विचार/ब्लग

मल्लिकाजानसँग नसोचेको भेट !

710views

१९९३ मा बम्बेमा (मुम्बई) भएको बम धमाकामा आधारित फिल्म ‘बम्बे’को प्रदर्शनसम्म आइपुग्दा सिङ्गो बलिउड मनिषा कोइरालाको सौन्दर्य र अभिनयले कायल भइसकेको थियो। प्रसिद्ध निर्देशक मणि रत्नमको निर्देशनमा सन् १९९५ मा रिलिज भएको थियो उक्त सिनेमा। यता नेपालमा एक नेपाली छोरीको यो सफलताले खुशी नहुने सायद कोही नेपाली थिएनन् होला।

फेरि एकपटक तीस वर्षपछि मनिषा कोइरालाको चर्चा बलिउडमा चुलिएको छ। सञ्जयलीला भंसालीको बहुप्रतिक्षित वेभ-सिरिज ‘हीरामण्डी’मा मनिषाले निभाएको मल्लिकाजानको भुमिकाले उच्च र अलग्गै छाप छोडेको छ। यसले मनिषालाई महान् कलाकारको दर्जामा खडा गरेको छ। ५४ वर्षको उमेरमा पनि उनको सौन्दर्यको प्रसंशा यसरी भएको छ, जति जवान कलाकारहरूको हुँदैन।

यद्यपि आज म यहाँमा हीरामण्डीको बारेमा चर्चा गर्न गएको छैन । यसबारे संसारभरिका सञ्चार माध्यममा समीक्षा आइरहेका छन् । यहाँ म एउटा अलग्गै प्रसङ्गको चर्चा गर्नेछु । त्यो हो नायिक मनिषा कोइरालासँगको मेरो पहिलो भेट र अन्तर्वार्ता ।

सानैदेखि फिल्म भनेपछि हुरुक्क हुने मलाई साथीहरू ‘फिल्मको इन्साइक्लोपेडिया’ भन्थे। मलाई फिल्मको यति मोह थियो कि स्कुल जीवनमा कुखुराको फुल चोरेर अनि बेचेर हरेक शनिबार फिल्म हेर्न टाँडी पर्सा नारायणघाट पुग्थेँ। मायापुरी, फिल्म सिटी, र किगंस्टारजस्ता साप्ताहिक पत्रिका र मासिक पत्रिका फिल्म फेयर मेरा नियमित खुराक थिए।

२०५४/५५ सालतिरको कुरा हो। काठमाडौँमा पत्रकारको रूपमा परिचित बनिसकेको थिएँ म। त्यतिबेलाको लोकप्रिय पत्रिका देशान्तर सप्ताहिकसँग आवद्ध थिएँ। आदरणीय राजेन्द्र दाहाल सम्पादक हुनुहुन्थ्यो।

बलिउडमा मनिषाको लोकप्रियता व्यापक थियो। त्यतिबेलाका नामि निर्देशक तथा कलाकारहरूसँग मनिषा काम गर्दै थिइन्। स्वर्गीय श्रीदेवी र माधुरी दिक्षितपछि उनलाई बलिउडको भावी ठूलो स्टारको रूपमा हेरिन थालेको थियो। पछि आफ्नै कारणले गर्दा मनिषाले जति सफलता पाउनु पर्ने हो त्यो पाउन सकिनन् । त्यो अर्को चर्चाको विषय हुन्छ। यद्यपि मनिषाले आफूलाई त्यहाँ गजबले स्थापित गराएकी थिइन।

बलिउडको ब्यस्त काम। एक प्रकारको लोकप्रियता र भीडभाडबाट निस्किएर उनलाई आरामपूर्वक समान्य जीवन जिउन मन पर्थ्यो। यसको लागि उनी सुटिङबाट फुर्सद निकालेर सुटुक्क नेपाल आउने गर्थिन। महाराजगन्ज नजिक आफ्नो घरमा परिवारसँग समय ब्यतित गरेर जान्थिन। यो खबर न बलिउडको मिडियालाई थाहा हुन्थ्यो न नेपालका कुनै मिडियालाई।

यसरी नै मनिषा एकदिन नेपाल आइन्। कहीँकतै कसैलाई खबर भएन। शुक्रबारको दिन थियो। आइतबार देशान्तर प्रकाशित हुने दिन थियो। काङ्ग्रेस नजिकको पत्रिका भएकोले समाचारको खोज गर्दा मेरा सम्पादक राजेन्द्र दाहाल दाइले बालुवाटार सुत्रबाट मनिषा नेपाल आएको थाहा पाउनुभयो। त्यो बेला मनिषाका कान्छा हजुरबुबा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो।

राजेन्द्र दाइले मलाई आफ्नो कक्षमा बोलाउनु भयो र भन्नुभयो, ‘यतिबेला मनिषा नेपालमा छिन्। जसरी हुन्छ अन्तरवार्ता गर्नुपर्यो।’

म सोचमग्न बनेँ । कसरी मनिषासम्म पुग्ने? राजेन्द्र दाइले सुझाउनु भयो, ‘तिम्रो सुशील कोइरालासंग राम्रो सम्बन्ध छ सम्पर्क गर न।’

म आफ्नो कार्यक्षमा आएँ र बालुवाटारमा सुशील कोइराला दाइलाई फोन गरेँ। उहाँले म शुष्मालाई फोन गर्छु र मलाई आधी घन्टामा फोन गर्नु भन्नुभयो। शुष्मा अर्थात् मनिषाको आमा शुष्मा कोइराला। मैले सोहीअनुसार आधी घन्टापछि फेरि सुशील कोइराला दाइलाई फोन गरेँ। उहाँले बल्लबल्ल मनाएको छु। शनिवार बिहान १२ बजे उनको निवासमा पुग्नु भन्नुभयो।

