नेपाल विशेष

थारूहरूको संघर्ष र संस्कृति झल्काउने ‘बुह्रान’

लेखप्रसाद प्याकुरेल

524views

साहित्य फुर्सदको गफगाफ पटक्कै होइन । यो समाज रूपान्तरणको आवश्यक कडी हो । पाठकको मनमा ‘स्वयं ब्रह्मान्द सहोदरम्’ को भाव जागृत गर्ने साहित्यले कल्याणकारी भूमिका पनि उत्तिकै निर्वाह गरेको हुन्छ । गहन प्रकृतिका असल साहित्यले यी र यस्तै किसिमका विशेषताहरू बहन गर्दैगर्दा केही कमसल साहित्यले पाठकको मनमा बस्नुको साटो साहित्य प्रति नै वितृष्णा पैदा गरिरहेका हुन्छन् । त्यस्ता साहित्य पढ्दा पाठकको समय अनावश्यक खेर गइरहेको हुन्छ ।

यसै सन्दर्भमा बाँकेको कोहलपुरमा रहेर साहित्यका क्षेत्रमा कलम चलाइरहेका महानन्द ढकालको ‘बुह्रान’ शीर्षकको उपन्यास कृतिको अध्ययनपश्चात् जन्मिएका प्रतिक्रियाहरू भने केही पृथक छन् ।

कृति पढ्दै गर्दा थारू संस्कार र संस्कृति जान्न चाहनेहरूका लागि यो पुस्तक महाआनन्दको प्रसाद बन्ने क्षमता राख्छ । कृतिभित्र परेको बाँके बर्दिया र स्याङजालगायत जिल्लाका कतिपय भूभागहरूको यथार्थपरक चित्रणले कृतिलाई जीवन्त बनाएको छ । कृति आधा दर्जनजति सशक्त पात्रहरूको मृत्युले कारूणिक बनेको त छ नै स्वयम् प्रमुख पात्रहरूले नै सोचे अनुकूलको परिणाम आउनुभन्दा सोचाइ प्रतिकूल हुने गरी देखिएका गतिविधिहरूले कृतिलाई विसङ्गतिवादी मान्यताको अनुकूल बनाएको छ ।

माइला, पार्वती र सोमलाल जस्ता पात्रहरू संघर्षको पर्याय बन्दा कथा मार्मिक बनेको छ साथसाथै पात्रहरूको जीवनको समग्रतालाई बुझ्न आतुर बनाउने घटना क्रमको विकासले कुतूहलताको पनि सिर्जना गरेको छ । कृतिभित्र परेका उल्लिखित विशेषताहरूलाई एकीकृत गरेको बुह्रान उपन्यासको कथावस्तु पश्चिम नेपालको मूलतः बर्दिया र आंशिक रूपमा बाँके जिल्लामा रहेका थारूहरूको संस्कार र संस्कृति उजागरका कोणबाट पनि चर्चनीय छ । उपन्यास थारू जातिमा प्रचलित विवाह, मृत्यु, चाडपर्व, खानपिन, रहनसहन, आदि संस्कार अध्ययन गर्न चाहने अध्यताहरूका लागि उपयोगी दस्तावेज सिद्ध भएकाले बुह्रान उपन्यासमा प्रस्तुत थारू समुदायको संस्कार र संस्कृतिलाई विश्लेषण गरिनु अत्यन्त वाञ्छनीय ठहर्छ ।

कुनैपनि भूगोलभित्र समेटिएका मानिसहरूको आचरण, चालचलन, रीतिरिवाज, रहनसहन, मूल्य मान्यता लगायतका विषयलाई प्रतिनिधित्व गर्ने आधार संस्कृति हो । यही संस्कृतिले भूगोल र भूगोलसंग जोडिएका मानिसहरूको यावत पक्षको चिनारी गराउने भएकाले पनि कुनै स्थान विशेष केन्द्रित संस्कृतिको अध्ययन गरिनु निकै महत्वपूर्ण ठहर्छ । नेपाली साहित्यका क्षेत्रमा केही साहित्यिक कृतिहरू यस्ता छन् जसले मनोरञ्जनलाई माध्यम बनाएर सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान त पुर्याउँछन् नै साथसाथै नेपालभित्र रहेका कुनै क्षेत्र विशेषको संस्कृतिलाई गहिरो ढंगले अध्ययन गर्न सहयोग पुर्याइरहेका हुन्छन् । यस्तै कृतिको सिङ्गो परिचय हो बुह्रान ।

