साहित्य

निर्भीकको कवितालाई त्यसरी सोच्दा

कृष्ण कञ्चन

485views

सुरुमै भन्दा, मलाई निर्भीकजंग रायमाझीको कवितासंग्रहको नाम धेरै मन पर्यो । यसमा कविलाई बधाई छ । मलाई जस्तै अरुलाई पनि यो नामले पक्कै लोभ्याएको होला ! यद्यपि म तीतो छु, तीतो नमिठो हुन्छ । मण्डला थिएटरमा सुनेका निर्भीक कविता र फेसबुकका राखिएका कविता नै धेरैजसो यो किताबमा आए । एक हिसाबले संकलन गरेर किताब निकाल्नु राम्रो कुरा हो ।

किताबको आवरण हेर्दा अमर न्यौपानेको ‘सेतो धरती’को फ्लेवर देखिने मलाई महसुस भयो । तपाईंलाई नहुन पनि सक्छ, त्यो तपाईंको कुरा हो । म राम्रोमा पनि नराम्रो खोज्ने मान्छे जो परेँ ।

कवि कविमात्रै नभएर पत्रकार पनि हुन् यसकारण चर्चित कविसँग भूमिका लेखाउन र प्रशंसा पाउन सफल भएकोमा हार्दिक बधाई । किताबको नामसँग जोडिएको मुख्य कविता नै कता-कता कमजोर लाग्छ । उनको पहिले प्रकाशित कवितासंग्रह ‘अनुहारको भीड’मा देखिएको कविताको केही भीड यो सङ्ग्रहमा पनि देख्न सकिन्छ । अर्थात् अनुहारको भीडमा राखिएका छ थान कविता यहाँ पनि राखिएका छन् ।

मलाई यस संग्रहबाट कविको मन परेका कविताहरू यी हुन् :

१. रूखमुनिको छाया
रूखमुनि
रुखकै मात्रै छाया नहुन सक्छ ।

२. खीर खाने दिन
कसले चलायो
साउन पन्ध्रमै खिर खाने दिन !

३. भान्साकोठामा बुद्ध
दरबार छोड्ने जुनेली रातमा
साँच्ची, राजकुमार सिद्धार्थले केही खाए/खाएनन् ?

यस्ता कवितासँगै केही कविता मन परेका छन्, मन पर्छन् । तर केही कविता भने केही कविबाट प्रभावित भएको देखिन्छ ।
मर्छु कि जस्तो लागेको दिन भन्ने कविता नवराज पराजुलीको यो कवितासँग नजिक पाउँछु :

म छु कि जस्तो लागेको दिन तिमीलाई सम्झिन्छु
मर्छु कि जस्तो लागेको दिन तिमीलाई सम्झिन्छु ।

समाजमा एउटै बिम्ब, प्रतिबिम्ब हुनु सामान्य पनि हो र हैन पनि । कहिले कसरी लेखियो भन्दा कसले कसरी लेख्यो भन्ने कुरा हो । तर कविका कविताका शिर्षक होस् या कविता कहीँ कतै ठोक्किएको महसुस हुन्छ । प्रभावित भएर नयाँ सिर्जना गर्नु त्यो झन् नयाँ कुरा हो ।

कविले यो संग्रहलाई पाँच खण्डमा बाँडेर विभिन्न शिर्षक र स्केचले कवितालाई सुन्दर बनाएका छन् । कवि निर्भीकजंग रायमाझीलाई हार्दिक बधाई । मलाई अन्तिममा रहेको ‘अन्तिम कविता’ नामक कविता मन परेको छ :

के हुनेछ होला मेरो अन्तिम कविता
सोचेर डर लाग्छ कताकता ।

समग्रमा कविले समाज, जीवन, प्रेम र राजनीतिलाई कलात्मक तरिकाले चित्रण गरेका छन् । निर्भीकलाई हार्दिक बधाई तथा शुभकामना !

विधा : कवितासंग्रह
प्रकाशक : कलम प्रकाशन, काठमाडौं
मूल्य : ३ सय ७५ रूपैयाँ

Oh hi there 👋 It’s nice to meet you.

Sign up to receive awesome content in your inbox, every month.

We don’t spam! Read our privacy policy for more info.

Leave a Response

Nepalinewsuk
Nepalinewsuk is the leading online news portal of Nepali community based in the United Kingdom.