
सङ्गीता स्वेच्छाको कथासंग्रह ‘रोजेज ओडिसी’को बेलायतको विभिन्न सहरमा परिचर्चा तथा हस्ताक्षर कार्यक्रम भइरहेको छ । यस अभियानलाई ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियानको नाम दिँदै गत आइतबार ‘गोर्खा वुडकक इन’ फेल्ब्रिजमा लेखक भेटघाट तथा हस्ताक्षर कार्यक्रम भएको छ ।
‘पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं । ‘साहित्यलाई पाककलासँग पस्किने’ यो अभियानले नेपाली साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककलाप्रतिको प्रेमलाई पनि उत्सवको रुपमा मनाउँदछ’, गोर्खा वुडकक (The Gurkha Woodcock Inn) का सञ्चालक सुरज पाण्डेले भने।
यता एक सहभागीले लेखकलाई भेट्न पाएको र पुस्तकको हस्ताक्षरित प्रतिलिपि किन्ने अवसर पाएकोमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामीलाई प्रायः लेखकहरूसँग भेट्ने मौका मिल्दैन, यो एक अद्भुत अवसर हो।’

भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका किताबका अनुवादक जयन्त शर्माले भने, ‘यो पहलले म निकै उत्साहित छु र एक अनुवादकको रुपमा, नेपाली साहित्यलाई विश्वमा पुर्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु।’
लेखक सङ्गीता स्वेच्छाले कृतज्ञता व्यक्त गर्दै भनिन्, ‘मेरो कथाहरू मार्फत नेपाली साहित्य साझा गर्नको लागि यो मंच प्रदान गरेकोमा म गुरखा वुडकक इन फेल्ब्रिजप्रति आभारी छु र यहाँ हुने आगामी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको लागि निकै उत्साहित पनि छु।’
बुकहिल इन्टरनेशनलबाट प्रकाशित सङ्गीता स्वेच्छाको कथा संग्रह, ‘रोजेज ओडिसी’ (Rose’s Odyssey) अप्रिल २०२४ मा बेलायतमा विमोचित भएको थियो। बेलायतभरि यस पुस्तकको ६ वटा पुस्तक-हस्ताक्षर कार्यक्रमहरू भइसकेका छन् ।




