
The world is Barrel Organ
God turns the Wheel
And we all dance to His Music
—Arthur Schopenhauer.
रातभर मन अदृश्य मस्तिष्कभित्र बेचैनीको आँधी–हुरी बनेर चलिरह्यो। आँखालाई निमेषभर पनि आराम मिलेन। बिहान करिब पौने पाँच बजेतिर जब निद्राले अलिकति शान्ति दिन खोज्दै थियो, छोरी केजिआको उही सुमधुर र चन्चल आलापले उठाइहाल्यो। उठ्न मन थिएन, तर उठ्नै पर्यो। छोरीसँग खेलेँ— कलर, कल, क…
हिजो राति मैले एउटा असाध्यै गहिरो सपना देखें। सपना के हो? सायद चेतन र अवचेतनबीचको द्वन्द्व। घटित–अघटित, देखिएको–नदेखिएको सबैको मिश्रण। उसो त म नित्य सपना देख्छु—आँखा बन्द गरेर मात्र होइन, आँखा खुलै राखेर पनि। केही सपना पूरा हुन्छन्, केही बिहानको हुस्सुझैँ बिलाउँछन्—हत्केलाको चेपबाट फुत्किएर।
हिजो मेरो आत्मिक रस्साकस्सी ‘लुसिफर’सँग भयो। त्यो बाइबल धर्मशास्त्र पुरानो करारमा वर्णित याकुब र रहस्यमय स्वर्गदूतबीचको कुस्तीभन्दा कम रोमाञ्चक र नाटकीय थिएन। याकुबले पनि एक रात स्वर्गदूतसँग कुस्ती खेले जसको नाम सोध्दा बताइएन। त्यसपछि याकुबको नाम इस्रायल राखियो—अर्थात् परम प्रभुसँग कुस्ती खेल्ने। आज त्यही नाम ब्रिटिस म्यान्डेटपछि संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यहूदीहरूको ऐतिहासिक राष्ट्र बनेको छ, जो ११ मई १९४९ अघिसम्म विश्वको कुनै नक्सामा थिएन।
तर मेरो कुस्ती स्वर्गदूतसँग होइन—लुसिफरसँग थियो।
बाइबलमा लुसिफरलाई अनेक अभिदा अर्थमा बुझ्न सकिन्छ। म स्वयं इसाई आस्था अभ्यास गर्ने भएकाले भन्छु— लुसिफर कुनै दुई सिङ भएको बोकाको टाउको होइन। बोका कामुकताको बिम्ब मात्र हो। धर्मशास्त्रमा लुसिफरलाई भ्रमको आत्मा, झूटको पिता, अन्धकारको राजकुमार, भौतिक जगतको शासक जस्ता प्रतीकात्मक नामहरूले चिनाइन्छ। यहाँ लुसिफर कुनै कालो चस्मा लगाएको व्यक्ति होइन न कुनै जाति वा अनुहार हो। यो त विशुद्ध राजनीतिक र वैचारिक प्रतीक मात्र हो।
दिनैपिच्छे सामाजिक सञ्जालमा फैलिने धार्मिक खलल, जातीय घृणा र सामाजिक विभाजन उक्साउने सामग्रीहरूले केवल भिडलाई प्रभावित मात्र गर्दैन, हाम्रो नैतिकता र विवेकको धरातल नै धरापमा पारिदिन्छ।
यो भयानक सपना देखिनुको पृष्ठभूमि पनि छ। म केही दिन यता फ्लुले थला परेको थिएँ। हिजो मात्र तँङग्रेको हुँ। पत्रकार निर्भीकजंगले हप्ता अघि दिनदेखि कि कविता कि निबन्ध मागिरहेका थिए। दिमागमा अक्षरहरूको चलचित्र चलिरहेको त थियो, तर शरीर चल्न मान्दैनथ्यो। उता देशमा भदौ २२–२३ पछिको जेन्जी विद्रोहले अनेक रहस्य खोल्दै नयाँ प्रश्नहरू जन्माइरहेका थिए। चुनावी माहोलमा छ मुलुक अहिले। तर कुनै पनि पार्टिको उहिले जस्तो घोषणापत्र एजेन्डा र विचारमाथि बहस भइरहेको छैन। छ त उही लोकप्रियतावादी स्टन्ट मिडियाबाजी भ्रम र पाखण्डको परकाष्टा मात्र। यी सबै प्रतिबिम्बित भइरहेका घटनाक्रममाथि निर्बाध केही लेख्न मन थियो।
