साहित्य

सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक

446views

सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक भएको छ । धुम्बाराही स्थित अकमा होटलका आयोजित एक कार्यक्रममा स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।

प्रमुख अथितिका साथमा कार्यक्रमका सभापति डा. कृष्णचन्द्र साह, साहित्यकारद्वय राजेन्द्र विमल र डा.रामदयाल राकेश, कानूनविद् उमेशचन्द्र झा, वरिष्ठ पत्रकार तथा पुस्तकका समीक्षक कृष्णमुरारी भण्डारी, सम्पादक दिनेश पौडेल र लेखक झाबाट संयुक्त रूपमा कृतिको लोकार्पण भएको थियो । सोही कार्यक्रममा डीएल भण्डारीको ‘दी अनसिन पोएट अफ सिमरा– कवि सदानन्द झा’ पनि सार्वजनिक गरिएको थियो ।

प्रमुख अथिति स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताउनुभयो । उहाँले भन्नुभो, ‘म प्रायः यस्ता कार्यक्रमहरू जान्नँ । तर पुस्तक पल्टाएर हेरें – रामायण, महाभारत, दर्शन र नीतिका कुरा छन् । पुस्तक लिएर आईटी इन्जिनियर सुनीलजी बूढापाका र आफ्नो धर्म–संस्कृतिको कुरा गर्नुहुन्छ । मलाई सुनीलजीका कुरा र किताबको शक्तिले यो कार्यक्रममा लिएर आयो । हाम्रा धर्म, नीति, दर्शन, संस्कृति र माटोको सुगन्ध पुस्तकमा जताततै छ ।’

उहाँले विमोचित पुस्तकले हाम्रा धेरै कुराहरू आउँदो पुस्तामा हस्तान्तरण गरेको बताउनुभयो । साथै, पुस्तकमा प्रयोग गरिएको भाषा र त्यसको शुद्धताको पनि तारिफ गर्नुभयो । भन्नुभयो, ‘भाषा बाँचे हामी बाँच्छौं । यो किताबमा संस्कृत, नेपाली र मैथिली तीनवटै भाषा शुद्ध रूपमा आएका छन् । यो अनुकरणीय छ ।’

पुस्तकको समीक्षकको भूमिकामा रहनुभएको कृष्णमुरारी भण्डारीले मधेश, पहाड र हिमाललाई बुझ्न यो किताब पढ्न आवश्यक रहेको जिकिर गर्नुभयो । पुस्तकका सम्पादक दिनेश पौडेलले पुस्तकको सम्पादनका क्रममा धेरै मिहिनेत गरेको बताउनुभयो । सर्लाहीका गाउँ गाउँमा अहिले पनि लेखकका काका कवि सदानन्द झाका कविता मुखमुखमा रहेको बताउनुभयो ।

सर्लाहीका गाउँ गाउँ पुगेको स्मरण गर्दै उहाँले भन्नुभो, ‘यो किताब एक संघर्षको कथा हो, २० वर्षको उमेरमा पूर्ण रूपमा आँखाको दृष्टि गुमाएर कविकाकाले अन्तर्दृष्टिले देखाएको बाटोमा हिँडेर सफलता हासिल गर्ने सुनीलजीको कथा हो । यो दाजुभाइबीचको प्रेमको कथा पनि हो । हामीकहाँ धेरै भुसहरू छापिन्छन्, तर यो किताबमा तपाईंहरूले भुस पढ्नु पर्ने छैन ।’
पुस्तकका लेखक सुनील झाले सानै उमेरबाट काका (बडाबा) सदानन्द झाबाट ज्ञानगुनका कुराहरू सुन्नेगरेको स्मरण गर्नुभयो । भन्नुभयो, ‘मैले सानोमा त काकाले भनेका धेरै कुराहरू बुझिनँ, तर जब अमेरिका पुगें तब काकाले भनेका कुराहरूले मलाई पथप्रदर्शन गरे । जब सफलता प्राप्त गरें अनि काकाका विचार र कुराहरूलाई प्रकाशनमा ल्याउनुपर्छ भन्ने लाग्यो । देशमा हुँदाका पीडा, विदेशको पीर, काकाका कुरा तथा आफ्नै सफलताका कुरा समेटेर पुस्तक प्रकाशन आयो ।’

लेखक झाले प्रस्तुत पुस्तक आफ्नो माध्यम भएर प्रकाशनमा आएको काकाका विचार, नीतिकथा र ज्ञानको समष्टि रूप भएको समेत बताउनुभयो ।

साहित्यकार राजेन्द्र विमलले किताब पढ्दा एकैपटक धेरै विद्वान र सन्तहरूको सम्झना भएको बताउनुभयो । भन्नुभयो, ‘जहाँ हृदय झुक्दैन त्यहाँ शिर झुकाउन हुँदैन । तर यो कृति पढ्दा, कवि सदानन्दप्रति मेरो हृदय झुक्यो ।’

लेखक सुनीलकुमार झा सिस्को सर्टिफाइड नेटवर्किङ इन्जिनियर हुन् । उनी CCIE (Cisco Certified Internetwork Expert) प्रमाणपत्र हासिल गर्ने पहिलो नेपाली हुन् । यो विश्वका कठिनतम परीक्षाहरूमध्ये एक मानिन्छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.