साहित्य

सम्झनायोग्य कविताकृति : सम्झनाको चोमोलुङ्मा

देवेन्द्र खेरेस

337views

कुनै पुस्तक पढ्नुअघि लेखकीय (भूमिका) पढ्ने बानी छ । कतिपय कवि/ लेखकहरूको सृजनात्मक भावना बुझ्न यसले मद्दत गर्दछ । अझ भनौं, कविको साहित्यिक चिन्तन, विचार र सैद्धान्तिक दृष्टिकोणबारे प्रष्ट बुझेर पुस्तक अध्ययन गर्दा लेखनको गहिराइसम्म पुग्न सकिन्छ भन्ने मेरो निजी धारणा हो ।

कवि रोशन यक्सोको कृति सम्झनाको चोमोलुङ्मा (कवितासङ्ग्रह) पुस्तक प्रकाशित भएदेखि मनमा कौतूहल उत्पन्न हुन थालेको हो । कृति प्रकाशनअघि नै उनको धेरै फुटकर कविताहरू पढ्ने अवसर मिलेको थियो। तिनै कविताहरू सम्झेर गम खाएँ । तर पुस्तकको पाना पल्टाएजस्तो नहुँदो रहेछ । केहि अपुरो/अधुरो भएजस्तो महसुस भयो र कृति हातलाग्ना साथै पुस्तकको पानाहरू पल्टाउन हतार गरेँ। कृति प्रकाशनको सन्दर्भमा कविको संक्षिप्त भनाइ पढेर मन गदगद भयो । कविसँग साहित्य प्रतिको सोच र कविता लेखनको प्रभाव वाल्यकालबाटै सुरू भएको रहेछ ।

कवि रोशन यक्सोको कृति सम्झनाको चोमोलुङ्मा (कवितासङ्ग्रह) पाठकहरूको लागि सम्झनायोग्य कृति हो । चालिस थान कविता समेटिएको संग्रहभित्र स्वदेश तथा विदेशको जीवन भोगाइका अनुभूतिहरू समेटिएका छन् । कवितामा देश प्रेम, आफन्तको माया र राज्यको कमि कम्जोरीप्रतिको चिन्ता व्यक्त गरिएको छ । कवि स्वयं परदेशी जीवन बाँचिरहेको हुनाले देश छोड्नुको पीडा, देशको बिद्यमान विकृती, विसंगती र पहिचानको खोजी लगायतका विषयहरू कवितामा समेटिएको पाइन्छ ।
यस सङ्ग्रहको पहिलो कविता:

आमा रकः आफ्नालाई पर्खनेहरू

पर्खनु-
गाह्रो हुन्छ ।
निरन्तर कसैलाई पर्खनु- झन गाह्रो

आउने/नआउने केहि टुङ्गो बेगर पर्खनु- सबैभन्दा कठिन ।

आमा रक-
घाम-पानी-आँधी-हुरी केही नभनी
कठोर साधनारत तपस्वीझै

सदियौंदेखि आफ्नो प्रिय मान्छे पर्खिरहेछिन् ।

हङकङको उत्तर पश्चिम क्षेत्र शा तीनस्थित ऐतिहासिक मूर्ति ‘आमा रक’लाई बिम्व बनाएर गहन कविताको रचना गरिएको छ । समुद्रमा माछा मार्न गएको श्रीमानको पर्खाइमा बसेको श्रीमतीको मुर्ती (आमा रक) ले परिवार र आफन्तसँगको बिछोड र यसबाट उत्पन्न माया, त्याग र आशाको दरिलो भावहरू कवितामा व्यक्त गरिएको छ । कुनै पनि निश्चित वस्तु प्राप्तिको लागि जीवनलाई समर्पण गर्नु निकै कठिन कार्य हो भन्ने कविताको यथार्थ हो। कविता लेख्दै गर्दा कतै आफै परदेशमा भुल्ने त हैन ? कवि स्वंय आफु प्रति चिन्ता व्यक्त गरेका छन् । मानव समुदाय एक अर्का विचको मायाँ मोह र आरद-सम्मानले सम्बन्धलाई दिगो बनाउछ भन्ने कविताको आसय हुन सक्दछ ।
शहर:

