नेपाल विशेषविचार/ब्लग

पात्रहरूलाई एक्लै छाडेर परशु दाइ जानुभयो

मुकुल दाहाल

1.6kviews

परशु प्रधानले सिङ्गो जीवन कथाहरू बुनेर, कथाहरू उनेर बिताउनुभयो । नेपाली समाज र जीवनको अनेक आयामलाई अक्षरको क्यानभासमा कथ्यको शिल्पले सजीव कथाहरू भन्न सिपालु परशु दाइ अब भने आफैँ कथा बन्नुभयो । पाँच दशक कथा लेखीलेखी दाइले आफ्नो विरासत यात्रा तय गर्नुभयो ।

मेरा आँखामा आज पनि छोटो-छोटो कदको हँसमुख परशु दाइ कार्यक्रम सकिँदा-सकिँदै हातमा कुनै किताब च्यापी फटाफट हिँडेको स्मरण भइरहेछ । उसो त परशु दाइको एउटा आफ्नै लय हुन्थ्यो दैनिक जीवनको । बेलुका आठ बजेतिरै सुत्ने र बिहान दुइबजे उठेर लेख्न बस्ने । एक अनिवार्य अटुट लगन र साधना थियो त्यो ।

म बेलायत आउनुअघि उहाँको बिराटनगर घरमा भेट्न गएको थिएँ । उहाँले आफ्नो पछिल्लो प्रकाशित पुस्तक ‘कथा र रचना गर्भ’ रक्ष राईलाई हात पार्नु है भन्दै भन्नुभयो— ‘मुकुल बाबु, रक्ष राई पनि उतै लण्डन मै हो नि । मसँग उनको ठेगाना छ, त्यही ठेगानामा पठाइदिनु ल ।’

नेपाल हुँदा बेलायतको जुनसुकै ठाउँ होस् सबै लण्डन नै हुँदोरहेछ । म वेल्सको स्वान्सी आएको थिएँ, रक्षजीको बसाइ टाढै लण्डनतिर नै होला सोचेको तर उहाँ पनि वेल्समै हुनुहुँदो रहेछ । मैले पुस्तक पोस्ट गरी सानो पत्रसहित मेरो ठेगाना र इमेल लेखी पठाएँ । उहाँ त त्यहीँ अलि परको गाउँमा हुनुहुँदो रहेछ । परशु दाइको पुस्तकले रक्षजी र मेरो भेट गरायो । मित्रता गरायो ।

आदरणीय परशु दाइ र कृष्णभुषण बलको सहयात्राको सिलसिलामा उहाँको बिराटनगर बसाइका केही पलहरू मैले पनि महसुस गर्ने मौका पाएको थिएँ । वाणी प्रकाशनका साप्ताहिक र अन्य विशेष कार्यक्रमहरूमा सहभागी हुन हामी इटहरीबाट गइरहन्थ्यौँ । यी दुई साहित्य साधकहरूको सहकार्यले बिराटनगरको साहित्यिक माहौल ज्यादै सजीव भएको थियो २०५०−६० बीचमा।

त्यही ताका मैले उहाँको ‘लिटल बुद्ध इन टोकियो’ नामक अंग्रेजीमा अनुदित कथासंग्रहको अनुवाद सम्पादन गर्ने अवसर पाएको थिएँ । अत्यन्त जीवन्त पात्र भएका दशवटा कथाहरू अनुवाद गर्दा र कैयौँ उच्च शिल्पले बुनिएका कथाहरू पढिरहँदा मैले नेपाली सामाजिक जीवनका, भोक र गरिबीका, भ्रष्ट आचरण र लेनदेनका, यौन शोषणका अनेक पाटाहरू र उहाँको आफ्नै जीवनले छुँदै हिडेका किनाराहरू भेटेको छु ।

‘कथा र रचनागर्भ’ नामक पुस्तकमा उहाँले पाल्देन, गोरेकी आमा, सीता, रनबहादुर, माने र रत्नमाया जस्ता सधैँ जीवन्त रहने पात्रहरू कहाँ भेट्नु भयो र कथाको अङ्कुरण कसरी भयो भनी कथाहरू जत्तिकै रोमान्चक ढंगले रचनागर्भको खुलासा गर्नुभएको छ । परशु प्रधानको लेखनको शक्ति कथाहरूमा पात्र र घटनाहरूको संयोगले निर्माण हुने काब्यिक क्लाइमेक्सहरू हुन । दुईवटा कथाहरूका उदाहरण लिएर हेर्छु ।

पहिलो कथा ‘छिँडीभरिको आकाश’ । माने नामको पात्रमा रक्सीको लत यस्तो छ कि एक रूपैयाँ भेट्यो कि पिएर सकिहाल्छ । उसलाई घरको गरिबीसँग मतलब छैन । गोरे र उसकी आमालाई पेट भर्ने खानेकुरा कहिल्यै हुँदैन घरमा । एक बिहान गोरेको बाउ (माने) घर फर्किँदा गोरेकी आमा कतै गएकी हुन्छे । चुल्होमा केही पाकिरहेको हुन्छ । गोरे कुरेर बसिरहेको हुन्छ त्यो पाक्छ र खानलाई । गोरेकी आमाले उसलाई भनेर गएकी हुन्छे – यो आलु हो , पाकेपछि खानू । माने आइपुगेर निकाली हेर्छ भाँडोभित्रको बस्तु । त्यो आलु नभएर ढुङ्गा (लोहोरो) हुन्छ । उसकी आमाले गोरेलाई भोकको अत्यासबाट जोगाउन त्यो पाक्छ र खान पाइन्छको आशामा जीवित राखेकी हुन्छे ।