पश्चिम नेपालको बाँकेमा रहेर २०५० को दशकदेखि साहित्य यात्रामा उदायका महानन्द ढकालको पहिलो औपन्यासिक कृति बुह्रान पश्चिम नेपाल अन्तर्गत बाँके र बर्दियामा रहेर अत्यन्त कष्टकर जीवनयापन गरिरहेका थारूहरूको कथा व्यथालाई समेटेर तयार पारिएको पठनीय कृति हो ।

बर्दिया अन्तर्गत पनि बद्रीपुर, रामपुर, दाङपुर, लक्ष्मणपुर, रानीपुर, ज्योतिपुर, हरेरी, बागर, मैरौली, हेकुली, बकोटी, बांका, खैरानी, रसपहल, लेटार, चेटार, बुट्टीपुर, बुटनिया, प्रसादुवा, धनौरा, माचर, जरैया, कलवारी, कुकुर गोरा, मगर्निक बिसैना जस्ता अधिकांश गाउँहरू थारूहरूको थातवास रहेको थलो हुन् ।

नेपाल कुनै नै कुनै मुद्दामा पटक पटक आन्दोलित भएको देश पनि हो । यहाँ कहिले मधेसको नाममा आन्दोलन छेडियो र मधेशी र पहाडीका बिचमा फुट सिर्जना गरियो । कहिले थारू र पाहाडी बिचको तनावले सिंगो देश नै आक्रान्त बन्यो । मान्छेलाई मान्छे भएरै बाँच्न निकै कम अवसर मिल्ने यो मुलुकमा जन्मदै कित्ताकाट हुन्छ अनि मरेर लास बनिसक्दा पनि कुनै झण्डा ओढाउने लालसामा पराधिन बनाएर बिदा गरिन्छ । यहाँ यस्तै हृदय विदारक प्रचलनले बढावा पाइरहँदा प्रस्तुत कृति जातीय समानता र सहकार्यको मर्मस्पर्शी कथा बनेर आएको छ ।

यहाँका माइला र पार्वती एउटै परिवार जस्तै लाग्छन् । सोमलालकी श्रीमती मर्दा पार्वतीका गलामा गाँस अड्किन्छ । सागरको लोभलाग्दो उपलब्धीले फुलमतिया र माइलालाई हर्षविभोर बनाएको छ । उपन्यासकार पार्वतीका छोराहरूलाई सोमलालकै समान ढिक्री, गंगटा, माछा खुवाएर होस् वा सोमलालको माध्यमद्वारा पाहाडी र थारूलाई वैवाहिक सूत्रमा बाँधी दिएर एकताको बिगुल फुक्न चुकेका छैनन् । यस किसिमको एकताको सन्देशले मनमा एकताको भावना सँगालेका जो कोही पाठकलाई पनि महाआनन्द आउनु स्वाभाविक हो ।

बहुजाति बहुभाषी र बहुसाँस्कृतिक व्यक्तित्वहरूको बसाइं रहेको नेपालमा थारू संस्कार र संस्कृतिको आफ्नै पहिचान छ । बाँके बर्दिया लगायतका जिल्लाहरूको आदिवासी मानिएका थारूहरूको अध्ययन अन्वेषण बिना बाँके बर्दियाको अध्ययन अन्वेषण पूरा गर्छु भन्नु असम्भवप्राय छ । मूलतः यिनै प्रसङ्गमा न्याय हुनेगरी महानन्दकृत बुह्रान उपन्यासमा थारू संस्कार र संस्कृतिलाई अत्यन्त गहन ढंगले प्रस्तुतीकरण गरिँदा कृति थारू संस्कार र संस्कृतिको अध्ययन गर्ने अध्येतालाई समेत महत्व राख्ने दस्तावेज बनेको छ ।