यो सपनाको शहरमा
मेरो यात्रा-
कोठादेखि-कामसम्म
कामदेखि-कोठासम्म ।

शहर जति ठुलो भयो
सम्बन्ध त्यति नै साँघुरिदो रहेछ ।

उपरोक्त छ लाइनको ‘शहर’ कविताले सहरी जीवनलाई परिभाषित गर्ने जमर्को गरेको छ । सशक्त बिम्ब र भाव प्रकट हुने हो भने शव्दको भारी बोकेर मात्र कविताको उच्चाई माथि उक्लन सक्दैन । कविता औषधीको ट्याव्लेट जस्तै हो, निश्चित डोज पुरा भयो भने सव ठिक हुन्छ । सहरमा वसोवास गरेपछि धेरै शुख सुविधाहरू उपयोग गर्न सकिन्छ भन्ने मानसिक छाप परेको छ । तर सहरमा तत् तत् सुविधाहरू प्राप्त गर्नको लागि जीवनलाई बन्दक बनाइन्छ । किन की केहि पाउनको केहि गुमाउनु जस्तै हो । यति छोटो ‘शहर’ कविता मार्फत सहरी जीवनको राम्रो चित्रण गरिएको छ । सुबिधा सम्पन्न उत्पादनहरूले सेवा त दियो । तर सेवा प्राप्त गर्नका लागि मानिसहरू मेसिनजस्तो प्रयोग भइरहेका छन् । सीक्काको (पैषा) दुईपाटा भनेजस्तो सहरी जीवनको पनि राम्रा र नराम्रा पाटाहरू हुन्छ । छुट्याउने कार्य सजन पाठकहरूको हो । कवि लेखकले समस्याको पहिचान गर्ने हो, निर्देशन गर्ने होइन ।

नयाँ बाटोः

लाग्दै छ
छोडिएको बाटोलाई फेरि हिड्नुपर्ला ।

त्यो अतीतको बाटो-
जो धेरै सुखद थियो ।

………..

न छ आफू हुनुको आत्मबोध
न छ कुनै परिचय
यो दिक्क लाग्दो दैनिकी
वाक्वाकी लाग्ने शहर छाड्न
लाग्दैछ-
छोडिएको बाटोलाई फेरि हिड्नुपर्ला.. ।

विगत भनेको वर्तमानको इतिहास हो । विगतमा भए-गरेका राम्रा-नराम्रा कार्यहरूको सम्झना त हुने नै भयो । समय र परिस्थितिले धकेलेर टाढा पुगिसके पछि वितेको समय र स्थानहरूमा चाहेर पनि पुग्न सक्दैनौ । मात्र तनमनमा पलपल याद बनेर वसेको हुन्छ अतित। तिनै यादहरूको संगालो बनेको छ, ‘नयाँ बाटो’ कविता ।

कवि/समिक्षक देवेन्द्र खेरेस ।

यस कविताले वर्तमानलाई साची राखेर विगतको अनुभूती गर्न प्रेरणा प्रदान गर्दछ । जीवन भनेको केहि हो र केहि होइन पनि हो । यी दुबैको मिलन बिन्दुमा जीवनको सार भेटिन्छ । आखेरि हिसाव मिल्नलाई जोड र घटाउको आवश्यक पर्दछ । जीवनको पेरिफेरिमा समयलाई साँची राखेर अघि बढ्दा कहिले आशा र कहिले निरासालाई झेल्नु सिक्काको दुई पाटाजस्तै हो।

सम्झनाको चोमोलुङ्मा

मेरो थेबाले रोपेको
आजिबुङको फेदमा बिगतलाई सम्झदै छु-
मेरो पदचाप कुल्चेर जाने
काजी साप र मुखिया सापका घोडालाई सम्झन्छु-
जो दौडँथे जोडजोडले हिन्हिनाउदे
त्यही निरङ्कुश चिच्याहटमाझ हराएका थिए
मैले गाएका पालाम र हाक्पारे भाका
त्यतै कतै बिलिन भएका थिए
मेरा साकेलाका धून ।

सम्झन्छु-
तमसुक गर्दी हजार पछाडि
जाबो एउटा शून्य थप्दा
कसरी गएथ्यो विरमान दर्जीक घरबारी
किन र कसरी
जुठी दमिनी र बाटुली कमिनी मात्र
बारम्बार घोषित हुन्थे बोक्सी र डङ्किनी
सम्झनाको गर्तमा अझै ताजा छ ।
०००

आजकाल-
जब आद आउँछ नि आँधीजसरी बिगतको
म तिनै यादका थुङ्गा उनेर
यही बूढो आजिबुङको फेदमा
निर्माण गर्ने गर्छु सम्झनाको चोमोलुङ्मा ।

साहित्य समाजको दर्पण हो, भनिन्छ । अझ मार्ग निर्देशन पनि हो । समाजको सबैखाले चरित्रहरू लिखित हुने सौभाग्य साहित्य लेखनबाट नै हो । समाजमा भएका विविध विषयहरू बिम्ब, भाव र काव्यत्मक शैलीमा कविताको निर्माणले सामाजिक उत्तरदायित्व ग्रहण गर्दछ । ‘सम्झनाको चोमोलुङ्मा’ शीर्षक कविताले नेपाली समाजमा हुने गरेको असमान्ता, भेदभाव र थिचोमिचोको प्रतिबिम्बित गरेको छ । यि सबैखाले बिबेधहरूको अन्त्यको लागि यसरी सशक्त कलम चलाउन सक्नु कविको दुरदर्सीता हो । असली समाज रूपान्तरणको लागि कविता एक सशक्त माध्यम हो ।

कवि रोशन यक्शो एक कुसल र चिन्तनशील कवि त हुँदै हो, सामाजिक र राजनितीक चेत भएको व्यक्ति पनि हो । उनको काव्यिक लेखन यसैको समीश्रण हो ।

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.