
बेतमासले निरन्तर झरी परिरहेको छ । थामिने कुनै सङ्केत छैन । झ्यालका सिसामा ठोक्किन आएका पानीका थोपाहरूले मेरो निधारमा स्पर्श गर्छ । त्यही स्पर्शको आनन्दमा डुबेर सोफामा पल्टिरहेकी छु । चुरोट तान्नुको मजा बेग्लै छ । धुवाँले रंगमगिँदै छ कोठा । दुनियाँ यतिबेला सपनाको लोकमा संसार छिचोल्दै होला तर मेरो आँखामा नीद छैन ।
कयौं रात भयो अँध्यारोसँगै साउती मार्दै बसेको । एक्लोपनले खान थालेको हो कि डरले, थाहा छैन । तैपनि जिउने प्रयासमा छु । मेरो संसार भन्नु नै यही एकान्त हो । केही किताब, डायरी, कलम र चुरोट बस् यति हो ।
एस्ट्रेमा चुरोटका ठुटाहरूले पहाड बनेको छ । औंलाहरूको बीचमा च्यापिएर बाँच्न विवश एक चुरोटको अन्तिम सर्को तान्छु र त्यसलाई मुक्त गरिदिन्छु । मोबाइल तान्छु अनि मन्द आवाजमा बजाउँछु योगेश वैद्यको गीत :
आँखैमा रात गली शीतमा तारा डुबे
बाटैमा आँधी चली आशाका मुना उडे ।
पानीका बुँदले मेरा गालामा चुम्बन गरिरहेका हुन्छन् । अलौकिक आनन्दको अनुभूति हुन्छ । टाउको झ्यालमा अड्याएर एकछिन आँखा चिम्लिन्छु । पानीका छिटाहरूले गरेको स्पर्शको रोमान्चक गहिराइमा बेस्सरी डुबुल्किन पुग्छु ।
०००
त्यो दिन पनि आजजस्तै झरी परेको साँझ थियो । मानिसहरू बाटोमा ओहोरदोहोर गरिरहेका देखिन्थे । यस्तो मुसलधारे पानीमा पनि चहलपहल थियो । गाडीको भीड त्यस्तै थियो । साइरन बजाउँदै एम्बुलेन्सहरू मृत्यु पर्खिरहेका बिरामीभन्दा पनि धेरै हतारमा देखिन्थे । चाबहिल चोकदेखि नै एकोहोरो जाम थियो ।
एउटा पसलको छेउम उभिएर पठाओ बुक गर्न खोजिरहेकी थिएँ तर नेट राम्रोसँग चलेको थिएन । मलाई समयमै पुग्नु थियो मेरो गन्तब्यमा । पठाओ लोडिङ हुँदै फनफनफनी घुमिरहेको मात्र थियो । यतिकैमा एउटा निलो रंगको पल्सर बाइक मेरोअघि आएर रोकियो ।
-‘पठाओ खोज्नुभइको हो ?’
-‘हो’ भनेर जवाफ फर्काएँ ।
-‘कहाँसम्म जानु पर्ने हो ?’, हेलमेटको सिसा खोलेर मतिर हेर्दै उसले सोध्यो ।
‘पाटनढोका’ भन्ने जवाफ पाएपछि उसले मलाई बस्ने इसारा गर्यो । पहिलोपटक यसरी अन्जान मानिसको बाइकमा यात्रा गरिरहेको थिएँ । छाता ओढेरै म उसको पछाडि बस्न खोजेँ ।
‘छाता बन्द गरेर, रेनकोट ओढेर राम्रोसँग बस्नुस न’ भनेर उसले ओढेको पछाडिको आधा रेनकोट मिलाउन खोज्यो । म त्यसरी नै रेनकोट ओढेर बसेँ । धोबीखोलाको किनार हुँदै उसले बाइक हुँइकायो । पानीअघि भन्दा पछि झन दर्केको थियो । पुलमुनि धेरै मान्छेहरू ओत लागिरहेका थिए । तर उसले केही पर्बाह नगरी बाइक कुदाइरह्यो ।
मलाई यसरी अरूको रेनकोट ओढेर हिँड्न अप्ठ्यारो लागिरहेको थियो । तैपनि बाध्यताले ओढेकै थिएँ । यत्रो पानीमा पनि उसको तीब्र बाइक कुदाइले मलाई अनौठो लागिरहेको थियो । बेलाबेला यसरी ब्रेक लगायो कि म उसको तातो शरीरसँग टाँस्सिन पुगेकी हुन्थेँ । पठाओ भनेर चढी त हालेँ तर पठाओजस्तो लागिरहेको थिएन । यद्यपि ऊ कोट र प्यान्टमा ठाँटिएको देखेर म आफैँ चकित परेकी थिए । केही भन्ने आँट गर्न सकेको थिइनँ ।
कालो पुल नपुग्दै बेस्सरी बिजुली चम्कियो । उसलाई च्याप्प समाउन पुगेँ ।