कृतिको आवरण पृष्ठमा नै कुनै एक महिलाको तस्बिरमा थारू जातिको पहिरन झल्काउने प्रयास भएको छ भने सोही महिलाले बोकेको ढकिया र ढकिया बोक्दा टाउको सहज र सुरक्षित तुल्याउन विणा सहितको दृष्यका कारण आवरण पृष्ठ थारू जातिको पहिचान केन्द्रित छ । कृतिभित्र शीर्षक, कथावस्तु, पात्र नामाकरण,पात्रले गरेका कार्य व्यापार, परिवेश र भाषाका तहमा यत्रतत्र थारू संस्कार र संस्कृति झल्कन्छ ।

जंगबहादुरको पालामा नेपालको भूगोलमा समाहित भएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नयाँ मुलुक भनिन्छ । यही नयाँ मुलुकलाई बसाइँ सरेर आउने थारूहरू बुह्रान भन्ने गर्थे । कथावस्तुअनुसार बुह्रान थारूहरूका लागि सपनाको संसार थियो । सुरूका दिनमा जङ्गल र काँडाले घेरिएको बुह्रानलाई यिनै थारूहरूले आफ्ना पौरखी हातहरूले सिंगार्दै लगे र बस्न लायक भूमिमा रूपान्तरण गरे । यसरी शीर्षकको तहमा नै थारूहरूको संघर्षको इतिहास झल्कने गरी उनीहरूले गरेको सम्बोधनलाई महत्व दिएर बुह्रान शीर्षक जुराइनुले उपन्यासकारले थारू जातिको भाषालाई महत्व दिएको प्रष्ट हुन्छ ।

बुह्रान औपन्यासिक कृतिको पहिलो पृष्ठको पहिलो शब्द नै पहाडी परेको छ जो थारू संस्कार र संस्कृतिमा हुर्किएको महत्वपूर्ण पात्र हो जसको सहयोगले उपन्यासमा प्रयुक्त कथावस्तुको आरम्भ सम्भव भएको छ भने कृतिभित्र अन्तिम पृष्ठको अन्तिम हरफमा परेको एकमात्र पात्र सोमलालले थारूहरूको प्रतिनिधित्व गर्छ ।

कृतिभित्र विभिन्न खण्डमा देखापरेका माइला, फुलमतिया, अतवारी, बुधरानी, भन्सर्या, बर्का, धम्लाहाने छोट्का जस्ता कथावस्तुको आरम्भ, विकास र उत्कर्ष खण्डमा महत्वपूर्ण योगदान पुर्याउने सबै पात्रहरू थारू समुदायका पात्र हुन् । यसरी कथाको सुरू गर्दा होस् वा अन्त्य गर्दा थारू समुदायका पात्रहरू देखापरेका छन् नै साथसाथै कथाका बिच खण्डमा समेत थारू समुदायका पात्रहरूको बाक्लो उपस्थिति गराई महत्वपूर्ण भूमिका प्रदान गर्नुले उपन्यासकारले पात्रका तहमा थारू समुदायलाई महत्व दिएको विषय स्पष्ट हुन्छ ।

उपन्यासमा प्रस्तुत कथावस्तु थारू समुदायको बाक्लो बसोबास रहेको बर्दिया र सानो अंशमा बाँके जिल्लाको सेरोफेरोमा केन्द्रित छ । बर्दिया अन्तर्गत पनि बद्रीपुर, रामपुर, दाङपुर, लक्ष्मणपुर, रानीपुर, ज्योतिपुर, हरेरी, बागर, मैरौली, हेकुली, बकोटी, बांका, खैरानी, रसपहल, लेटार, चेटार, बुट्टीपुर, बुटनिया, प्रसादुवा, धनौरा, माचर, जरैया, कलवारी, कुकुर गोरा, मगर्निक बिसैना जस्ता अधिकांश गाउँहरू थारूहरूको थातवास रहेको थलो हुन् । कथावस्तुमा यस्ता स्थानहरूको प्रयोगमा जोड दिइनुले परिवेशका तहमा पनि थारू समुदायलाई महत्व दिइएको छ ।

