नेपाल विशेष

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

336views

दुई दशकअघि अर्थात् ०६२/६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दलहरू नै अहिले सत्ताको भागदौड सम्हालिरहेका छन् भने कोही दल प्रतिपक्षमा छन् । कुनै बेला लोकतन्त्रका लागि संघर्ष गरेका मुख्य दल नै अहिले विभिन्न बहानामा पटकपटक विवादको घेराउमा छन् । यसको मुख्य कारण राजनीति र लोकतन्त्र सहअस्तित्वमा रहनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक तथा आइआइडिएस सेन्टर फर गोभरनेन्सकी निर्देशक डा. सुचेता प्याकुरेल बताउँछिन् ।

‘लोकतन्त्रले सबै समान हुन् भन्छ भने राजनीति यसको उदयको कालदेखि नै पदक्रममा आधारित रहेको छ’, उनले भनेकी छन्, ‘विश्वका धेरै देशमा राजनीति र लोकतन्त्रलाई सँगै लैजाने काम चुनौतीपूर्ण रहँदै आएको छ भने नेपाल जस्तो पितृसत्ता र जातिय व्यवस्था रहेको देशमा यसको अभ्यास अझै कठिन हुने गरेको छ ।’

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन ‘कति लोकतान्त्रिक दलहरु ?’ नामक सत्रमा बोल्दै सुचेताले सो कुरा बताएकी हुन् । पत्रकार कमलदेव भट्टराईले सहजीकरण गरेको सत्रमा नेपाली राजनीतिक पार्टीमा आन्तरिक लोकतन्त्रका पाटा, अधिवेशनका तथा नेतृत्व चयन र समोशीताका विषयमा छलफल भएको थियो । जसमा नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा, नेकपा माओवादीका माधव सापकोटा र नेकपा एमालेका पदम गिरीले आफ्नो आफ्नो पार्टीमा लोकतन्त्रको सही अभ्यास भइरहेको भन्दै वकालत गरेका थिए ।

सत्रमा माओवादी नेता सापकोटाले संसारभरिका कम्युनिस्ट पार्टीले जनवादको नारा लगाउँदै आए पनि नेपालमा भने यसका विषयमा अझै बढी वहश तथा छलफल हुनुपर्ने आवश्यकता रहेको जनाए । ‘लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रीयताको कुरा गर्दा निरंकुशतातिर जाने डर सधैँ रहने गर्छ’, सापकोटाले भने ।

लोकतन्त्र भनेको सहभागिता, विचार तथा अभिव्यक्ति, मत तथा निर्णय गर्ने अधिकारसँग जोडिएको कांग्रेस नेता विश्वकर्माले बताए । आफ्नो पार्टी आन्तरिक लोकतन्त्रिक व्यवस्थाका हिसाबले नेपालको उदाहरणिय रहेको उनको दाबी थियो । ‘पार्टीमा कुनै पनि निर्णय एकलौटी हुनु हुँदैन भनेर हरेक विचारलाई समावेश गरी त्यसमा छलफल गर्ने गरेका छौं’, विश्वकर्माले भने, ‘त्यसरी केही छलफल महिनौँसम्म पनि चल्ने गरेका छन् ।’ स्थापनाकालदेखि नै आफूहरुले लोकतन्त्रको अभ्यास गर्दै आएको विश्वकर्माको दाबी थियो ।

त्यस्तै नेकपा एमाले पनि समावेशी तथा आन्तरिक लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र लोकतन्त्र आफूहरुको लागि साध्य रहेको नेता गिरीले बताए । ‘नेपाली समाजको विविधता नस्वीकारेसम्म अघि बढ्न सकिँदैन । हामीले लोकतान्त्रिक अभ्यासलाई खुला बहस बनाउँदै लगेका छौं’, उनले थपे, ‘यो आफ्नो अनुकूल हुँदा ठिक, प्रतिकूल हुँदा बेठिक हुने कुरा होइन यो ।’

साथै नेतृत्वले गर्दा विचार छायाँमा नपरोस् भनेर आफूहरुले २ फरक अधिवेशन गर्दै आएको पनि उनले जिकिर गरे । व्यवस्थाका हिसाबले नेपालमा लोकतन्त्र देखिए पनि अभ्यास र संस्कृति भने लोकतान्त्रिक नरहेको राजनीतिक विश्लेषक सुचेता प्याकुरेलले बताइन् । लोकतान्त्रिक संस्कृतिलाई आत्मसाथ गर्नमा चुक्नु नै अहिलेको सबैभन्दा ठूलो समस्या रहेकोमा नेता गिरीले पनि सहमति जनाए ।

तर, कांग्रेस नेता विश्वकर्माले भने आफ्नो पार्टीमा यो संस्कृति पनि सुरुदेखि नै रहेको दाबी गरे । ‘विपीको समयदेखि नै नेपाली कांग्रेसभित्रै फरक विचार राख्ने, त्यसलाई सहजै स्विकार गर्ने कल्चर छ’, उनले भने, ‘केही कमी कमजोरी अवश्य होलान् । घर भित्रको कुरा भित्रकै मान्छेलाई थाहा हुन्छ । लोकतन्त्रलाई निरन्तर बग्न दिने हो भने आफैं शुद्ध हुँदै जान्छ ।’

माओवादीमा पुष्पकमल दाहालको अपरिहार्यता सधैं बढ्दै जाने अवस्था कसरी बन्यो भन्ने जिज्ञासामा नेता सापकोटाले लोकतन्त्र अराजकता नभएर विचारहरुको स्वतन्त्रता रहेको साथै निश्चि चरणमा पुगेपछि माओवादीले प्रचण्डको विकल्प पाउने जिकिर गरे ।सबै नेता आफ्नो पार्टीमा लोकतन्त्रको उदाहरणिय अभ्यास भइरहेको कुरामा अडिग रहेपछि दर्शक दिर्घाबाट देशले निकास तथा विकास नपाउनुको कारण सोधिएको थियो । जसमा नेता गिरीले जनताको आर्थिक, सामाजिक विकासमा आफूहरु कहीं न कहीं चुकेको स्वीकारे ।

लोकतन्त्रिक अभ्यासका हिसाबले सबै पार्टी आफूहरु सही दिशामा रहेको दावी गरे पनि लिंग तथा जातका हिसाबले नेपाली राजनीतिक पार्टी समावेशी नरहेको प्याकुरेलले बताइन् । ‘पार्टीमा जे भए पनि हाउस हाम्रो हो । त्यहाँ पनि महिलाको सहभागिता न्यून छ । भएका महिलाहरु पनि अगाडि कहिल्यै देखिँदैनन्’, उनले भनिन्, ‘महिला छैन भन्ने चलन छ । तर योग्य महिला हुँदा हुँदै पनि नपाएको उदाहरण एकदमै धेरै छन् । त्यहाँ जहाँ उहाँहरु चुक्नुभएको हो ।’

अहिले सबै पार्टीले युवाहरुलाई विशेष स्थान दिएको र बाँकी रहेका समस्यालाई पनि कम गर्दै सहभागिता मुलक, लोकतान्त्रिक व्यवस्थाबाट पार्टीलाई निर्देश गर्नेमा सबै नेता सकारात्मक देखिएका थिए ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.