
साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’का लागि पाँच वटा कवितासंग्रहको सूची सार्वजनिक भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा किताब प्रकाशन गरेका पाँच लेखक समावेश छन् ।
सूचीमा कवि देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको ‘आगोको पिदार’, गगन योक्पाङ्देनको ‘केवाफुङको गीत’, सुशीला खड्का ‘हसिना’को ‘पहिरोभित्रको घाम’ तथा प्रकाश रम्घालीको ‘साँझको सङ्गत’ रहेका छन् ।
साहित्यपोस्टलाई प्राप्त २८ काव्य कृतिहरूबाट एघार वटा कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै एघार कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छन् । साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन गीतकार एवं कवि उत्तम भौकाजीले गरेका हुन् ।



