
लेखक गोपी सापकोटाको पछिल्लो कृति ‘लन्डन अनप्लग्ड’ माथि हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सापकोटाले यो पुस्तक लेखनको प्रेरणा, लेखन यात्रा र आफूले सामना गरेका चुनौतीहरूबारे पोयो खोले ।
सापकोटाले लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएको अनुभवलाई आधार बनाएर लेखेको यो पुस्तकले पाठकलाई यथार्थ र कल्पनाको संगममा डुबाउने प्रयास गरेको छ। उनले भने- ‘लन्डनको दैनिकीलाई चित्रण गर्न निकै कठोर भए पनि, यसले पाठकलाई नयाँ अनुभव प्रदान गर्नेछ।’
कार्यक्रममा उपस्थित साहित्यकार शान्ति प्रियवन्दनाले पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै, ‘पसिनाको ह्विस्की’ शीर्षकको अध्यायलाई विशेष मन परेको बताइन् । उनले भनिन्- ‘सापकोटाको यो कृति सिर्जनात्मक आख्यानको रूपमा लेखिएको भए पनि, यसले निबन्धको झल्को दिन्छ।’
पूर्वी नवलपरासीको गैंडाकोट घर भएका सापकोटा सन् २००८ देखि बेलायतमा बसोबास गर्दै आएका छन् । ‘कलम प्रकाशन’बाट प्रकाशित पुस्तकको मूल्य ६ सय ३५ रुपैयाँ छ ।




