युके विशेषसाहित्य

स्वर्गको हडताल

उमेश रेग्मी

253views

देवताहरूको आन्दोलनले स्वर्गलोक अशान्त भएको महिनौँ भइसकेको थियो। शासक वर्ग र आन्दोलनकारीबीच सहमति हुन नसक्दा दिन प्रतिदिन स्वर्ग अस्थिर बन्दै गइरहेको थियो। समाधान गर्ने हरेक प्रयत्नहरू विफल भइरहेका थिए।

इन्द्र-सभा रमणीय हुनुको सट्टा कुर्सी फालाफाल गर्ने अनि आफ्नो शक्ति प्रदर्शन गर्ने थलोको रूपमा परिणत हुँदै गइरहेको थियो। आफ्नो कुशल नृत्य गरेर देवतालाई सधैं मनोरञ्जन गराउने अप्सराहरू सभामा आउन छोडिसकेका थिए। यस्तो लाग्थ्यो त्यो सभाकक्ष नभएर कुनै पहलमानी गर्ने अखडाजस्तो।

देवताहरूको आन्दोलनबाट दिक्क बनेका देवराज इन्द्र आफ्नो अर्धांगिनी शचिसामु सधैं न्याउरो मुख लाएर बसिरहन्थे। उनलाई आन्दोलन अन्त्य गर्ने कुनै उपाय सुझिरहेको थिएन। आन्दोलनकारीको अनौठो मागबाट उनी विचलित अनि भयभित पनि थिए। आफ्ना देवताहरूबाट कल्पना नै गर्न नसकेको गतिविधि देख्दा दु:खी थिए देवराज। शचि पनि आफ्नो पति परमेश्वरको न्याउरो अनुहारबाट दिक्क थिइन्। स्वर्गमा आन्दोलन पनि हुनसक्छ भन्ने कुराको विस्वास हुन सकिरहेको थिएन शचिलाई। देवताहरू कहिलेदेखि स्वार्थी भए भन्ने कुराले दुवै पति-पत्नी चिन्तित थिए।

उता आन्दोलनकारीको अगुवाई गरिरहेको कुवेरले इन्द्रलाई प्रष्ट चुनौती दिएका थिए। आफ्ना मागहरू पुरा नभएको खण्डमा आन्दोलन जारी राख्ने अनि आवश्यक परेमा धरतीलोकलाई पनि सहयोगको लागि निम्ता गर्ने धम्कि दिएका थिए कुवेरले आन्दोलन सुरु गर्नुअगावै। त्यसै दिन देखि स्वर्गमा ‘कुर्सी छोड’ को नारा बुलन्द भएको थियो।

दुवै पक्ष्यलाई मिलाउने प्रयास गरिरहेका महर्षि नारदले आन्दोलनकारीको माग प्रस्तुत गरिसकेका थिए इन्द्रलाई, जुन यस प्रकारका थिए :

१. प्रजातान्त्रिक हिसाबले स्वर्ग प्रमुख चुनिनु पर्ने। सधैं इन्द्रमात्रै कुर्सीमा बस्न नपाइने।
२. स्वर्ग प्रमुखले देवताहरूको कार्य विभाजन गर्ने।
३. कार्यकाल जम्मा पाँच वर्षको हुनुपर्ने।
४. कार्यकालभरि स्वर्ग प्रमुखले मात्र अप्सराहरूको आनन्दभोग गर्न पाउने।
५. स्वर्ग प्रमुखले मात्रै धरतिलोकका नेताहरूसँग वार्ता गर्न पाउने (राजनीतिक दाउपेच सिक्नबाहेक अन्य कुरामा वार्ता वर्जित)

यी पाँच मागहरूसहित आन्दोलनरत देवताहरूसँग वार्तालापबाट समस्याको समाधान गरौँ भन्ने इन्द्रको सन्देश लिएर गएका नारदलाई कुवेरले ढोकाबाट नै लत्याइदिएका थिए ‘सामन्तीको पक्ष्यधर’ भन्ने कडा जवाफ दिएर।
जतिजति आन्दोलन छिप्पिँदै थियो त्यतित्यति नयाँ कुराहरू समेटेर अस्थिरता बढ्दै थियो।

देवताहरू धरतीलोकमा अवस्थित एउटा सानो देश नेपालको राजनीतिक उथल-पुथलको उदाहरण दिने गर्थे आफ्नो आन्दोलनलाई टेवा दिनेहेतु। देशको ढुकुटी बाँडीचुँडी खाएको राम्रो लागेको थियो उनीहरूलाई। साथै विलासिताका कुरामा एकलौटी राज गर्न पाइने प्रावधानबाट उनीहरू पनि प्रेरित थिए। सायद त्यसैले होला उनीहरूले आफ्नो माग सोहिअनुरूप राखेका थिए।

