साहित्य

अनामिका सजलका ३ कविता

881views

१. बुद्ध, बहुला र म

लट्टा परेको कपाल
मयलको पत्रले पुरिएर एउटै भएको
छाला र लुगाको रंग
खप्टिएर भिरेको फ्याङ्ले कपडाले
धर्म छोडेर देखिएको लाज
चालिस डिग्रीको पिचमा लतारिएका
नाङ्गा पैताला
दुनियाँले देखिरहेको यो सामान्य दृश्यले
म असामान्य हुन्छु ।

बीच सडकमा बिना त्रास, बिना संकोच
निडर, निर्भय ऊ थचक्क बसिदिन्छ
एउटा अज्ञात भयले, म आँखा चिम्लन्छु
मेरो मस्तिष्क
रगत र गिदिको आहालमा लट्पटिएको
मानव आकृतिले विकृत हुन्छ
म आँखा लुकाएर पछि हट्छु ।

आश्चर्य !
कुनै दन्त्य कथाको नायकको झैँ
निर्भीक अट्टहासले म फर्किएँ
न रिस, न राग, न भय, न अपेक्षा, न उपेक्षा
शान्त उसका आँखामा मैले बुद्ध देखेँ
एकाएक कस्सिएको मुठ्ठी
र आक्रोशित लवजले म अल्मलिएँ
मैले भर्खरै देखेको शान्त आँखा
बुद्धको कि बहुलाको ?

बहुलाको आँखामा बुद्ध देख्ने
मेरा आँखा बहुला हुन् कि
बुद्धलाई बहुला देख्ने मेरो मगज उस्तो ?

ऊ यसरी उठ्यो
जसरी आफ्ना डमरूको रक्षामा बघिनी उठ्छे
अन्धाधुन्ध झम्टन्छे र लुच्छे
ठिक त्यस्तै उसको गर्जनले म अलिक पर भाग्छु
अरू मानिस पनि भाग्छन्
ऊ बुद्ध होइन बहुला हो ।

बहुलाले जुनसुकै बेला जस्तोसुकै हुर्मत लिन सक्छ
मान्छेलाई मान्छेको अगाडि नाङ्गिन लज्जा हुन्छ
नाङ्गो बहुलालाई न लज्जा, न ग्लानी
बाटोको माटो उठाएर शीरमा हाल्छ
र खोच्चिएका खुट्टा उचालेर सपथ खान्छ
‘सत्य सेवा सुरक्षणम्’
बेसुरा हर्कतबाट भीडले मज्जा लिन्छ
र हाँस्छ उपहास
त्यसपछि ऊ ढुंगा उठाउँछ र भिडतिर दौडन्छ
के बुद्ध बहुलाउँदा यस्तै हुन्छ ?

छिन्नभिन्न भएर भीड हराउँछ
तातो सडकमा फेरि थचक्क बस्छ
चिसो तातोको सन्देश नपठाउने रक्तनशा
घाम-पानीको असर नदेखाउने हाड-छाला
जब व्यस्त सडक अवरूद्ध हुने गरेर
व्यस्त मानिसका पाइला टक्क अडिने गरेर
बीच बाटोमा तेर्सो पर्छ र बर्बराउँछ
फेरि पनि म
शिष्यहरूको माझमा दर्शन बाँडिरहेको बुद्ध देख्छु
सिलसिलाविहीन उसका विषयहरू
प्रसङ्गविहीन राखिएका तर्क
प्रयोगविहीन भएको प्रमाणितजस्तो
कताकता कस-कसलाई झट्का लाग्छ
र फेरि बुद्ध बहुलामा परिणत हुन्छ

ऊ माटोको टीका लगाउँछ,
माटोको ओछ्यानमा माटोकै सिरान हाल्छ
बिना लोभ कोही पापी हुन्न
ऊ पापी होइन, उसलाई लोभ के को ?
ऊ बहुला फगत् बहुला
मगज सड्केको बहुला
ऊ आफ्नै भाइलाई दलाल भन्छ
देश बेच्नेहरूको सत्तोसराप गर्छ
गरिबको पसिनामा रजाइँ गर्नेहरूको
माटोको मोलमोलाइ गरेर
नाप नक्सा खुम्च्याउनेहरूको पोल खोल्छ
सत्यसँग डराउनेहरूले, इमान बेचेर नाङ्गिएकाहरूले
तर्कले जित्न र इमानले हार्न नसक्नेहरूले
ऊतिर औला उठाएर भने— बहुला हो यो