-‘के भयो ? डर लाग्यो ?’ सानो आवाजमा उसले सोध्यो ।
पानीले केही सुन्न दिएको थिएन । आकाश नै फाटेजसरी बेस्सरी चट्याङ परिरहेको थियो । हावाहुरी सहितको ठूलो मुसलधारे पानी परिरहेको थियो । तैपनि उसले बाइक रोक्ने कुनै कोसिस गरेको थिएन । त्यत्रो पानीमा पनि तुफानजस्तै दौडाइरहेको थियो । मेरा आँखा पानीले चुटेर हेर्न नमिल्ने भैसकेका थिए । पानीले भिजाएर पुरै निथुर्क्कै बनाइसकेको थियो । त्यति ठूलो पानीलाई रेनकोटले के छेक्न सक्थ्यो र ?
अति भएपछि मैले भनेँ- ‘एकछिन रोकौँ न । आँखै हेर्न सकिनँ ।’
ऊ नसुने हस्तो गरेर चलिरहेको थियो । खोलाजस्तै पानीको भेलले बाटो भरी भरिइसकेको थियो । चिसोले लुगलुग काँप्न थालिसकेको थिएँ । उसले नसुने जस्तै गरि, बोल्दै नबोली आफ्नै गतिमा कुदाइरहेको थियो । मेरो मनमा कताकता चिसो पस्यो। डर पनि लाग्न थालेको थियो । मनमा अनेक कुरा खेलिरहेका थिए ।
सेतो पुलतिर पुगेपछि बाटो भरिभराउ भइसकेको थियो । आकाश नै घोप्टे जसरी परिरहेको थियो । ऊ पनि निथ्रुक्कै भिजेको थियो मजस्तै । अलि अगाडि पुगेपछि एउटा चिया पसल देखेपछि उसले बाइक रोक्यो । उसका हात चिसोले चल्न छोडिसकेका थिए । पुरै नित्रुक्क भिजेको थियो । उसको अनुहार पनि राम्रोसँग देखेकी थिइनँ चढ्नेबेला । मास्क खोलेपछि मुस्कुराउँदै मलाई हेरेर बोलेको थियो ।
‘कति ठुलो पानी परेको है ? यत्रो पानी परेको त अहिले सम्म देखेकै थिइन मैले त’ बर्षौँअघि देखिको चिरपरिचित दोस्ती भएको झैँ उसले बोल्यो, चिया पिएर जाउँला आउनुस् ।’
हामीजस्तै पानीले भिजेर छिरेका चिया पिउँदै गरेका अरू मान्छे पनि थिए । बिजुली गएर पसल लगभग अँध्यारो थियो । पछाडिको कुनामा गएर हामी बस्यौ । चिया अर्डर गरेपछि उसले कोट फुकालेर निचोर्न थालेको थियो । भित्रको सेतो सर्ट उसको जिउमा पुरै टाँसिएको थियो । सर्टको केही टाँक खोलेर उसले रूमालले जिउको पानी पुछ्यो । मलाई उसको शरीर देखेर कताकता अप्ठ्यारो लागिरहेको थियो । झमक्क साँझ परिसकेको थियो । फोन पनि अफ भैसकेको थियो । चिया पिउँदै गर्दा उसले मेरो बारेमा सोधेको थियो । मलाई वास्तविकता भन्न अप्ठ्यारो लागेर पेट दुखेको बहाना बनाएकी थिएँ ।
चियासँगै उसले चुरोट मगायो । भन्यो ‘सरी है म त बेलाबेला चुरोट पिउँछु’
मैले केही लजाएजस्तो गरी भनेँ- ‘म पनि बेलाबेला लिन्छु ।’
-‘ओहो । मलाई केटीमान्टेले स्मोक गरेको असाध्यै मन पर्छ । राम्रो चिज त होइन तर मन पर्छ भन्न मात्र खोजेको’, उसले कुरालाई आकार दिँदै भन्यो ।
चिया र चुरोट सकेपछि हामी हिँडेका थियौँ । अब रेनकोट ओढ्नुको कुनै अर्थ थिएन । उसले पनि रेनकोट ह्यान्डलमा बेरेर राख्यो । पानी केही रोकिएजस्तो भएको थियो । तर थापाथली पुल आइपुग्दा फेरि पानी एकैचोटी दर्कियो । म उसको ढाडमा टाँसिएर पानीको धारबाट बच्न खोजिरहेको थिएँ ।
यसरी करिब एकघन्टामा पाटनढोका आइपुगियो । मैले पैसा निकालेर दिन खोज्दा उसले भन्यो- ‘म पठाओ चलाउँदिन । पैसा दिनु पर्दैन ।’
-‘अनि किन पठाओ भनेर सोध्नुभएको मलाई ?’
