
१. एक मेटाफिजिकल सम्भोग
आऊ हामी सम्भोग गरौं
ॐ-को ध्वनीमा
राखेर आत्मालाई निर्वस्त्र
र जन्म दिऊँ परम शुन्यतालाई
शरीरको भोकको तृप्ती त
हामीले कयौंपटक गर्यौँ
आऊ अब अन्तिमपटक
आत्माको कामुकतालाई
नजिकबाट छोएर
अनन्तको यात्रा सुरु गरौँ।
२. एक अलौकिक घटना
एकाबिहानै आज
केही अलौकिक घटना घट्यो मसँग
जस्तो कि—
म पुगेँ ऐनाछेउ
र गरेँ आफूले आफ्नै प्रतिबिम्बलाई चुम्बन
यस्तो घटना मसँग बिरलै हुन्छ
जो आज भयो
कति दिन
कति महिना
कति वर्ष खर्चिएपछि मात्रै
म त्यो अवस्थामा पुग्छु/पुगेँ।
जहाँ मैले नजिकबाट आफूले आफैलाई
नजिकबाट हेर्न पाउँछु
भेट्न पाउँछु
छुन पाउँछु
ए!
आउँदा त म मैमात्रै भएर आएथेँ।
सुरु सुरुमा लाग्थ्यो:
मैले मलाई भरपुर हेर्नेछु
मैले मलाई भरपुर भेट्नेछु
मैले मलाई भरपुर छुनेछ।
तर त्यसो भएन।
म बाडिएँ
केही हिस्सा घरको
केही हिस्सा बा-आमाको
केही हिस्सा आफन्तको
केही हिस्सा परको
केही हिस्सा साथीको
केही हिस्सा प्रेमीको
केही हिस्सा रोगको
केही हिस्सा मनोरोगको
केही हिस्सा भोकको
केही हिस्सा भोगको
केही हिस्सा सोखको
केही हिस्सा शोकको
केही हिस्सा किताबको
केही हिस्सा कामको
केही हिस्सा पैसाको
बीचमा कयौंपटक सोधेको हुँ आफूले आफैंलाई:
आउँदा एकथोक भएर आएको तँ अहिले कति थोक भइस्?
के तँ अझै थाकेको छैनस्?
प्रश्न खुद थाक्थ्यो तर म !
आजमात्रै सोचेको हुँ
अब म आफूलाई योभन्दा बढी बाँड्न सक्दिनँ।
आफूसँग थाकेको हुँ
या दुनियाँदारीले थकाएको हो
या आफूलाई आफ्नै याद आउन थालेको हो
म जान्दिनँ
तर आज मैले प्रण गरेँ म योभन्दा धेरै थाक्दिनँ।
अब पथ/पदयात्री बन्नु छैन
अब सायदै कसैले मलाई देख्ला
त्यो बन्धनको बाटो अब म सायदै हिडुँला
अब अन्तरमनको बाटो हिँड्नु छ
अब अन्तरयात्री बन्नु छ।
अब मलाई कतै सर्वव्यापी हुनु छैन
अब आफू आफैसँग भेटिनु मन छ
आज एकाबिहान जे भयो मसँग
अब म चाहन्छु:
हरेक दिन घटोस् त्यो अलौकिक/दिव्य घटना मसँग
अब आफूलाई आफैं याद आउनेवाला जो छु
अब साच्चिकै मैले यहाँका धेरै/धेरथोक बिर्सिनेवाला छु।
के भन्ला दुनियाँले:
पागल?
पापी?
स्वार्थी?
जिम्मेवारीबाट पन्छिएको?
जंगली?
मलाई मन्जुर छ सबथोक
बस् अब म योभन्दा ज्यादा थाक्न सक्दिनँ।
बस् अब म योभन्दा ज्यादा आफू आफैंबाट पर भाग्न सक्दिनँ।
बस् अब म योभन्दा ज्यादा आफूले आफैंलाई बाड्न सक्दिनँ।
सायद तिमी पनि…

३. एक प्रश्न आफ्नै अस्तित्वमाथि
जब म आमाको गर्भमा थिएँ
त्यहाँ म योगी थिएँ
त्यहाँ मैले सबैभन्दा बढी
ध्यान खाएर बाँचेको थिएँ।
जब मैले माटो टेकेँ
उनीहरूले मलाई चामलको प्राण खान सिकाइदिए
र मलाई एकाएक भोगी बनाइदिए।
नाम दिएँ
थर दिएँ
घर दिएँ
र मलाई बन्धनमा पारिदिए।
यतिले नपुगेर एक साँझ उनीहरूले मलाई जबरजस्ती
‘तँ-मान्छे-होस्’ घोषणा गरिदिए।
जुन मलाई कहिल्यै हुनु नै थिएन।
कति आनन्द हुन्छ:
एकछिन भएनि आफ्नो नाम बताउनु नपर्दा
एकछिन भएनि आफ्नो थर बताउनु नपर्दा
एकछिन भएनि आफ्नो घर बताउनु नपर्दा
साँच्चिकै!
कति आनन्द हुन्छ:
एकछिन भएनि मान्छे बन्नु नपर्दा।
यसैले त जहिल्यै मलाई
असली नाम
असली थर
अनि असली घर
नभएकाहरू सबसे नजिकका आफ्ना(आफन्त) लागे।
जस्तो कि:
त्यो जून
त्यो फूल
त्यो आसमान
त्यो परेवा
त्यो पुतली
त्यो कुकुर
त्यो रुख..
सायद मान्छे बाहेक सबैसबै…
साथी !
मान्छे कम र त्योबाहेक अरू
ज्यादा भएर बाँच्ने
यात्रामा निस्किएको छु
यसैले तिमी मेरो अस्तित्व नखोज
म पनि तिम्रो अस्तित्व सायदै स्विकार्ने छु।
काठमाडौं निवासी जेन पूजा एलेनोरका कविता र कवितात्मक शैलीका लेखहरू सामाजिक सञ्जालमा निकै रुचाइन्छन्। उनलाईzenpooza@gmail.com सम्पर्क गर्न सकिनेछ ।