इन्द्रको छटपटी दिनानुदिन बढ्दै गइरहेको देखेर महर्षि नारदले शृष्टिकर्ता ब्रम्हाजीसँग विमर्श गर्ने निर्णय गरे। ब्रम्हलोकमा पुगे नारद ‘नारायण नारायण’ जप्दै। विस्तारपूर्वक वर्णन गरे स्वर्गमा भएका उथलपुथल नारदले। ब्रम्हाजीलाई आश्चर्य लाग्नु स्वाभाविक नै थियो। वृद्ध भइसकेका ब्रम्हाजी स्वर्गको अवस्थाप्रति अनभिज्ञ रहेछन्। उनलाई स्वर्ग प्रमुखले मात्र अप्सरा लगायत विलासिताका कुरा उपभोग गर्न पाउने मागले प्रभावित गरेछ। बृद्धले आफ्नो जिज्ञासा प्रकट गरे नारदसामु, ‘हे महर्षि, ब्रम्हलोकमा सरस्वतीको विणा सुन्दासुन्दा वाक्क भइसकेको म पनि स्वर्गमा गएर एउटा पार्टी खोलेर चुनाव लडेँ भने त जितिन्छ कि क्या हो। स्वर्ग प्रमुख भएर पाँच वर्ष सुखभोग गर्न पाइने प्रावधान मिलाउन पर्ला जस्तो छ बुझ्यौ।’

तीन छक्क परे नारद ब्रम्हाजीको कुराले। स्वर्गको भद्रगोल मिलाईदेलान बुढाले भन्ठानेको, उल्टै भाँडभैलो पो होलाजस्तो हुने भयो भन्दै कुलेलाम ठोके उनी हिमालयतिर शिवजीलाई भेट्न।

भाङ्ग-धतुरो खाएर ध्यानमा मग्न थिए भोलेबाबा। पार्वती र गणेश नजिकै थिए। महादेवका सेना, नन्दी भ्रिंगीहरू छरिएका थिए चारैतिर। नारद आएको देखेर आफ्नो वाहन मयुरमाथी सवार हुँदै कार्तिकेय कुमार पनि आइपुगे। ध्यान मग्न शिवजीलाई विन्ति गर्न थाले नारदले स्वर्गको अवस्थाको बारेमा। नारदको कुरा संगै रहेका गणेश र कुमारले सुनिरहेका थिए।

महादेव मौन रहे तर गणेश बोले, ‘हे नारद, स्वर्गको सुख भोग र त्यहाको बैभवमा हामी पनि लालायित छौ। अहिलेसम्म इन्द्रले एकछत्र राज गरे। कुवेर आदि देवताहरूले आन्दोलन गरेर प्रजातान्त्रिक अभ्यास शुरू गर्न लागेका रहेछन्। हाम्रो समर्थन छ। बरू हामी पनि हिमालय बाट एउटा पार्टी खोल्छौ। म स्वयम् नेतृत्व गर्छु। नन्दीभ्रिंगी लगायत हाम्रो ठूलो सेनाको मतले मेरो जित निश्चित छ। स्वर्गको सुखभोग गर्ने यो सुनौलो अवसर म कदापी गुम्न दिने छैन।’ नारद हैरान थिए गणेशको कुराबाट। उता कुमारलाई गणेशको कुरा मन परिरहेको थिएन। नारदले मनमनै हिमालय पार्टीभित्र अन्तर्घात हुन सक्ने अनुमान लगाउँदै बिदा लिए बैकुण्ठ जानलाई।

‘नारायण नारायण’ जप्दै नारदमुनि भगवान बिष्णु शयन गरिरहेको क्षिर सागरबिच पुगे। साथमा लक्ष्मी अनि शेषनागको शैय्यामा विराजमान बिष्णु मुस्कुराए नारदलाई देखेर। आफ्नो दिब्य दृष्टिले सबै कुरा पहिले नै थाहा पाइसकेका विष्णुले नारदलाई सम्झाए, ‘हे नारद, स्वर्गमा भएको आन्दोलन जायज हो। इन्द्रले राज गरे अहिलेसम्म। अब अरूलाई पनि मौका दिनुपर्छ। म तिमीलाई नै कुरेर बसेको नारद। मैले पनि पार्टी खोल्दैछु। त्यसको प्रचारप्रसार गर्ने जिम्मा तिमीलाई I चुनाब जितेर स्वर्ग प्रमुख भएपछि मेरो मुख्यमन्त्रीको पद तिमीलाई भयो।

मुख्यमन्त्रीको पद सुनेदेखि नारद प्रचारप्रसारमा व्यस्त छन्। इन्द्र-सभा स्थगित छ। आन्दोलन अन्त्य हुने संकेत देखिँदैन।

(बेलायतनिवासी रेग्मी व्यंग्य निबन्ध लेखनमा सक्रिय छन्)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.