-‘तपाईंलाई निकै बेरदेखि मोबाइल चलाएर छटपटिरहेको देखेर मात्र सोधेको थिए । झरिमा साँझको बेला निकै बेर देखि म जाममा बसिरहेको थिए । मेरो पनि खासमा घर फर्किने समय थियो त्यसैले हो ।’
म केही सेकेन्डसम्म बोल्न सकिनँ । अन्त्यमा धन्यवाद भनेपछि ऊ आफ्नो बाटो लाग्यो ।
०००
भोलिपल्टदेखि सधैंको नियमित रूटिन अनुरूप दिन बित्दै गइरहेको थियो । अफिस सकिएर घर फर्किन गाडि कुरिरहेकी थिएँ । हावाको बेगझैं ऊ टुप्लुक्क आइपुगेको थियो । मेरोअगाडि आएर बाइक टक्क रोकेर ‘हाइ’ भनेको थियो ।
‘होइन ठिक छ म गाडीमै जान्छु । आज पानी परेको छैन’ मैले स्वभाविक जवाफ दिएँ ।
‘म जाने बाटो पनि त्यही त हो । बस्नुस् पुर्याइदिन्छु । भनेर उसले कर गर्न थालेपछि म उस्को बाइकमा बसेँ । यसरी नै चिया पिउने गफ गर्ने गर्दागर्दै दैनिकी जस्तो बन्न थालेको थियो हाम्रो संगत । एक-अर्काको बारेमा बिस्तारै सबैकुरा थाहा हुँदै गइरहेका थिए । बिस्तारै हामी नजिक हुँदै गैरहेका थियौँ ।

चिया-चुरोट पिउने बहानामा एक अर्काको मनका बह पोख्ने साथीजस्तै हुन थालेका थियौँ । तर उसलाई मैले आफ्नोबारे खासै केही भनेको थिइनँ ।
एकदिन उसले चियासंग चुरोट तान्दै मन भित्रका गुम्सिएर घाउ बनेका बिगतको कथा खोलेको थियो । कसरी उस्ले सानै उमेरमा प्रेम विवाह गरेर ल्याएकी श्रीमतीलाई एक्कासि गुमाउनु परेको थियो । विदेश गएर कमाएर बनाएको घर मिनेटमै गर्लम्म ढलेर उसको संसार शुन्य भएको थियो । त्यही घरसंगै ढलेका उस्का भविस्य, सपना, खुशी र कलिला छोराछोरीको जिन्दगीको कथा सुनाउँदा ऊ खुब भक्कानिएर रोएको थियो मेरोअगाडि ।
घाउको गहिराइ फरक भए पनि आँसुको रङ्ग एउटै हुँदो रहेछ । मलाई आफ्नै दु:ख ठूलो लाग्थ्यो सधैं । उस्को जीवनको दु:खद घटना सुनेदेखि मलाई दुख त लागेको थियो तर मेरो दुखमाथि केही राहत मिलेको जस्तो हुँदै थियो । केही महिना बितेपछि उस्ले अचानक मलाई आफ्नो बारेमा बताउन भनेर कर गरेको थियो । मैले उसलाई सधैं टार्ने गर्थें । तर त्यो दिन मैले उसलाई आफ्नो बारेमा नभनी सुख थिएन । खासमा आफ्नो दुखको कथा कसैलाई देखाउन, सुनाउन मन लाग्दैन्थ्यो । तर उसले नसुनाइ धर नदिएपछि सुनाउन कर लागेर सुनाएकी थिएँ ।
मेरो नाम शान्ति भन्ने उसलाई पहिल्यै थाहा थियो । पाटनढोका नजिकै भाडाको घरमा बस्छु । चाबहिलको एक अफिसमा काम गर्छु । लेख्न पढ्न मन पराउँछु भन्नेबाहेक अरू थाहा थिएन उसलाई ।
चियासँगै चुरोट पिउन मलाई उस्ले नै सिकाएको थियो । चुरोट तान्दै एक साँझ पाटनको छतको त्यो क्याफेमा मैले मेरो बिगतको घटना उसलाई सुनाएकी थिएँ । उसले खुब ध्यान दिएर मेरा आँखामा एक तमासले हेरिरहेको थियो ।