राजनीति र साहित्य परस्पर सिक्काका दुई पाटा हुन्। तर आज त्यो सम्बन्ध विच्छिन्न भएको छ। कुनै समय सडकका कविताले सत्ता ढालेका थिए। आज त्यो समय कतै हराएको पो हो की? कवि, कलाकार, लेखक, बुद्धिजीवी र नागरिक अगुवाहरू कोही पनी हस्तक्षेपकारी भूमिकामा उभिएको देखिँदैनन्।
आज विचारभन्दा भावना र आवेग किन हाबी छन्? यो वैचारिक मेकानिजम बिगार्ने काम खराब राजनीतिको अभ्यासले नै निम्ताएको होईन र? त्यसैले नेताहरूलाई मात्र गाली गर्ने, ट्रोल, मिम र भाइरलको पछि कुद्ने जमात ब्यापक छ र त्यही नै राजनितीको अहिले परिभाषा बनेको छ। यस्तो विकृति चिर्न नेपाली साहित्य किन पछि पर्यो? यसको उत्तर सबैले आ–आफ्नो भागमा लिनुपर्छ।
राजनैतिक विश्लेषक सिके लालले भन्ने गरेको अ)सामाजिक सञ्जालमा म जुनसुकै नेताको पछाडि पनि भिड देख्छु। त्यो अतीयथार्थ हो कि अल्गोरिदमको उपज भन्न सकिन्न। नयाँ शक्ति र नयाँ अनुहारका पछि जति भिड छ, पुरानाका पछि पनि कम छैन। फरक यत्ति हो—नयाँहरू अनटेस्टेड छन्। अलिकति मात्र नैतिक धरातलबाट विचलित भए भने यिनीहरूको राजनीतिक भविष्य सकिन सक्छ।
यही पृष्ठभूमिमा म नेपालबाट अध्ययन र अवसरको खोजीमा आएका जेन्जी र जेन–वाईका भाइहरूसँग कुरा गर्दै थिएँ। उनीहरू काठमाडौंका पूर्व मेयर बालेन्द्र र धरानका पूर्व मेयर हर्कराजद्धयका कट्टर फ्यान रहेछन्। “अब बालेन प्रधानमन्त्री बन्छ”, “हर्कले देश हाँक्छ” उनीहरूमा कत्रो अटुट विश्वास कस्तो अभुतपुर्व समर्थन अनि मैले सोधेँ एजेन्डा के छ? विचार के छ? सिहँदरबार जलाएर देश हाँसेको कसरी कल्पना गर्न सकिन्छ? श्रमदान र श्रम संस्कृतिको नाममा भइरहेको कतै श्रमशोषण त होईन?
ओहो! उनीहरू यी प्रश्न सुन्नै चाहँदैनथे। उनीहरूका लागि बालेनले काठमाडौं सफा बनाएको छ भने अब देश पनि बनाउँछ र हर्कले धरानमा पानी ल्यायो भने देश पनि चलाउँछ भन्ने केवल अन्धो विस्वास थियो। तर एउटा नगर र सिंगो देशको राजनीति, अनि विश्व भू–राजनीतिको अन्तर बुझ्न उनीहरू असमर्थ थिए।
पुराना नेताहरूका त क्रमश पतनको शुरूवात भईसक्यो तर ति अझै कम्जोर र विस्थापित अवस्थामा पुगी सकेका छैनन। संसराको सबैभन्दा पुरानो शक्तीलाई सिध्याउन सबैभन्दा नयाँ शक्ती ( विचार) के छ नयाँ संग? यो भावअर्थ श्रवण दाईको कुनै एउटा कविताको अँश हो ठ्याक्कै कविता चै बिर्सिरहेछु। अँ सम्झे— यस्तो छ कविता ।
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
केछ त्यस्तो कुरा…?