बुह्रान कृतिमा थारू समुदायको संस्कार संस्कृतिलाई झल्काउने सबैभन्दा सशक्त पक्ष भएर भाषा देखिएको छ । एउटा डिकोमा समेटिएका वर्ण वा वर्णसमूहबाट निर्मित भाषिक एकाइ नै शब्द हो । कृतिमा लरिया, छिरूवा, ढेच्वा, भठ्ठा, पच्गा, सढिया, बीउ वियार, टिखुर, पांचखुर, मसौरा, खटौली, डेसाउरे, दंगाहा, झौह्वा, ढर्ना, खेट्वा, ढ्यावर, बठिनिया यस्ता सयौं शब्दहरू परेका छन् जो थारू समुदायले मात्र प्रयोग गर्ने गर्छन् । यो क्रमले पदावली ,उपवाक्य,वाक्य हुंदै सिङ्गो अनुच्छेदका तहसम्म नै विस्तार पाएको छ । कृतिको कतिपय पृष्ठहरूमा भाषा अन्तर्गत रहेर सिंगो संवादका तहमा पनि थारू भाषाले स्थान पाएको छ ।

डाडु, मेडम किहिन् क्या कर घर बैठेना मजा हुई ?
‘हमार घर ट बैठैना जसिन् फे नि हो । बर्का गाउँमा मजा हुई साइट् ।’
‘क्याकर घर जाउँ ट ?’
‘बेलाहान्, जब्दाहान्, मुराहान्, छेग्राहान् ज्याकर घर गैलसे फे हुइ ।’
‘हँ हँ ठिक बा । तौलाहान व बर्घरान् घरप फे मजा बाटिन् काजुन् ?’

यी र यस्तै किसिमका संवादहरूका माध्यम द्वारा उपन्यासमा संवादका तहमा पनि थारू भाषालाई स्थान दिइएको छ । यसरी थारू समुदायले प्रयोग गरेको संवादलाई उपयोगमा ल्याउँदा कतिपय नेपाली मातृभाषी पाठकहरूलाई बुझाइमा कठिन हुने भएकाले थारू भाषा प्रयोग भएको स्थानमै पुनः त्यसको नेपाली अनुवाद समेत राखिएको छ । कृतिलाई थारू समुदाय केन्द्रित बनाउनका लागि कैयौं ठाउँमा थारू समुदायको चालचलनलाई पनि अत्यन्त सूक्ष्म तवरले प्रस्तुत गरिएको छ । उपन्यासमा थारूहरूको घर निर्माणको प्रसङ्ग, घरमा विभिन्न किसिमका बुट्टाहरू कुँद्ने प्रसङ्ग, माघी लगायतका पर्वहरूमा रमाउने, कमैया बस्ने, बुक्रही राख्ने, कम्लहरी बस्ने, छेग्रहवा बस्ने, कोही विरामी परे गुर्वाद्वारा झारफुक गरेर चित्त बुझाउने प्रसङ्गले थारू समुदायको रहनसहनलाई प्रकाश पारेको छ ।

कृतिभित्र थारूहरूको ढिक्री,जाड खान हुरूक्क हुने, माछा मार्न अनि सिद्राको चटनी, पक्ठा, गेङ्टा, घोंगी र मुसा खान मन पराउने स्वभावलाई पनि निकै सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ । कृतिभित्र थारूहरूलाई झझरा, मेठौरी र बुस्याला जस्ता परिकार मन पराउने, फुट्की र भेम्टी खोज्न जङ्गल पस्ने जातिका रूपमा चिनाइएको छ ।
कृतिमा वर्णन भएअनुसार थारूहरूको आफ्नै किसिमको विवाह संस्कार रहेको छ । थारूहरू घरायसी काम गर्न सहज होस् भन्ने उद्देश्यले विवाह गर्नका लागि वर भन्दा जेठी वधु खोज्ने गर्छन् र उनीहरूमा बिहेको कुरा पक्का भएपछि कसम खुवाइने रहेछ जसलाई उनीहरूको भाषामा डोन्या उठैना भनिन्छ ।