मेरो मागी बिवाह भएको थियो । गाउँकी लाटी सोझी केटी म यो एक्लै शहरमा राम्रोसँग हिंड्न र बोल्न पनि सक्दिनँथेँ । तर मेरा श्रीमान्ले मलाई धेरै माया गर्नुहुन्थ्यो । होस्टेल खोलेर बसेका थियौँ । सबै काम उहाँले आफै गर्नु हुन्थ्यो । मलाई केही काम पनि गर्न दिनु हुन्थेन । एक वर्षमै फूलजस्तै सुन्दर छोरी जन्मिएकी थिई । उहाँ धेरै नै खुशी हुनुन्थ्यो । छोरी पनि सारै राम्री थिई । यसरी छोरी हुर्काउँदा हुर्काउँदै समय कटेको पत्तो भएन । कति चाँडै छोरी पाँच कक्षामा पढ्ने भैसकेकी थिई । छोरी एकलकाटे, अन्तर्मुखी स्वभावकी हुन थालेको देखेर हामीले अर्को बच्चा जन्माउने कि भनेर प्लान गरेका थियौँ । अर्की पनि छोरी नै जन्मेकी थिई । खासमा मलाई छोरोको रहर थियो । सबैले छोरो नै जन्माउनु पर्छ, छोरो नै चाहिन्छ भनेर सल्लाह दिन्थे । तर हामीले भिडियो एक्स्रे नगरी जे भए पनि ठिक छ भनेर चुप लागेर बसेका थियौं । उहाँ दुईटा छोरी भए भनेर साह्रै खुसी हुनुहुन्थ्यो ।
म सुत्केरीपछि आराम गर्न माइती गएकी थिएँ । यहीबेला कोभिड महामहारी फैलिएको थियो । नेपालमा पनि फाट्टफुट्ट देखिन थालेको थियो । माइतिबाट दुई महिनामा नै फर्किन खोजेकी थिएँ । तर कोभिडको कारण फर्किन सक्ने अवस्था थिएन । संसारभर दैनिक लाखौं मानिसहरू मरिरहेका थिए । अवस्था साम्य होला भन्दा बिकराल हुँदै गैरहेको थियो । उहाँले हरेक दिन फोन गर्नु हुन्थ्यो । म पनि गरिरहन्थेँ । तिमी कहिले आउने भन्दै सोधिरहनुहुन्थ्यो । तर कोभिड सकिने कुनै सम्भावना नै थिएन । संसारभरि कोभिडले मानिसहरूलाई सोत्तर बनाइरहेको थियो । सानी छोरीको पास्नी पनि आउन लागेको थियो ।
एकदिन संसारसंगै उहाँलाई पनि कोविडले ढलायो । बाटो बन्द थियो । गाडी चल्दैनथे । जो जहाँ छ त्यहिं बस्नु पर्ने सरकारको आदेश थियो । कुनै बिकल्प थिएन । तर मैले फोन गरिरहन्थें । सम्झाइ रहन्थें । उहाँ धेरै नै आत्तिनुहुन्थ्यो । कसैले कसैलाई छुने, हेर्ने अवस्था थिएन । धेरै मानिस मरिरहेका खबर आउँथे छिन छिनमा । अस्पतालमा बेड पाउन नसकेर भुइँमा लडिरहेका दृश्य देखिन्थ्यो । औषधि उपचार चलिरहेको थियो । अस्पताल भर्ना हुनुहुन्थ्यो । उहाँकै भाइले उपचारमा कुनै कमी हुन दिनुभएको थिएन । ठिक पनि हुँदै थियो । भोलि पर्सीमा डिस्चार्ज गरिदिने कि भन्ने कुरा चलिरहेको थियो । एक्कासी खबर आयो । उहाँलाई बचाउन सकिएन ।
त्यो सुनेपछि मेरो होस गुम्यो । कति दिनपछि जब म होसमा आएँ मेरा आँखाबाट मुटु फुटेर बगिरहेका थियो । गलामा के अड्किएजस्तो भइरहेको थियो । म बोल्न सकिरहेकी थिइनँ ।
