
बेलायतको पिटरबरोमा नयाँ वर्ष २०८१ को अवसरमा भव्य नयाँ वर्ष साँझ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रस्तुति दिन नेपालबाट गायक आनन्द कार्की र मल्लिका कार्कीको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको विशेष सहभागीता रहेको थियो भने स्थानीय ‘पिटबरबरो सिटी काउन्सिल’का लिडर मोहमद फारुक विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै राजदूत आचार्यले आफ्नो परम्परा भेषभूषा, संगीत बचाउनुपर्ने बताए । ‘नेपालीको पहिचान अभिवृद्धि गर्न यस्ता कार्यक्रमले अत्यन्त भूमिका खेलेको छ । यसले समाजमा सद्भावसमेत बढाउँछ’, राजदूत आचार्यले भने ।
सोमबार साँझ पिटबरोमा रहेको ’20-20 World Buffet’ रेस्टुरेन्टमा भएको कार्यक्रममा पिटरबरोका स्थानीय नेपालीहरूले समेत नृत्य तथा गायन प्रस्तुत गरे । कार्यक्रम ‘पिटबरो नेपाली समाज’ तथा ‘गोर्खा नेपाली समाज युके’को संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।