विवाहको खानपिनका सन्दर्भमा सखुवा र नेमह्ररीको पात टिपेर बनाएको दुनामा मासु, चटनी, अचार र कचेला, सुंगुरको मासु र आलुमा चुक मिसाएर चुक्यानी बनाएर खाने गरिन्छ । उनीहरूमा वैवाहिक कार्यक्रम अन्तर्गत नै रहेर चाउर पर्छ जैना अर्थात कुभिण्डो सहितका सामान कन्याको घर पठाइने चलन पनि यथावत छ । बिहे भोजमा सलाई कोरेर आगो बाल्नुको साटो काठका दुई टुक्रालाई एकआपसमा रगडेर घर्षणबाट निस्केको झिल्काले आगो सल्केपछि भोजका निम्ति तयार गरिने सामग्रीहरू पकाइने रोचक प्रसंगलाई पनि उपन्यासले प्रस्तुत गरेको छ ।

उपन्यासमा वर्णित थारू समुदायमा सर्पले टोकेका बिरामीहरूलाई आधुनिक उपचार गरिँदैन बरू अकबरे खुर्सानी भाँचेर टोक्न, जौ का दानाहरू टोकेर फुटाउन लगाएर सर्पको विषालु मात्रा पत्ता लगाइन्छ । उपचारका क्रममा गुर्वाहरूलाई नै सर्वैसर्वा मानेर विश्वास गरिन्छ अनि उनीहरूकै निर्देशनअनुसार कांसको थालमा दियो बाली बलेको दियो अगाडि छप्पन छुरी राखेपछि गुर्वाले मंत्र उच्चारण गर्न थाल्छन् । मन्त्र उच्चारण भएकै समयमा जम्मा भएका मध्ये केही व्यक्तिले क्रमशः सर्पले टोकेको ठाउँमा राखेको वेतको लामो लट्ठी समातेर चुस्दै विष निकाल्ने गरिन्छ । यसरी थारूहरूमा रहेको आफ्नै प्रकारको उपचार पद्धतिलाई पनि उपन्यासले प्रस्तुत गरेको छ ।

त्यसैगरी थारूहरूको मृत्युसंस्कार पद्धतिलाई पनि उपन्यासले उठाएको छ । उपन्यासमा वर्णन भएअनुसार मानिस मरिसकेपछि शवलाई देवता राखेको कोठामा उत्तर सिराने पारेर राखेपछि मृत शरीरमा तेल लगाउने काम सम्पन्न गरिन्छ । मृत शरीरको छातीमा चामल र चामल माथि खाने तेल सहितको दियो राखेर बालिन्छ । त्यसपछि शवलाई सोही दियो बोकेर सतगति गर्न लगिन्छ । थारूहरूले शवलाई जलाएर अन्त्यष्टि गर्छन् र यसरी जलाउने क्रममा महिलाको शव भए उत्तानो र पुरूषको शव भए घोप्टो पारेर जलाउँछन् ।

बुह्रान उपन्यासमा थारूहरूको संस्कार र संस्कृति झल्किने गरी थारू समुदायमा प्रचलित नाचगानलाई पनि प्रस्तुत गरिएको छ । यस सन्दर्भमा कृतिको पृष्ठ २६५/२६६ मा वर्णित सखिया नाचको सन्दर्भलाई यहाँ उल्लेख गरिनु सान्दर्भिक हुन्छ ।