पुराना नेता सबै चोर, दलाल, घुसखोरी, अवसरवादी, ज्यानमारा—यस्ता आरोप सहजै आइरहेका थिए। “१७ हजार मारेको” न्यारेटिभ नै उनीहरूको ज्ञानको सीमा भयो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता यी सबै उपलब्धि कागजमा मात्र रहेछन्। उनीहरूका लागि कुमार नगरकोटीले भनेझैँ यी कुरा नेताहरूका लागि मात्र आए। एउटा अध्यनसिल संवेदनशिल र कल्पशिल लेखकको त यस्तो विचार छ भने आम नागरिकबाट के अपेक्षा राख्ने?
विधमान शिर्ष नेताहरूका नाम सुन्नासाथ तथानाम गाली, हिंसाको जयजयकार—यो देख्दा म छक्क पर्छु। कति असभ्य असंवेदनशील र कति अस्थिर भईसकेछ हाम्रो समाज! यस्तो न्यारेटिभ मलजल गर्नेहरू नै खुलेआम भावी प्रधानमन्त्री घोषणा गरिरहेका छन् र भिड तिनकै पछाडि छ।

के तपाईंले कहिल्यै सोच्नुभयो—कसरी केही संवादहरूले पत्रकारिताको नैतिक सीमा नै तोड्छन्? कहिले सुरुवात कहाँबाट भयो थाहा पाउन सकिन्छ। नेताहरूलाई टुँडिखेलमा नाकको डाँडी भाँच्नेगरी हान्नुपर्छ भन्ने अभिव्यक्ति सम्झिनुस्। सरकारको नगर प्रमुखले “सिंहदरबार जलाउँछु” भन्ने अराजक घोषणा सम्झनुस् अनि विधिको पालन गर्नुपर्नेहरूबाटै मान्छे काट्छु मार्छु जस्ता हिंसा भड्काउने अभिव्यक्तिहरू सम्झनुस—यी सबै गैर जिम्मेवारीपुर्ण अभिव्यक्तिले हाम्रो चेतनामा कस्तो असर छोड्छन् विचार गरौ।
दिनैपिच्छे सामाजिक सञ्जालमा फैलिने धार्मिक खलल, जातीय घृणा र सामाजिक विभाजन उक्साउने सामग्रीहरूले केवल भिडलाई प्रभावित मात्र गर्दैन, हाम्रो नैतिकता र विवेकको धरातल नै धरापमा पारिदिन्छ। यस्तो दृश्य देख्दा–सुन्दा, म केवल दिक्क महसुस गर्दिनँ; म गहिरोसँग चिन्तित र भयभीत हुन्छु—किनभने यहाँ शक्ति र जिम्मेवारीको सन्तुलन भत्किसकेको छ र समाजको आधारभूत विवेक नै चुनौतीमा परेको छ।
हिजो ती भाइहरूको मिडियाले गरेको मगजधुलाई मैले प्रष्ट बुझें, तर बदल्न सकिनँ। यही छटपटीको परिणाम हो आजको प्रातकालिन अमुर्त सपना मैले संक्षेपमा यसरी राखे है त।
“मैले राजधानीलाई अन्धकारले निलेको देखें। नयाँ शक्तीहरूको शिरमा मुस्सोलिनी र खोमिनी नाचेको देखें, आँखामा घृणा र अँहकार बलेको देखें अनी मुखबाट रगत र अश्लिल अक्षरहरू छादेको देखें।”
एउटी सुन्दरी देखापर्छ—कामुकता लिएर, आह्वान गर्दै। म फस्न चाहन्नँ भाग्छु। आफ्नो विवेक र आत्म–नियन्त्रणको सीमा जाँच्छु। त्यसैले धर्मपत्नीको आग्रह र मेरो विवेकबीचको संवादले मलाई सपनाबाट ब्युँझाउँछ र म तुरुन्तै ती (अ)सामाजिक एपहरू डिलिट गर्छु— फेसबुक, इन्स्टा, मेसेन्जर, टिकटक, भाइबर।
यदि मेरो दाहिने हातले पाप गर्छ भने काटिदेउ
यदि मेरो आँखाले पाप देख्छ भने फुटाईदेउ
हो, मैले मुख्य स्रोतहरूलाई समाप्त गरेको छु।
