
यही श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा काठमाडौंमा हुने ‘किताब जात्रा’को छैठौं संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
‘किताब जात्राको छैठौं संस्करणको तयारी पुरा भएको घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल-डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी सबै लेखक पाठक तथा आम मानिसलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दछौँ ।’
जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कला क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुने छन् । फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ ।गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो । किताब जात्राकै अवसरमा एकजनालाई खुला आवेदनको आधारमा किताब जात्रा पश्चात सीए अध्ययनका लागि ‘प्रेम प्रसाद मेमोरियल स्कलरशीप’ प्राइम सिएको सहकार्यमा छात्रवृति प्रदान गरिनेछ।