अब सबै उसलाई बहुला देख्छन्
ऊ सबैलाई भ्रष्ट देख्छ
कहिले आनन्द बोल्छ कहिले आक्रोश
कहिले घीन बोल्छ कहिले करूणा
बेप्रवाह बोल्दाबोल्दै अनियन्त्रित हुन्छ
एउटा कम्पनले डगमगाउँछ भीड र धपाउँछ
म घरि बुद्ध देख्छु, घरि बहुला
हुन सक्छ मेरो भ्रम
कतै म आफैं त बहुलाइनँ !

२. प्रिय पारिजात

यो हाड मासुलाई
माटोको जिम्मा लगाएर
आउनेछु तिम्रो समिप र सोध्ने छु —
तिमीले सकम्बरी र सुयोगवीर लेख्दा
साल्गीको बलात्कृत आँसु लेख्दा
अन्तरमुखी र अपरिभाषित आँखा लेख्दा
एउटा अपमान सही
एउटा तिरस्कार सही
एउटा अपवाह सही
कसैकी रण्डी हुन पर्यो कि परेन ?
कसैकी वेश्या हुन पर्यो कि परेन ?
मलाई शङ्का लाग्छ
कतै उपमाहरूको भारीले
आशङ्का र कपोकल्पित दिग्भ्रमहरूले
तिमीलाई बाँझो राखेको त थिएन ?

मेरा घाउहरू देखाएर सोध्ने छु तिमीलाई
तिमीले ती घाउहरू
उतै छोड्यौ कि सँगै लिएर आयौ ?
त्यहाँजस्तै पोल्छ कि शितल छ यहाँ ?
कट्कटी दुख्ने हात-गोडाका जोर्नी
अशक्त फोक्सोको उकुसमुकुस
त्यहाँभन्दा बेसी
दुख्यो कि दुखेन मनको धरातल ?
प्रिय पारिजात !
फुलेपछि नझर्ने जीवन के को छ र ?
तिमी झर्यौ एउटा उचाइमा पुगेर
म भुइँमा पोखिनुको
बाटोमा छरिनुको
हजारौं पैतालाले कुल्चिनुको
एउटा तितो कहानी लिएर आउने छु
मेरा सवालहरूको जवाफ खोजिराख है ।

३. कलियुगकी कुन्ती

तिमी त्यो युगकी कुन्ती होइनौ
जसको अवैध प्रेमको एउटा कहानी लेखियोस्
र युगयुगले सम्झना गरिरहोस् ।

यहाँ बिस्तारासम्मको यात्रा सँगै
प्रेमको आयु सकिन्छ
र नजन्मिँदै सहिद हुन्छन् कलियुगका कर्णहरू
कलिलो पाठेघर क्षतविक्षत बनाएर
हुर्काएको प्रेमको चिनो
सिस्नु र बाँसघारीका झाङमा लगेर
फ्याँक्न पनि हिम्मत चाहिन्छ
ऊ युगकी कुन्तीले त नदिमा बगाइदिनुपर्यो
छातिमा टाँसेर वात्सल्य पोख्न सकिनन्
तर म तिनको कायरतालाई थुक्छु ।

बरू यहाँका सडक सडकमा भेटिने
बौलाहीहरू बहादुर लाग्छन्
घर बिर्सिए, समाज चिनेनन्
देश छैन, अधिकार छैन
र पनि कत्ति मिठो मातृप्रेम छ
उसको नाङ्गो छाति
कत्ति पनि अश्लील देखिन्न
किनकि त्यहाँ वात्सल्यताको वस्त्र छ ।

