
सेन्टर फर नेपाल स्टडिज युके (CNSUK) ले आफ्नो वार्षिक भेला (समर सिजनको) रिडिङमा सम्पन्न गरेको छ ।
उक्त अवसरमा संस्थाले दुई नयाँ अभियान पनि सुरु गरेको छ । पहिलो अभियानअन्तर्गत मासिक रुपमा अनलाइन कार्यक्रम गर्ने भएको छ । जसको नाम ‘Nepal Dialogue UK: Monthly Webinar Series’ रहेको छ । यसैगरी अर्को वर्ष गर्मीयाममा एक कार्यशाला आयोजना गरी नेपाल र दक्षिण एसियाको छात्रवृत्तिमा प्रो. डेबिड गेलनरको योगदानबारे शोधग्रन्थ तयार पार्ने रहेको छ । अक्स्फोर्ड युनिभर्सिटीको औपचारिक प्राध्यापनबाट यसै सेप्टेम्बरमा अवकाश पाउन लागेका गेलनर CNSUK को संस्थापक सल्लाहकारसमेत हुन् ।
CNSUK का कार्यकारी निर्देशक श्री लोकेन्द्र ढकालले यी दुवै अभियान नेपाल बेलायत सम्बन्धको महत्त्वपूर्ण आयाम रहेको बताउँदै दुवै अभियानमा बेलायतमा रहेका नेपाली व्यावसायिक संस्थाहरू र व्यक्तिहरूको सक्रिय सहभागिता रहनुपर्ने बताए ।
कार्यक्रममा CNSUK अनुसन्धानकर्मी तथा साहित्यकार डा. संगीता श्रेष्ठ स्वेच्छाको पछिल्लो कृति ‘रोजेज् ओडिसी’को पुस्तक हस्ताक्षर कार्यक्रम पनि गरिएको थियो । ‘रोजेज् ओडिसी’ श्रेष्ठले लेखेको अंग्रेजी भाषाको कथासंग्रह हो ।
यसैगरी डा. कृष्ण उपाध्यायलाई संस्थाको नयाँ रिसर्च एसोसिएटको रूपमा टोलीमा स्वागत गरिएको थियो ।



