएर
हेरिरहेछु यी सब
तर म जीवनको मैदानमा
केही ‘वादी’ पनि बन्न नसकेको
केही प्रति-वादी पनि बन्न नसकेको
घरमा—परिवारमा र
स्वास्नी छोरा-छोरीको
माग र आपूर्तिको रेखाबाट
क्रस-फायर भएको
कवि हुँ कवि
कलम समाउने हातले
बन्दुक समाउन सकिँदैन
जातले दिँदैन|
मर्ने बेलामा कात्रो किन्नसम्म नसक्ने
खूब कलमजीवी भै’खाएको
कवि भनाउँदो साहित्यकार
मोराहरू |
बाबु–आमा
दाज्यु–भाइ
दिदी–बहिनी
इष्टमित्र !
अब म विद्रोही नै बनूँ कि ?
या जीवनको चोरबाटो हिडूँ ?
या कवि नै भएर रहूँ ?
या बेचूँ आफूलाई कतै ?
या लिलाम भइदिऊँ परदेशतिर ?
या राजनीति गरूँ ?
भोको पेटमा कविले पनि
क्रान्तिलाई गाँस बनाउन खोज्यो
भने भ्रष्टाचारी शोषकको सरकारसित के जवाफ छ हँ ?
© युवराज घलेभाइ
गान्तोक सिक्किम (भारत)/हाल: नेपाल