उसले मलाई अँगालो हाल्यो । म धेरैबेर घुँक्क घुँक्क गरी उसको अँगालोमा रोएँ । मेरो श्रीमानको मृत्यु भएदेखि पहिलोपटक म कसैको अँगालोमा यसरी रोएकी थिएँ । उसँग भेटेको पहिलो त्यो दिन जसरी आकाश रोएको थियो । जसरी बिजुली चम्किँदै आकाश गर्जेको थियो त्यसरी नै म उस्को अँगालोमा रोएकी थिएँ ।
किनकिन त्यो दिनदेखि ऊ मेरो आड भरोसाजस्तो लाग्न थालेको थियो । या मान्न थालेकी थिए मैले उसलाई सुखदुखको साथी । मेरो मनको पीडा पोखेदेखि ऊसँग अझ खुल्न थालेकी थिएँ म । मेरो लोग्ने पछिको मलाई माया गर्ने कोही छ जस्तो आभास हुन्थ्यो मलाई । उसको जीवनमा पनि त अरू कोही थिएन आखिर । मेरो जीवनमा पनि त्यस्तो कुनै साथी थिएन । छोरीहरूको ठूलो जिम्मेवारी थियो ममा । त्यो फरक कुरा हो । त्यो पनि एउटा छोरी होस्टेल र अर्की आमाले हेरेर गर्दा धेरै सजिलो भएको थियो । मैले यहाँ काम गर्न सकेकी थिएँ । खासमा सहरबजार तिरका केटिहरूको बिहे गर्ने उमेरसरहकै उमेर थियो मेरो । मेरो मनमा यस्ता तर्कना धेरै आउने गर्थे । धेरै कुरा खेल्ने गर्थे ।
श्रीमानको मृत्यु भएपछि होस्टेल बन्द भएको थियो । समयले मलाई यसरी पछारेको थियो कि एक्लै बानेश्वर चोक जान नसक्ने अहिले काठमाडौका गल्ली गल्ली छिचोल्ने समयले बनाएको थियो ।
०००
कहानी सुनाएपछि हाम्रो भेट दुईपटक भयो । त्यसबेला पनि मैले आफ्नोबारे थप कुरा भनेँ । उसले मेरो कुरा सुनीमात्र राख्यो तर कुनै प्रतिक्रिया जनाउन खोजेको थिएन । त्यसपछि म चुप लागेकी थिएँ । ऊ जुरूक्क उठेर हिँड्न खोजेको थियो । चिया र चुरोटको पैसा मैले तिरेर उसको बाइकमा बसेकी थिएँ ।
पाटन पुगेपछि झर्नेबेला उसको अनुहार मलीन देखिन्थ्यो । के भो भनेर मैले सोधेंकि थिएँ । केही नभए जसरी ऊ बाइक घुमाएर चुपचाप हिँडेको थियो ।
अचम्म मान्दै म आफ्नो बाटो लागेकी थिए । त्यस रात निकै छट्पटीमा बितेको थियो । भोलिपल्ट उसको बाटो हेरेर धेरैबेर कुरेकी थिएँ तर ऊ आएन । कयौंपटक फोन गरेकी पनि थिएँ तर सम्पर्क हुन सकेन भनिरहेको थियो । उसको बाटो हेर्दा हेर्दा कयौं दिन बितेका थिए । रात बितेका थिए । महिना बितेका थिए । तर ऊ आएन ।
सोच्दासोच्दै थाहा छैन कुन बेला आँखा लागेछन् । कुन बेला निदाएछु । एक्कासि ढोका ढकढकको तिखो आवाजले बिउँझिन्छु ।
रिमा केसीको कवितासङ्ग्रह ‘यात्रामा अक्षर’ तथा अमृता प्रितमका छानिएका कविताहरूको अनुवाद पुस्तक पनि प्रकाशित छ । उनलाई aksharakapaailaa2018@gmail.com सम्पर्क गर्न सकिने छ ।