अर्को कथा हो ‘गाउँमा’ । एकजना सरकारी हाकिम एउटा दुरदराजको विकट पहाडी गाउँमा पुग्छन् जहाँ जीवनको आशाका कुनै विम्बहरू हुँदैनन । भीरको ढुङ्गे बाटो हिँड्नुपर्ने हुन्छ जसको दुवैतिर सिस्नोका झ्याङहरू हुन्छन । अलिबेरमा उसलाई थाहा हुन्छ यो गाउँका मान्छेहरूको खानेकुरा भनेकै त्यही सिस्नो हो रहेछ । उसले सिस्नो टिप्तै गरेकी एक महिलालाई भेट्छ । हाकिमले ती महिलाई सोध्छ − तपाईँहरूलाई यो गाउँमा पानी, बिजुली, बाटो, स्कुल के चाहिएको छ? उनी भन्छिन् – हामीलाई केही पनि चाहिएको छैन सर । हामीलाई त कहिलेकाँही भगवानले यही सिस्नो पनि दिँदैनन्– पातहरू सबै लाईले खाइदिन्छ र हामीले काँडामात्र खाएर बाँच्नु पर्छ । त्यसैले हामीलाई पानी बिजुली बाटो केही हैन लाइ मार्ने औषधी चाहिएको छ ।

भुइँ वरिपरिकै आधारभुत कुराहरूको अभावले चेपेपछि मानिसहरूसँग ठुला मागहरू पनि नहुने रहेछन जसरी त्यो गाउँका मानिसहरूको आवस्यकता मात्र लाइ मार्ने औषधी थियो । यस्तै गहिरो काव्यिक क्लाइमेक्स आन्तोन चेखवको शोक (grief) नामक कथामा छ जसमा कथाको टाँगावाल पात्र आफ्नो छोरो बितेको दुःख सुनाउन खोज्दा कसैले नसुनेपछि कथाको अन्तमा आफ्नै टाँगा तान्ने घोडालाई सुनाएर मन हल्का गर्छ ।

समाजका मर्महरूलाई, जीवनका शाश्वत पाटाहरूलाई चरित्रहरूको इन्द्रणी उभ्याउने र कथ्यको कलामा जीवन्त बनाउने शिल्पका धनी परशु दाइका यस्ता कैयौँ कथाहरू छन् जो नेपाली आख्यानको आयामलाई चौडा बनाइरहने सामर्थ्य राख्छन् । केही कथाहरूको नाम लिनुपर्दा ‘टेबलमाथिको टेलिग्राम’, ‘डल्ले खोला’, ‘गाउँमा’, ‘चेस्टा चेस्टा चेस्टा’, ‘मेलाबाट फर्कँदा’, ‘टोकियोमा सानो बुद्ध’, ‘छिडीभरीको आकाश’ जस्ता कथाहरूको नाम लिन सकिन्छ तर यसो गर्दा अन्य धेरै जीवन्त कथाहरू छुट्न जान्छन् ।

आफ्नो जागिरे जीवनमा काठमाडौँ बाहिरका जिल्लाहरूमा उहाँको लेखकीय चेतलाई ब्युँझाउने चरित्रहरू भेट्नुभयो र तिनीहरूलाई कथामा जीवन्तता दिनुभयो । खोटाङ जिल्लामा सिडिओ भएको बेला भेटेकी एउटी महिला कसरी कथाको पात्र भइन लेख्नुभएको छ । ती महिलालाई खोटाङको जेलमा भेट्नुभएको रहेछ । ती महिलाको सजाय सकिएर जेलबाट छुट्ने समय आइरहेको बेला जेलमै बाँकी जीवन बिताउन पाउँ भनी रोइरोइ बिन्ति गरेकी रहिछन् । अरू मान्छेहरू त जेलबाट निस्कन पाउँदा खुसी हुन्छन्, तिनी किन रोएकी रहिछन् भनी बुझ्दा उनले भनिछन्— मेरो जेल बाहिर आफ्नो कोही छैन, जाने ठाउँ कहीँ छैन त्यसैले म यहीँ बस्न पाऊँ । तिनै महिला उहाँको एउटा कथा ‘निश्चय अनिश्चय’की पात्र रहिछन् ।

यो संसार पात्रहरूको संसार हो । कवितामा त प्रकृतिका सबै रूपहरू पात्र बन्न सक्छन− रूख, पानी, फूल, पात, आकाश, घाम, जुन तर फिक्सनमा प्राय समाजकै मान्छे पात्र हुन्छ । कतिपय पात्रहरू लेखकको प्रतिक्षामा हुँदाहुन् । ती पात्रहरू चिन्न कुनै लेखक सन्निकट हुनुपर्छ, कुनै लेखकीय चेत आमने-सामने हुनुपर्छ । परशु दाइले ती पात्रहरू भेट्नुमात्र भएन, चिन्नुभयो, आत्मसात गर्नुभयो, तिनीहरूसँग बाँच्नुभयो र तिनीहरूलाई बचाउनु भयो ।

ती पात्रहरू यहीँ छन्, उस्तै छन्, उत्तिकै वाचाल छन् । तर २०८० साल चैत्र ५ मा भने उहाँले आफ्नो जीवनको अन्तिम घाम देख्नु भयो। तिनीहरूलाई यतै छोडेर उहाँ अनन्तको यात्रामा निस्कनु भयो । परशु दाइप्रति गहिरो श्रद्धा सुमन !

(स्कटल्यान्ड निवासी लेखक मुकुल दाहाल प्राध्यापन, अनुवाद एवं लेखनमा सक्रिय छन्)

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.