म भागिरहेछु—भाग्दै–भाग्दै आर्मगेडनको छेउ पुग्छु। तर त्यहाँ कुनै भविष्यको ध्वंसात्मक युद्धभूमि भेट्दिनँ त्यहाँ म लुसिफरको अत्याधुनिक साम्राज्य देख्छु—चम्किलो, प्रविधिसम्पन्न र अत्यन्तै व्यवस्थित। त्यही क्षण म बुझ्छु, आर्मगेडन कुनै आउने दिनको अन्तिम युद्ध मात्र होइन आर्मगेडन त अहिलेको समय पनि रहेछ।
यो स्क्रिनभित्र बसिरहेको छ, जहाँ सत्य एल्गोरिदमले छानेर देखाइन्छ। यो भीडभित्र छ, जहाँ विवेक होइन आवेगले निर्णय गर्छ। यो गिदीभित्र छ, जहाँ प्रश्नहरू वर्जीत छन्। यो नाराभित्र छ, जहाँ अर्थभन्दा आवाज ठूलो छ। यो भाषणभित्र छ, जहाँ प्रेम होइन घृणाले ताली पाउँछ।

लुसिफर कुनै व्यक्तिगत पात्र होइन ऊ हाम्रो अन्तर्मनको प्रतीक हो। हाम्रो अन्धविश्वासको प्रक्षेपण, हाम्रो विवेकले अनदेखा गरेको चेतनाको क्षय र हाम्रो आत्म–अन्वेषणले अस्वीकृत गरेको प्रेरणा। ऊ त्यो शक्ति हो, जसले हामीलाई वास्तविकताको सामना नगरी सहजता र स्वीकारोक्ति तर्फ ढाल्छ जहाँ आवेगले निर्णयहरू अन्धाधुन्ध गर्छ, विश्वासले प्रश्न सोध्न छोड्छ, र चेतनाले आफ्नै सीमा चिन्ने अवसर गुमाउँछ।
यसरी लुसिफरले केवल हाम्रो कर्म र सोचको बाह्य रूप होइन, हाम्रो आन्तरिक सङ्घर्षको दृश्य अवतार प्रस्तुत गर्छ—जहाँ प्रत्येक आवेग, प्रत्येक भय र प्रत्येक अन्धविश्वासले हाम्रो स्वतन्त्रता र विवेकलाई आफ्नो बसमा कब्जा गरेको हुन्छ।
मेरो कुस्ती स्वर्गदूतसँग होइन—लुसिफरसँग हो ।
जब विचारभन्दा भाइरल कनटेन्ट सत्य मानिन्छ, जब प्रश्न उठाउनु अपराध ठहरिन्छ, प्रतिरोधलाई अराजकता भनिन्छ, र प्रतिवादमाथी हस्तक्षेप गरिन्छ। त्यहीँबाट अन्धकारको शासन सुरु हुन्छ। त्यो अन्धकार जो चेतनाको क्रमिक मुल्यक्षय र पराजय हो।
त्यसैले मेरो संघर्ष कुनै व्यक्तिसँग होइन—न कुनै नेता, न कुनै कर्मचारी, न कुनै अभियन्ता, न कुनै कलाकार, न कुनै अनुहार। यो कुनै जाति, धर्म वा सम्प्रदायविरुद्धको युद्ध पनि होइन। यो त भ्रमलाई सत्य बनाउने शक्ति विरुद्धको संघर्ष हो, झूटलाई सर्वश्रेष्ठ ठान्ने चेतनाविहीन व्यवस्थाविरुद्ध प्रतिरोध हो र त्यो अन्धकारमय राज्यविरुद्धको विद्रोह हो, जसले हामीलाई प्रश्न गर्न छोड्न, शङ्का गर्न डराउन र अन्ततः आफ्नै विवेकसँग हार स्वीकार गर्न सिकाइरहेको छ।
यो युद्ध बाहिरी शत्रुसँग होइन—यो चेतनाको युद्ध हो। जहाँ जित्नु भनेको शत्रुलाई पराजित गर्नु होइन, बरु सत्यप्रतिको उत्तरदायि हुनु हो र आफुलाई आफैसंग पुनःस्थापित गर्नु हो।
“For our struggle is not against flesh and blood, but against the rulers, against the authorities, against the powers of this dark world and against the spiritual forces of evil in the heavenly realms.”
—— Ephesians 6:12 (NIV)
लेखक सुनुवारको ‘ल्यान्डस्केफमा झुण्डिएको मौनता’ कवितासङ्ग्रह प्रकाशित छ ।



