
१. भीष्म
आफ्नै वंशहरू छन्— युद्धको पक्ष र विपक्षमा
युद्ध हार्ने निश्चित हुँदाहुँदै
जिताउने प्रयास भइरहेछ- कौरव पक्षलाई
वचन- राजनीतिज्ञको भाषणभन्दा फरक हुने रहेछ
ए धृतराष्ट्र !
दृष्टि आँखामा मात्र हुँदैन भन्ने किन बिर्सियौ ?
अहम्को पर्दा नहट्नु पनि दृष्टिविहीन हुनु हैन ?
ए दु:शासन !
सारी लम्बिनु र लाज छोपिनु सत्य हो भने
सारी तानेर प्रफुल्ल हुने तिम्रो दृष्टि-
आँखाको कि मनको
यदि सारी नलम्बिएको भए
तिम्रो आँखाले जित्थ्यो या मनले ?
तिमीले पुरुषकै पुरुषार्थको वस्त्र खोल्यौ
कुन कल्पले यसलाई सकार्छ ?
ए शकुनि !
मैले प्रेमको अनुभव गर्न सकिनँ जिन्दगीमा
अझ तिमीलाई सम्झिएँ भनेँ-
प्रेम सम्झन पनि डर लाग्छ,
कसैले दिदीलाई- अपुतो बनाउने गरी प्रेम गर्छ ?
विधवा बनाउने गरी कर्म गर्छ ?
प्रतिशोध पनि बेलुनजस्तो हुन्छ- फुट्छ
ए पाण्डव !
नागरिक हुनु- नागरिकता नपाइनुजस्तो
जग्गा हुनु- आफ्नै नामको पुर्जा नहुनुजस्तो
अभिभावक हुनु- न्याय नहुनुजस्तो
अर्को कुनै दुःख हुँदैन
तर क्रिडाको परिधिमा चेतना गुमाउनु पनि- मेरै दोष ?
ए विदुर !
नीति आफैंमा पूर्ण नहुने रहेछ
नसकिने रहेछ सुन्दर नीतिले नियति बदल्न
भ्रामक दृष्टिमा खुट्टा लर्बरिन्छ भन्थे- हो रहेछ
ओ कर्ण !
तिमी पनि अलमलिएको हो- सम्बन्धको भुमरीमा
सम्बन्धले तागतलाई दबाउने रहेछ
कमजोर बनाउने रहेछ
ए कंस !
सत्ता हुनु- त्रास हुनु
खुट्टा हुनु- हिँड्न नपाइनुजस्तो हुन्छ, हैन र ?
नहिँडेर पुग्ने गन्तव्य छ र दुनियाँमा ?
ए पौन्ड्रक वासुदेव !
नक्कल गरेर नक्कले भइन्छ- शासक हैन
न कोमलता- न चेतना
न विश्लेषण क्षमता- न नेतृत्वको गुण
अनुहार मिल्दैमा- मिल्दैन क्षमता
क्षमताको मापक प्रतिफल हैन र ?
अनेक पात्रहरूका समीक्षा गर्दागर्दै
हराएछु वास्तविकताबाट अनन्तमा
लगभग युद्ध सकिएछ
अब स्वेच्छिक मरणका लागि तयार हुनु छ
अंशबन्डा भएपछि- पुर्ख्यौली
बाआमा दास हुनुपर्छ- नियतिको
ए कृष्ण !
सत्यको युद्धमा बर्बरिक भएको भए
जित कसको हुन्थ्यो ?
मलाई गर्नु छैन यो प्रश्न
मुक्त हुनु छ मात्र दासताबाट
महाभारतको यो सत्य युद्धपछि
कर्ण, बर्बरिक र मेरो आत्माले कसरी मुक्ति पाउँछ ?