सखिया नाच नाच्ने क्रममा जम्मा पारिएका गाउँभरिका मादलहरूलाई गुरू बाले पूजा गरेपछि मोह्रिन्या र पछगिन्या चुनिन्छ । त्यसपश्चात मादल र मन्जिरामा रक्सी चढाएर पूजा गरेपछि मात्र सखिया नाच सुरू हुन्छ । यसरी सुरू हुने सखिया नाचमा नचिनियाँहरू सेतो पहिरन लगाएर कम्मरमा मादल भिरी लहर बनाएर मादलको तालमा नाच्ने गर्छन् । यो नाच मादल र मान्जिरामा आकाश र पाताल फर्किएर नाचिन्छ । महाभारत र कृष्ण चरित्रमा आधारित गीतहरू बढी प्रयोगमा ल्याइने यस नाचमा गीत नसकिंदासम्म नाच सकिँदैन । यसरी निकै विधि पुर्याएर नाच्ने नाचका रूपमा सखिया नाचलाई चिनाइएको छ ।

नेपाली साहित्य अन्तर्गत उपन्यास विधामा रहेर थारू संस्कार र संस्कृतिलाई घनिभूत रूपमा परिचित तुल्याउने कृतिहरू अत्यन्त न्यून छन् । यही अभावको पूर्ति स्वरूप महानन्द ढकालद्वारा रचित औपन्यासिक कृति बुह्रान पाठकका हात हातमा पुगेको छ । उपन्यासकार ढकाल नेपाली मातृभाषी हुँदाहुँदै पनि थारू समुदायको संस्कार र संस्कृति केन्द्रित यस कृतिमा थारूका रहनसहन, चालचलन गतिविधि, भाषा र संवादको प्रस्तुतिमा कहीं कतै कमी हुन दिएका छैनन् ।


कृति पढ्दै गर्दा हरेक पाठकका आँखामा थारू जातिहरूका गरिबी, विवशता, संघर्ष, आन्दोलन र पिडा मडारिरहन्छन् । माइला र सोमलाल जस्ता थारू पात्रहरू प्रति पटकपटक सहानुभूतिका भावना उर्लिरहन्छन् । जल,जमिन र जंगललाई आश्रय बनाएर जीविकोपार्जन गर्ने थारू समुदायका कथा बोकेको बुह्रान आफ्नै कथा पढेजस्तै महसुस हुने भएकाले थारू समुदायका मानिसहरूक लागि पठनीय कृति बन्नु स्वभाविक हो तथापि गैर थारूहरूका लागि समेत जानकारीमुलक र उपयोगी सिद्ध भएको छ ।

यी र यस्तै विशेषताहरूका कारण नै बुह्रान पाठकलाई आरम्भदेखि अन्त्यसम्म कृतिमा अडिरहने परिवेश निर्माण गर्न सफल छ । हुन त सिङ्गो कृतिको चर्चा गर्दा थारू समुदायका पात्रहरूको मात्र चर्चा गरेर चित्त बुझाउनु पार्वती जस्ता पात्रहरूको कोणबाट न्यायसङ्गत किमार्थ हुंदैन । माइलाले जति मात्रामा कथाको नेतृत्व गरेका छन् त्यति नै मात्रामा पार्वतीले नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।

पाठकबाट जति मात्रामा साहनुभूति माइला र सोमलालले पाउछन् त्योभन्दा बढी सहानुभूति पार्वतीप्रति जान्छ । पाठकमा कारूणिकता सिर्जना गर्ने कोणबाट पनि पार्वती अब्बल पात्र मानिन्छिन् । उपन्यासमा पार्वतीले गरेको सहयोग अरू पात्रको तुलनामा अद्वितीय छ । यति हुँदाहुँदै पनि पार्वतीका कथा धेरै उपन्यासहरूमा परेका छन् तथापि माइला र सोमलालका कथा पढ्न बुह्रान र बुह्रान जस्तै कृतिहरू पर्खनुपर्ने हुन्छ, जसको मात्रा नेपाली उपन्यासको इतिहासमा अत्यन्त न्यून छ । यसर्थ माइला, पाहाडी र सोमलाल जस्ता थारूहरूको विशेषता बोकेको बुह्रान उपन्यास थारू भाषा, संस्कार र संस्कृतिको अध्ययन गर्ने अध्येताहरूको हकमा महत्वपूर्ण कोसेढुंगा साबित भएको छ ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.