त्यसपछि मेरो भुइँमा खुट्टा रहेन। रहोस् पनि किन? बलिउड कि लोकप्रिय अनि आफूलाई पनि मनपर्ने मनिषाको अन्तर्वार्ता गर्दै थिएँ।

२०/२१ को अल्लारे उमेर, मनिषाजस्ती सुन्दरी मेरो ढुकढुकी तेज भइरहेको थियो। त्यो रात राम्ररी निदाउन पनि सकिनँ। बिहान उठेर नुहाइ धुवाइ गरेर राम्रो लुगा लगाएर म घरबाट निस्किएँ। झन्डै साढे एघार बजेतिर उनको निवासमा पुगेँ। मलाई बैठक कोठामा बसाइयो। बैठकबाटै भरेङमाथि जान्थ्यो र ढोका लगाइएको एउटा कोठा म स्पष्ट देख्न सक्थेँ। त्यतिबेलासम्म मनिषा उठेकी थिइनन्। काम गर्ने महिलाले मलाई चिया ल्याएर दिइन। म चिया पिउँदै माथितिर नजर लगाएर बसेँ।

लगभग १२ बजे माथि कोठाको ढोका खुल्यो। सेतो कुर्ता सुरुवालमा कपाल मिलाउँदै मनिषा बाहिर निस्किन्। बाहिर रहेको बेसिनको धारा खोलिन्। हातमा पानी थापेर तीन चारपटक आफ्नो चेहेरामा छ्यापिन र एउटा रुमाले मुखमा पानी पुछ्न हल्का स्पर्श गरिन्। बिहानीको बिना श्रृङ्गारको मनिषाको सौन्दर्य र ताजगी हेर्नलायक थियो। लाग्थ्यो दूधको कचौरामा चाँदनी नुहाउँदै छिन्। म नजर लुकाउँदै एक तमासले उनीतिर हेदै थिएँ।

लेखक नृपेश उप्रेती।

सोच्दै थिएँ, कोही मान्छे यति सुन्दर कसरी हुन्छ? त्यसपछि फेरि खुल्ला छोडिएको कपाल मिलाउँदै उनी भर्याङबाट तल झरिन् र मलाई देखिन् । अनि हिन्दी लवजको नेपालीमा मलाई भनिन्, ‘ओहो तपाईं आइसक्नु भएछ। म त सुतिरहेको थिएँ। यसरी सुत्न सधै कहाँ पाइन्छ र! बिहानै सुटिङमा पुग्नु पर्छ।’

मेरो नजर मनिषाबाट हट्न मानिरहेका थिएनन्। उनको सौन्दर्य हेरेर आँखा अघाएका थिएनन्। तर के भन्ने हो भन्ने डरले नजर अन्त घुमाएँ।उनी म नजिकैको सोफामा आएर बसिन्।

मैले भनेँ, ‘म तपाईंको ठूलो फ्यान पनि हुँ । अन्तरर्वार्ता औपचारिक भन्दा पनि अनौपचारिक कुराकानीको तवरले गरौं है ।’ उनी भैहाल्छ नि भन्दै मुस्कुराइन् ।

मैले उनको करियर, सहकर्मीहरू र नान पाटेकरसँगको लभ-अफेयरको बारेमा कुरा गरेँ। नेपालको राजनीति, हजुरबुवा बिपी कोइराला, कान्छो हजुरबुबा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबारे चर्चा भयो। उनकी हजुरआमा सुशीला कोइरालाको उनको उनको जीवनमा परेको प्रभावको बारेमा आफ्नो क्यारियर बनाउन आमाले खेलेको भूमिका लगायत राजनीतिमा उनको चाहना यावत कुरामा चर्चा भयो।

झण्डै ४५ मिनेट मनिषा हाँस्दै कपाल मिलाउँदै मसँग गफ गरिन्। उनी मेरो हिन्दी फिल्ममाथिको जानकारी सुनेर दङ्ग परिन्। यति धेरै कसलाई थाहा हुन्छ भन्दै मैले बलिउड पत्रकारिता गर्नु सक्नु हुन्छ भनेर मेरो पनि प्रशंसा गरिन्। समयको पाबन्दी थियो। तर मलाई मनिषासँग बसेर गफ गर्ने तिर्सना थोरै पनि मेटिएको थिएन। जति समय कुराकानी गरेर बिताएँ मेरो लागि अविस्मरणीय थियो। उनको सौन्दर्यलाई यसरी नजिकबाट नियाल्ने अवसर पाउँदा आफूलाई भाग्यमानी सम्झिएँ।

कार्यकक्षमा आएर उनीसँग भएको कुराकानीलाई कोड गर्दै फिचर लेखेँ। भोलिपल्ट देशान्तरको पहिला पानामा छापियो। मनिषाको अन्तर्वार्तासहितको उक्त लेखको काठमाडौंमा चर्चा भयो। ठूला मिडियाहरू उनको खोजीमा लागे।

तर त्यतिबेलासम्म मनिषा मुम्बइको लागि उडिसकेकी थिइन।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

नृपेश उप्रेती
नृपेश उप्रेती नेपालीन्युज युकेका प्रधान-सम्पादक हुन् । गीत, गजलसँगै अखबारी लेखनमा सक्रिय उप्रेती हाल बेलायतमा बस्दै आएका छन् । उनले यसअघि 'देशान्तर' साप्ताहिक, हिमालखबर तथा नेपाल टेलिभिजन लगायतमा काम गरेका छन् ।