०००
२. आमाको अन्तिम पत्र
अनौ खुस्किएको हलोजस्तो छ जिन्दगी
न बिऊ छ प्रेमको छर्नलाई
न हली छ–
हलो अठ्याउने र अनौ मिलाउने
तैँले धेरै पैसा कमाउँदा कमाउँदै
मलाई भेट्न आउन नपाउँदै
कसोगरी खुस्कियो भने श्वास, मलाई क्षमा गर्नू
कसोगरी समय कुर्दाकुर्दै चौतारीमा
ढलिगयो भने आश्वासनको झिनो सम्भावना
सम्झनू- पिलो निको भैगयो अप्ठ्यारोको
उठ्दाउठ्दै चेतनाको स्तरबाट
कतै सम्झना आयो भने बालापन र ममताको
सम्झनु बुख्याँचा भत्कियो होला आँगनको
जो बिस्कुन कुर्न बनेको थियो वर्षौं पहिले
कतै नदेख्नु पर्ने सपनामा
मुस्कुराएँ भने झुक्किएर
नब्युँझनू सपनाबाट
ब्युँझनुपहिले
बरू बिर्सनू सपना र क्षमा गरिदिनू मलाई
निधारको पसिनाको एक बुँदले
खुट्टाको माझी औँलामा छोयो भने अनायासै
अस्थिर हुनसक्छ खुट्टा र लाग्न सक्छ चोट
बिग्रिन सक्छ घाउ
यसो हुँदैमा
औँला नकाट्नू, पसिना पुछ्नू
औँला आफ्नो हुन्छ
आफ्नोबाट आफ्नो छुटिँदा आफ्नै छाती दुख्छ
सन्तानलाई धेरै गाली नगर्नू
उसैलाई सिक्न दिनू जिन्दगी
जबर्जस्ती दिएको शिक्षाले
बाटो भत्काउने रहेछ आफ्नै
आफैँ सिक्नेहरूले बनाउने रहेछन् बाटो
यदि तँ नआउँन्जेल
मैले कुर्न सकिनँ भने यो झुपडी
खर्च छोट्टियो सम्झनू, यात्राको
बाँकी रहेनछ भने बहुमूल्य जिन्सी
तेरो अधिकारको
मेरो आखिरी गल्ती सम्झनू, क्षमा गरिदिनू
घिट्घिट्को साक्षी भैगइस् भने झुक्किएर
मलाई बोलाउनू–
बरू झर्केरै सही– जरूर बोलाउनू
तेरो न्यास्रोमा अड्किएको श्वास
छुट्न सकोस् मबाट सहजै
र, म मर्न सकूँ निर्धक्क
अँ साँच्ची,
म पनि तँजस्तै भएछु भुलक्कड र स्वार्थी
सुनाइदिनु भनेका छन् तँलाई
गुराँस र गाउँले न्यास्रिएको कथा ।
०००
३. मुक्ति
कुल्चँदै अभावका सिँडिहरू
पुग्नै लाग्दा सफलताको शिखर
भेटियो कहिल्यै नदेखेको मुलुक
जहाँ अलाप-विलाप गर्दै
मागिरहेछन् जनहरू आफ्नै देह रोगसँग
कहिल्यै दुखेन हृदय
आफ्नै भाग्यमा टाटो देखिए पनि
कहिल्यै चिलाएन मस्तिष्क
दुस्मनहरूका कुदृष्टि लागे पनि
जसको सौभाग्य बोकेर दौडँदोरहेछ समय
अफसोच उनीहरू नै मागिरहेछन् भाग्य
बरू थलै परेको भए देख्न पर्ने थिएन यो दुर्गति
हेर न—
देवताहरू पनि देवतै पुकारिरहेछन्
अब देवता बचाउन को बन्ला देवता ?
न चिलाउँछ, न पोल्छ, न दुख्छ कतै
र पनि चिलाएको, पोलेको, दुखेको अनुभूति छ हरदम
कोही बताउनुस् उपाय
अब आजाद हुनु छ यो समस्याबाट
अनि छर्नु छ आजादीको मुस्कान
रोगको पनि धर्म हुँदोरहेछ
कसैको धर्मले कसैलाई दुःख दिँदोरहेछ
उसको धर्मबाट बञ्चित गराउने क्षमता नहोला हामीसँग
यसो भन्दैमा रोगलाई छातीमा राखेर
गर्व गर्न सकिँदैन सधैँभर
प्रेम उमार्नुपर्छ अब रोगको छातीमा
बनाउनुपर्छ सुन्दर बगैँचा
इलाज गर्नुपर्छ यी देवताहरूको
आउनुहोस् मित्र
अब इलाज गरौँ रोगहरूको
र हरियो बनाऔं सुकेको जिन्दगी
खुब बिरक्तिएका छन् मन्दिरका पुजारीहरू
अब यी पुजारीहरूलाई पनि
मुक्त बनाउनुपर्छ डाँफेजस्तो
चाहिँदैन यस्तो सम्बन्ध
जुन सम्बन्धले दुखिरहनु परेको छ अपांग भएर
जुन सम्बन्धले अपमानित हुनुपरेको छ
कुजात हुनु परेको छ
हामीसँग पाण्डवजस्तै मिलेर, रहेन यात्रा गर्ने सामर्थ्य
मात्र बाँचिरह्यो रावणको जस्तो घमण्ड
त्यसैले मरुभूमि भएको छ मुलुक
अन्तिम इच्छा नै सही
समुद्रमा डुबेर
मरुभूमिको शितलता नाप्दै
सुन्दर बस्ति बनाउनु छ मरुभूमिमा
जहाँ रोग त के
सूर्यको किरण पनि डराएर सफर गरोस् ।
०००
कवि परिचय : काभ्रेपलाञ्चोक भुम्लुका अदीप अधिकारी पछिल्लो एक दशकदेखि कविता र गजल लेखनमा सक्रिय छन् । छोटा कविता लेखन उनको विशेषता हो । यद्यपि पछिल्लो समय उनका कविताको आकार केही लामो र विस्तृत हुँदै आएको पाइन्छ । यहाँ प्रस्तुत तीनवटा कवितामा पनि उनले कतै वर्णन त कतै जिज्ञासा उठान गर्दै कविताको आयामलाई विस्तृत बनाउन खोजेको देखिन्छ । समग्रमा अदीप अधिकारीको भाषा केही जटिल देखिन्छ । त्यसको कारण अरू कविले भनेको भन्दा पृथक भाषाशैली र प्रतीकलाई मान्न सकिन्छ । कवि अदीपको केही कविता महेश पौड्यालले सम्पादन गरेको ‘उज्यालोका मालीहरू’ (२०७६)मा संग्रहीत छ । उनी अहिले शिक्षण पेशामा आबद्ध छन् । उनलाई adhikariadip46@gmail.com सम्पर्क गर्न सकिने छ ।