अन्धकारको छायामा उत्तेजनाको पानी पोखेर हिँड्ने
महापुरुषलाई आफ्नै अनुहारको खाते केटो देख्दा
आङ्ग सिरिङ्ग हुन्छ कि हुँदैन ?
विलासिताको घमण्डले
मान्छे नभएरै मान्छे हुनुको घमण्डले
जात, धर्म, वर्ण र वर्गको घमण्डले
कहाँ पुर्‍याउँछ समाज
कहाँ पुर्‍याउँछ युग
एकले अर्कालाई हुत्याउँदा हुत्याउँदै
आफू पनि हुत्तिन के बेर
सांसारिकता जलेर एकैचोटि खरानी पनि भइहाल्दैन

फेरि टुटेफुटेका सम्बन्धहरू
नाता र निशानीहरू
उस्तै बनाउन, दिगो र सिङ्गो बनाउन
अरू धेरै युग पर्खनुपर्छ
तिमी आँखा चिम्लेर हाम नफाल
मृत्युको पनि मापदण्ड हुन्छ
गहिराइ र उचाइ नाप्न भए पनि आँखा खोल
गोडा लतारेर हिँडेपछि ठेस लाग्नु स्वभाविक हो
जानेर लागेको ठेस कम दुख्छ ।

आफ्नी प्रेमिका अर्धवस्त्र
चोकचोकमा बहुलाएर हिँडेको हेर्न सक्नु
आफ्नो प्रेमी निर्वस्त्र
गल्ली-गल्ली भौँतारिएर बाँचेको हेर्न सक्नु
यो समयको, प्रेममा भरिएको विषको घडा हो
कोही पिएर पनि बाँच्छन्
कोही नपिए पनि जिउन सक्दैनन्
तिमी त्यो युगकी कुन्ती भएर
प्रेमपान नगर
सूर्यको किरणभन्दा छिटो झर्ने
पुरुषको वीर्य आफूमा लीन नगराऊ
त्यो प्रेम होइन वासना हो
स्खलित उत्तेजना सँगै
शिथिल हुने प्रेमले सन्तुष्टि दिने छैन
र तिमी पगली भएर, बहुलाही भएर
मन्दिर, देवालय, सत्तल, पाटी-पौवा
कुना-काप्चा जताततै बलात्कृत हुने छौ
हर दिन, हर रात
त्यहाँ न तिम्रो जात चाहिन्छ, न रूप, न रंग, न वर्ग
न चाहिन्छ तिमीलाई सन्तान जन्माउन वैधानिक लोग्ने
या वैधानिक कानुन
कसैले प्रश्न गर्ने छैनन् तिमीलाई–
‘तिम्रो बच्चाको बाउ कुन हो ?
तिम्रो बच्चाको जात कुन हो ?’

सोधे पनि के
तिमी कि हाँसिरहनेछौ, कि रोइरहनेछौ
कि ढुंगा टिपेर लखेट्ने छौ अलि परसम्म
फेरी उही नियति, उही प्रहार
उही दुखाइ, उही कठोरता !

म मान्दिनँ रामको आदर्श
बरू प्रेमको सच्चा भक्त हो रावण
प्रेमले कुमारी योनी खोज्दैन
योभन्दा ठूलो उदाहरण कुन हुन्छ ?
यदि रावणको प्रेममा सीताको चरित्र हुन्न थियो भने
अपहरण, अपहरण हुने थिएन
प्रेमको उत्सव हुने थियो
तिमी यो युगकी सीता
अग्नि कुण्डमा हामफालेर
आफ्नो सतित्व सावित गर्न सक्दिनौ
छातिको आकार नबढ्दै
ब्वाँसाहरूको सिकार भइसकेकी तिमीलाई
अग्निले पनि साथ दिने छैन
यौवनको अआगो निभाउन
प्रेमको तेल नथप
तिमी आफैंमा एउटा शक्ति
आफैंमा एउटा संसार
खण्डहर बनाएर धरतीलाई श्राप नदेऊ
धरतीले पनि किसिम किसिमका जीव जन्माएको छ
आकाशले पनि किसिम किसिमका पिण्ड बोकेको छ
तिमी धरती बन
आकाश बन
आमा बन
अनि नारी बन !
०००

कवि परिचय : काभ्रेपलाञ्चोककी अनामिक सजल दुई दशकदेखि गजल र कविता लेखनमा सक्रिय छिन् ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.